अस्थिर गठबन्धनले मुलुक धरापमा

राजनीति समाचार

पछिल्लो समय छोटो अन्तरालको समयमा गठबन्धन टुट्ने र जुट्ने कारणले सरकारले स्थिरता पाउन सकेको छैन । सरकारको स्थिरता नहुँदा मुलुक पनि धरासायी बनेको छ । एमाले–कांग्रेस गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति २०८१ असार ३१ गते सपथ ग्रहण लिएका छन् । अस्थिर सरकार, भागवण्डा र स्वार्थको चपेटामा मुलुक र मुलुकको राजनीति परेको अस्थिर गठबन्धनले नै देखाउँछ ।

आफु र आफ्ना निकटका लागि जे फाइदा हुन्छ, त्यही गर्न तयार हुने राजनीतिक संस्कारका कारण मुलुक धरासायी बनिरहेको छ । पछिल्लो समय बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याएको अवस्थामा सरकार विपद् व्यवस्थापनमा भन्दा सरकार गठनमा लिप्त छ । यो प्रवृत्तिको अन्त हुन जरुरी छ । यस्तो खराब प्रवृत्तिले जनतालाई रुष्ट बनाउने र मुलुकलाई बर्बादीतर्फ धकेल्ने काम मात्रै गरेको छ ।

नेपालका ठूला राजनीतिक दलहरु आलोपालो सरकार चलाउन गठबन्धन गरेर भ्रष्टहरुलाई नै सत्ताको साँचो सुम्पिने गर्दछन् । अहिलेको सरकारको संरचना हेर्दा पनि उही पुराना भ्रष्टाचारमा मुछिएका र जोडिएकाहरु नै समावेश भएका छन् । चोरलाई सन्दुकको साँचो भनेजस्तै ठूला दलहरुले आफ्ना बचाउन र स्वार्थ पुर्ति गर्नका लागि भ्रष्टहरुलाई सरकारमा समेटेको छ । अर्काेतर्फ, विचारधारा फरक भएका मुलुकका ठूला दुई दलहरु सरकार बनाउनकै लागि भएपनि गठबन्धन गर्नुले अर्काे स्वार्थ छर्लंग पारेको छ । कम्युनिष्ट विचारधाराको एमालेले कांग्रेससँग गठबन्धन गर्नुले सिद्धान्त र विचारधारामा पनि फरक पार्दछ । तर नेपालको सन्दर्भमा लाज पचाएर जस्तो सुकै सहमति गर्न पनि पछि नपर्ने ठूला दलहरुको लोलुपताले मुलुकलाई नै भड्खालोमा पारेको छ । शक्तिको दुरुपयोग गर्ने र जनतालाई सास्ती दिनै यिनै आलोपालो सरकारबाट नै हुँदै आएको छ ।

अब यो गठबन्धनले जनतालाई सेवा दिने र समृद्धिको महसुस हुनेगरी काम गर्न जरुरी छ । विगतमा जस्तै सरकार गठन गर्ने, आफ्नो भागवण्डा मिलाउने र राज्यसत्ताको स्रोतलाई दोहन गर्ने काम बन्द गर्नुपर्दछ । विकराल आर्थिक समस्या, कक्षुवा गतिको विकास, उच्च श्रमशक्ति पलायन, कमजोर आन्तरिक उत्पादनजस्ता विषयमा विशेष महत्व दिनुपर्ने देखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *