सरकार परिवर्तन नेपालको राजनीतिमा सामान्य बनिसकेको छ । छोटो अन्तरालमा सरकार परिवर्तन हुने प्रवृत्तिले नेपालमा राजनीतिक अस्थिरता कायम गरेको छ । मुलुकको समृद्धि र विकासको पहिलो बाधक भनेकै राजनीतिक अस्थिरता हो । विचार र सिद्धान्तलाई लत्याएर जुनै शक्तिसँग पनि गठबन्धन गरी सत्ताको स्वाद चाख्न तत्पर राजनीतिक दलका नेताहरुले नैतिकता र धरातललाई बिर्सिएका छन् । राजनीतिले निकास पाउन नसकेका कारण मुलुक आर्थिक तथा सामाजिक रूपले विरुप बन्दै गइरहेको छ । पछिल्लो समय मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेले गठबन्धन गरेर सरकारलाई स्थायित्व दिने भनिरहँदा विचार र सिद्धान्तको फरक यो गठबन्धनमा सत्ताको स्वार्थ बढी देखिन थालेको छ ।
जुनै शक्ति आएपनि मुलुकमा जनताले राहत महसुस गर्ने गरी कुनै परिवर्तन भएको देखिँदैन । जनयुद्ध गरेर नेपालमा परिवर्तनको लक्ष्य लिएर सरकारमा प्रवेश गरेको माओवादीले पनि पुरानै राजनीतिक दलहरू जस्तै बन्न पुग्यो । अझ भन्नुपर्दा माओवादी सरकारमा आएपछि अझ बढी भ्रष्टाचारका काण्ड र प्रकरण बाहिर आए । त्यस लगत्तै तराईका विभिन्न दलहरू सत्ताको स्वाद चाख्नको लागि आन्दोलन गरेर र जनतालाई दुःख दिएर सत्तामा आए तर तिनै जनताको लागि केही गरेनन् । केवल आफ्नो र आफ्ना निकटको स्वार्थ पूरा गर्ने र सरकारलाई व्यवसाय बनाएर आम्दानी गर्ने परिपाटीको विकास गरे । पछिल्लो समय सत्तामा आएको रास्वपाका सभापति आफैँ सहकारी काण्डमा मुछिन् पुगे ।
नेपालमा विकास निर्माणका नाममा एउटै आयोजनालाई वर्षौं लगाएर लुट्ने काम मात्र हुँदै आएको छ । दुई चार वर्षमा सकिने आयोजनाहरू दशौं वर्ष लम्ब्याउने र त्यसबाट फाइदा लिने काम भयो । यसमा राजनीतिक दल कर्मचारी र ठेकेदार र बिचौलियाको विचित्रको साठघाट हुन थाल्यो । भए गरेका सडकलाई पनि विस्तार गर्ने नाममा भत्काएर जनतालाई शास्ति दिने मात्र काम भयो । उपलब्धिमूलक वास्तविक विकास पछिल्ला दशकमा नै कुनै पनि सरकारले गर्न सकेनन् । दशकभन्दा अघिका आयोजनाहरू सम्पन्न भएकोलाई आफ्नो विकास भनेर जनतालाई ढाँट्ने काम मात्र यी राजनीतिक दलहरुले गर्दै आए ।