प्रत्यक वर्ष थपिँदै बेरुजुको चाङ्ग, राज्यका निकाय तैचुपमैचुप

राजनीति समाचार

काठमाडौं । महालेखा परीक्षकले नेपाल सरकारको स्वामित्वमा रहेका अधिकांश सरकारी कार्यालयहरुको बेरुजुको प्रतिवेदन तयार गरेर वर्षैपिच्छे संविधानको २४१ बमोजिम आर्थिक वर्षको लेखापरीक्षण गरी धारा २९४ उपधारा (१) बमोजिम वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपति कार्यालयमा पेश गर्ने गरेको छ । राष्ट्रपति कार्यालायलाई सो प्रतिवेदन पेश गरे तापनि बेरुजु भएका सरकारी कार्यालयदेखि संघसंस्थाहरुमा बेरुजु हुन नदिनका लागि न त राष्ट्रपति कार्यालयले नै पहल गरेको छ न त राजनीतिक दलका नेता र सम्बन्धित निकायले नै ध्यान दिएको छ । महालेखा परीक्षकको काम सरकारी कार्यालयको लेखापरीक्षण गरेर प्रतिवेदन बुझाउने मात्रै भएको छ । तर, जति प्रतिवेदन तयार गरेर बुझाए तापनि त्यसको कार्यान्वयन भएको छैन ।

महालेखा परीक्षकले २०८०÷८१ को बेरुजु यो वर्ष संघ, प्रदेश, स्थानीय तह र अन्य संस्थानहरुको गरी ७८ खर्ब ८१ अर्ब ६० करोडको लेखापरीक्षण गरेको छ । संघ, प्रदेश र स्थानीय तह गरी तिनवटै तहको लेखापरीक्षण गर्दा ९५ अर्ब ६० करोड बेरुजु देखाएको छ । त्यसमध्ये ३ हजार दुई सय ७७ संघीय सरकारी कार्यालयले २४ खर्ब ६१ अर्ब ११ करोड बेरुजु परीक्षण गर्दा ४६ अर्ब बेरुजु देखिएको छ । प्रदेश तहको १ हजार २ सय सत्तरी कार्यालयको परीक्षण गर्दा ३ खर्ब २३ अर्ब ३४ करोडको लेखापरीक्षण गर्दा ६ अर्ब ५७ करोड बेरुजु ठहराएको छ । त्यसैगरी स्थानीय तहमा यो वर्ष मात्रै ११ खर्ब ३९ अर्ब १९ करोडको लेखापरीक्षण गर्दा ३१ अर्ब २ करोड रुपैयाँ बेरुजु देखिन आएको छ । अन्य संघसंस्थाको गरी ९३ वटा संस्थाको ३९ खर्ब ५७ अर्ब ९६ करोडको लेखापरीक्षण गर्दा ११ अर्ब ४८ करोड बेरुजु देखाएको छ ।

गत वर्षको बेरुजु ५ खर्ब, ७८ अर्ब २४ करोड रहेकोमा यो वर्ष थप गरी जम्मा ६ खर्ब ६९ अर्ब ८६ करोड थपिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । वर्षैपिच्छे यसरी महालेखाले प्रतिवेदन पेश गरिरहने र बेरुजुको चाङ बढ्दै जाने गरेको छ । तर, राज्यका निकायले संघ, प्रदेश र स्थानीय तहमा हुने बेरुजुको बारेमा कुनै नीतिनियम बनाएर लागु गर्न सकेका छैनन् । राज्यका निकायले यस्ता बेरुजु हुने सहकारी क्षेत्रदेखि विभिन्न संघ, संस्थामा हुने बेरुजुको बारेमा नीति, ऐन, कानुन बनाएर बेरुजु कम गर्नको लागि वातावरण बनाएका छैनन् । राजनीतिक दलका नेताहरु सधैं सरकार गिराउने, बनाउने र आफू कसरी मन्त्री बन्ने भन्ने होडवाजी गरिराखेका छन् । विकास निर्माणको काम अलपत्र पर्नेदेखि बरुजुको चाङ बढ्दै गएको छ । यस्तै अवस्था भइरहने हो भने त्यो बेरुजुको चाङ कहा पुग्ने हो निश्चित छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *