कमाउधन्दामा भन्सारका महानिर्देशक

राजनीति समाचार

काठमाडौं । माओवादी कोटाबाट महानिर्देशक बनेका एक पछि अर्काे सहसचिवहरु विवादको घेरामा मुछिएका छन् । राजश्व अनुसन्धान विभागका हाकिम चक्र बूढाले विचौलिया नै राखेर कमाउ धन्दा चलाइरहँदा सोही पथलाई अबलम्बन गरेका छन्,भन्सार विभागका डिजीले । सरकार परिवर्तन हुने मुखमा उनले तीन जना अधिकृतहरुको नियमविपरित सरुवा गरेको भेटिएको हो ।

माओवादी सरकार ढल्ने र नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनमा सरकार बन्ने भए पछि भन्सार विभागका महानिर्देशक ढुण्डी निरौलाले हतार–हतार भन्सार अधिकृत सरुवा गरेका छन् । सात महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा सरुवा भएका अधिकृतहरुलाई रसुवा र बीरगञ्ज भन्सारमा सरुवा गरेसँगै ढुण्डी विवादमा मात्र तानिएका छैनन्,उनीसँग सचिवले स्पष्टीकरण नै सोधेको स्थिति छ । भन्सार विभागमा लामो समयदेखि बसिरहेका अधिकृतहरुले आफूहरुलाई कुनै जिम्मेवारी नदिई महानिर्देशक निरौलाले निरन्तर ठूला भन्सार कार्यालयहरुमा बसिरहेका कर्मचारीलाई जिम्मेवारी दिएको भन्दै अर्थ मन्त्रालयको प्रशासन महाशाखामा गुनासो पोखेपछि अस्तिमात्र राजस्व सचिव रामप्रसाद घिमिरेले महानिर्देशक निरौलासँग सोधपुछ गरेका हुन ।

सरुवा भएका अधिकृतहरुमा रसुवा भन्सारमा दुई जना र वीरगञ्ज भन्सारमा एक जना अधिकृतहरु छन् । साधरणतया कर्मचारीहरुको सरुवा भदौं र असोजमा हुँदै आएको छ । कर्मचारीहरु सरुवा र खटन पटन गर्ने पर्ने स्थिति आएको खण्डमा विभागीय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहमति लिनुपर्ने कानुनी व्यवस्था भए पनि भन्सारका हाकिमले ती अधिकृतहरुको खटन पटन गर्दा सामान्यको सहमति नलिएको भेटिएको हो । निरौलाले ६ महिना अघिमात्र भन्सार कार्यालयबाट विभागमा लक्ष्मण बास्तोला र हंस रावललाई रसुवा भन्सारमा काज सरुवा गरेका हुन् । रसुवा भन्सार चैत्रदेखि नै रिक्त थियो । एक अधिकृत अवकाश र दुई अधिकृत सरुवा भएसँगै रसुवा भन्सारमा दुइ अधिकृत पद रिक्त थियो ।

यस्तै तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका हुन । यसरी वेमौसमी सरुवा गर्दा अर्थ मन्त्रीका सचिवालयका कर्मचारीले मोटो रकम बुझेको भन्सारकै कर्मचारीहरुको आरोप छ । अर्थमन्त्री बर्षमान पुनको सचिवालयका कर्मचारीले जनही दश लाख बुझेर ती अधिकृतहरुको नियम र प्रक्रिया मिचेर सरुवा गरिएको बिषय मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हुँदै सचिवसम्म पुगेपछि सचिव घिमिरेले सहसचिव निरौलालाई नियमित सरुवा हुने महिना दिन अघि निरन्तर कार्यालय बसिरहेका अधिकृतको किन सरुवा भन्दै सोधेका थिए । निरौलाले गत चैत १४ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । अर्थमन्त्री वर्षमान पुनले शोभाकान्त पौडेललाई हटाउँदै निरौलालाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए । साउनमा अधिकृत र भदौमा उपसचिव सरुवाको सुची बनाईरहेका निरौलाले सत्ता गठबन्धन फेरिन सक्ने संकेत पाएपछि ३ जना अधिकृतको काज सरुवा गरेको अर्थ मन्त्रालयका अधिकारीको आरोप छ ।

महानिर्देशक निरौलाले ७ महिनाअघि २ वर्षे कार्यकाल पुरा गरेर तातोपानी भन्सारबाट सरुवा भएर विभाग आएका बास्तोला तथा ७ महिनाअघि नै बीरगञ्जबाट विभाग आएका रावललाई रसुवा पठाएका हुन् । यस्तै तातोपानी भन्सारबाट विभाग आएका अर्जुन कार्कीलाई बीरगञ्ज भन्सार कार्यालयमा सरुवा गरेका छन् । कार्की नायब शुब्बाबाट बढुवा हुँदै अधिकृत बनेका हुन् । नायब शुब्बामा निरन्तर ठूला कार्यालय बसेकाले नियमित सरुवा हुने १ महिनाअघि काज सरुवा गर्नु शंकास्पद भएको विभागका कर्मचारीहरु बताउँछन् । यस्तै ललितपुरको सीडिओ हुँदा राम्रो कार्यसम्पादन गर्न नसकेका रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणका नाममा बदनामी कमाएका निर्मल पूर्जालाई बचाउने हिसाबले काम गरेको भन्दै आलोचित छन् ।

उता यस अघि महानिर्देशक बनेका नवराज ढुङ्गनादेखि नारायण भट्टहरुको महानिर्देशक खाने सपना चकनाचुर भएको छ । सरकार फेरिएसँगै उनीहरु परराष्ट्र मन्त्रालयमा थन्काइनेमा परेका छन् । माओवादी भएर लाभ उठाएका रुद्रमान सिंह तमाङ्गदेखि बुद्धिसागर लामिछाने भ्रष्टाचार मुद्धामा परेर निलम्बित छन् । अब भ्रष्टाचार मुद्धामा अर्जुन भण्डारीहरु डामिए अनौठो नमाने हुन्छ भन्छन्,कर्मचारीहरु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *