यस्तो माओवादीका आडमा असुल्ने कर्मचारीको फेहरिस्त

राजनीति समाचार

काठमाडौं । पछिल्ला १८ बर्षमा १४ बर्ष त माओवादी सत्ताको चास्नीमा रमायो । जम्माजम्मी तीन बर्षमात्र प्रतिपक्षको कुर्सीमा बस्यो माओवादी । तिनै माओवादी नेताहरुले सत्ताको आडमा जति लाभ लिए सोभन्दा बढी लाभ असुले उक्त पार्टीको फेरो समातेका कर्मचारीहरूले ।

यस्ता कर्मचारीमा हरि रावलदेखि अम्बदत्त भट्टजस्ता तल्ला तहका कर्मचारीमात्र होइन कि नवराज ढुङ्गना,चक्रबहादुर बुढा, पुष्पराज शाही,कमलप्रसाद भट्टराई,रामप्रसाद आचार्य, झलकराम अधिकारी,नारायणप्रसाद भट्ट, ढुण्डीप्रसाद निरौला,अर्जुन भण्डारीदेखि अहिले बजेट महाशाखाका हाकिम बन्न आइपुगेका नरेन्द्र राना, शिवलाल तिवारी,जयनारायण आचार्य,नारायणप्रसाद भट्टराई, गोगनबहादुर हमाल, नेत्र सुवेदी,रितेशकुमार शाक्य, रुद्रसिंह तामाङ, वीरेन्द्रदेव भारती लगायतका तरमारा सहसचिवहरुको नाम अग्रपक्तिंमा आउँछ । तिनै तरमारा सहसचिवमध्ये एक हुन रुद्रप्रसाद पण्डित ।

अब दुई वर्षमात्र जागिर अवधि भएका रुद्रप्रसाद पण्डित अहिले पर्यटन विभागको महानिर्देशकको कुर्सीमा छन् । चक्रबहादुर बुढा राजस्व अनुसन्धानको महानिर्देशक बनेर गएपछि पण्डित उनको पदचाप पछ्याउँदै पर्यटन विभागको महानिर्देशक बन्न पुगेका हुन् । नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएका पण्डितलाई बालकुमारी घटनामा मान्छे मरेपछि कारबाहीस्वरूप ललितपुरको प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालय तानिएको थियो । माओवादी सत्ताका तरमारा सहसचिव भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारी पण्डितलाई उक्त घटनामा कुनै कारबाही नगरी उल्टै गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख बनाएर पुरस्कृत गरिएको थियो । गृह मन्त्रालयको नेतृत्वबाट नारायणकाजी हटेर रवि लामिछाने आएपछि पण्डित पर्यटन विभागको महानिर्देशकको कुर्सीमा छन् । यस अघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक, सहकारी विभागको रजिष्ट्रार जस्ता महत्वपूर्ण विभागमा बसेर काम गरेका पण्डित कुर्सीबाट हट्नुपर्ने भए पछि बदमासीपूर्ण काम गर्ने थालेको विभागकै कर्मचारीहरु बताउँछन ।

उनी त्यहाँ रहँदा कहिले यौनकाण्डदेखि अनेकन आरोपमा मुछिएका पर्वतारोही निर्मल पूर्जाको बचाऊमा लागेर विवादमा तानिएकै थिए । अहिले हरियो डलरको पछि लाग्दा फेरि विवादमा तानिएका हुन । यस अघि मिनो क्यासिनो सञ्चालनको अनुमति दिँदा ५० लाख असुलेको आरोप खेप्दै आएका पण्डितमाथि अहिले करोडौं रकममा डिल गरेर अनाधिकृत रुपमा क्यासिनो सञ्चालनको अनुमति दिन लागेको एकाथरीको आरोप छ । उनै पण्डितले त्यहाँ पुगेसँगै भैरहवामा सञ्चालित सिद्धार्थ भिलासा होटलमा मिनी क्यासिनो सञ्चालनको अनुमति दिंदा ५० लाख असुलेको आरोप लाग्दै आएको छ । अहिले विवादित गैरआवासीय नेपाली वुद्धिसागर सुवेदीको समूहले सञ्चालन गर्दै आएको रिसोर्टमा दुईवटा क्यासिनोलाई सञ्चालनको अनुमति दिन लागिपरेसँगै विवादमा तानिएका हुन । नियम अनुसार,एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालन गर्न पाइदैन ।

तर, नेपाली कांग्रेसका नेता बद्री पाण्डे संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेसँगै उनलाई गुमराहमा राखेर एउटै होटलमा दुईवटा क्यासिनो सञ्चालनको अनुमति दिलाउने काम अगाडि बढाएसगै सहसचिव पण्डित विवादमा मुछिएका हुन । पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले डेढ करोड भन्दा बढि रकम असुलेर नयाँ कम्पनीलाई क्यासिनो सञ्चालनका लागि अनुमति दिलाउन लागेको एकाथरीको आरोप छ । टाइगर प्यालेस रिसोर्टमा एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिले क्यासिनो सञ्चालन गर्दै आएको थियो । एचएसएल मेनेजमेन्ट सर्भिसेज प्रालिमा सिल्भल हेरिटेज प्रालिको ९० प्रतिशत र टाइगर काठमाडौं इन्भेष्टमेन्ट प्रालिको १० प्रतिशत शेयर रहेको छ । पर्यटन विभागका महानिर्देशक पण्डित अहिले रवि शर्मा धितालको कम्पनीलाई क्यासिनो सञ्चालनको अनुमतिका दिलाउन लागि परेका छन् । नयाँ सरकार गठनसँगै आफ्नो पद धरापमा पर्ने भएपछि उनले सुवेदी र धितालसँग असुलेको रकम पचाउन नयाँ कम्पनिलाई क्यासिनो सञ्चालनको अनुमति दिलाउन लागेका हुन् ।

उता दरबारमार्गमा अवस्थित क्यासिनो आफैंले बन्द गराएका उनी आफू कुर्सीबाट हट्नु अगाडि नै सञ्चालन अनुमति दिएर असुली धन्दामा अग्रसर भएका छन् । दुई महिना अगाडि उनै पण्डितले दरबारमार्ग स्थित होटल डेला बन्द गराएका थिए । अहिले सोही क्यासिनो सञ्चालन अनुमति दिन लागिपरेका छन् । यसरी माओवादी अहिले प्रतिपक्षको कुर्सीमा पुगेसँगै आन्तरिक राजश्व विभाग,राजश्व अनुसन्धान विभाग,भन्सार विभागदेखि सम्पत्ति शुद्धीकरणसम्म पुगेका तरमारा सहसचिवहरु कुर्सीबाट हट्नु अगाडि गैरकानुनी काम गरेरै भए पनि कमाउ धन्दामा लागेका छन् । उता कुनै समय निजामती भित्र सिंहको हैसियतमा रहेका नवराज ढुङ्गना अहिले लुत्ते स्याल बन्न पुगेका छन् । सदैव माओवादी मन्त्रीका वरिपरि घुमेर जागिर खाएका नवराज ढुङ्गना,अर्जुन भण्डारीहरुको विजोग यस्तो छ कि न त उनीहरुको हाजिर लगाउने ठाउँ छ,न त बस्ने कुर्सी नै । अहिले सिंहदरबारका क्यान्टिन क्यान्टिन चहार्दै हिडिरहेका भेटिन्छन् यी सहसचिवहरु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *