आजको परिवेशमा पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक छ

अन्तरवार्ता राजनीति

टानका अध्यक्ष पदका उम्मेदुवार, राजेन्द्रप्रसाद सापकोटा
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)को निर्वाचन नजिकिएको छ । लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका सफल पर्यटन व्यवसायी राजेन्द्र प्रसाद सापकोटाले पनि सङ्गठनको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाले ठमेलमा पर्यटकीय होटल समेत संचालन गर्छन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य समेत रहिसकेका सापकोटा पर्यटन व्यवसायीमाझ शालीन भद्र र सफल व्यवसायीका रूपमा चिनिएका छन् । सापकोटाले काठमाडौंमा रहेर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् । सफल पर्यटन व्यवसायी एवम् टानको आगामी निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार सापकोटासँग उनको उम्मेदवारी, एजेन्डा, योजना, पर्वतीय पर्यटनका चुनौती र सम्भावना लगायत समसामयिक पर्यटकीय गतिविधिमा केन्द्रित रहेर तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश ः:

० टानको नयाँ नेतृत्वका लागि अध्यक्षमा तपाईको उम्मेद्वारी किन ?
टानले ब्यबसायिक नेतृत्वको खोजी गरिरहेकाले मेरो पर्यटन क्षेत्रको लामो अनुभवसँगै सबै ब्यबसायिलाई समेट्न सक्ने भएकाले समग्र ब्यबसायिको तर्फबाट मैले उम्मेद्वारी दिएको छु ।

० तपाईको उम्मेद्वारी घोषणा सँगै सार्वजनिक गरिएका प्रतिबद्धता पुरा गर्दा आउने चुनौती कसरी फेस गर्नुहुन्छ ?
राजनितीक परिस्थितीका कारण थुप्रै चुनौति छन् म बिभिन्न संघ संस्थामा बसेर काम गरेकाले आफु सक्षम रहेको छु । काम र बुझाईका हिसाबले आफु छिटो कुरा बुझ्ने भएकाले छिटो कार्यन्वयन गर्न र बुझाउन सक्छु । सबैको समर्थन भयो प्यानलले जित्यो भने कार्यान्वयन गर्न सकिन्छ आधा जित्ने आधा हार्ने भयो भने गाह्रो पर्छ । मेरो राज्य सम्यन्त्र सँग राम्रो सम्बन्ध भएकाले ब्यापारी र राज्यका निकायसँग मिलेर चुनौतिलाई अबसरमा परिणत गराउन सक्छु यस्मा ब्यबसायिको सहयोग साथ र मतको खाँचो छ ।

० टानभित्रका समस्याहरू समाधानका लागि उम्मेदवारी भन्नुभयो, के–के समस्या छन् टानमा ?
टानभित्र थुप्रै समस्याहरू छन् । पदयात्रीहरूको सूचना व्यवस्थापन प्रणाली –ट्रेकर्स इन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स)को विवाद समाधान भएको छैन । त्यसैगरी हामीले सरकार र टुरिजम बोर्डसँग पनि पर्याप्त सहकार्य गरेर काम गर्न सकेका छैनौँ । सरकारसँग सहकार्य गर्न नसक्दा अहिले थुप्रै ट्रेकिङ ट्राइल(पदमार्ग)हरू मासिँदै गएका छन् । अन्तर्राष्ट्रिय रूपमा नै टपटेन भित्र पर्ने अन्नपूर्ण सर्किट पनि मासिँदै गएको छ । अब यस्ता ठाउँमा अल्टरनेटिभ(वैकल्पिक) पदमार्ग बनाउनुप¥यो, जहाँ रोडको कारणले पदमार्ग मासिँदै गएको छ । यस्ता पदमार्गहरूमा सकेसम्म रोड लानु भएन । रोड लगेपनि ट्रेकिङ रुट नमासिने गरी लानु पर्यो । त्यसैगरी अपर मुस्ताङ, अपर डोल्पा लगायतका रेष्ट्रिकेटेड एरिया (निषेधित क्षेत्र)हरू छन्, जहाँ चाहिँ १० दिनको लागि गए पनि एक दिनको लागि गए पनि एउटै पर्मिट फी (अनुमति शुल्क) लिइन्छ । जति दिनको लागि जाने हो त्यत्ति मात्रै पर्मिट फी लिइदिन प¥यो । ती क्षेत्रहरूमा अहिले एक जना मात्रै विदेशी पर्यटक जान पाइँदैन । कम्तीमा दुई जना हुनुपर्ने । जसका कारण त्यस्ता क्षेत्रमा जाने पर्यटकको सङ्ख्या घटिरहेको छ । त्यस्ता ठाउँमा एक जना मात्रै पनि जान पाउने व्यवस्था हुनुप¥यो । यो लामो समयदेखि उठिरहेको तर समाधान हुन नसकेको विषय हो । यी यावत समस्याहरूको समाधान गर्दै टानलाई सशक्त बनाउन मेरो उम्मेदवारी हो ।

० तपाईले अध्यक्ष भएपछि तपाईमा कुनै किसीमको स्वार्थ हुदैन् भन्ने ग्यारेन्टी छ त ?
मेरो जन्म देखि आजसम्मका ब्यबहार हर्ने हो भने स्वार्थपरक ढंगबाट कुनै पनि काम गरेको भन्ने मैले कहिँ कतैबाट सुनेको छैन बरु आफ्नोलागि भन्दा अरुकालागि धेरै काम गर्छ भन्छन् मेरो परिवारका मान्छेहरु । म सामाजिक चेतना भएको मान्छे भएका कारणले म एक्लै चिया खान सक्दिन,एक्लै केहि कामै गर्न सक्दिन तसर्थ म सामाजिक प्राणि भएकाले म बाट त्यस्तो काम हुनै सक्दिैन । मैले सबैलाई समेटेर हिँड्ने बानी परेकाले म सामुहिक स्वार्थ भन्दा तल झरेर निर्णय गर्दिन । यो मेरो प्रतिबद्धता हो ।

० पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)को विवाद निकै लामो समयदेखि चलिरहेको छ र विवाद झनै पेचिलो बन्दै गएको छ, यसको समाधानको लागि तपाईँसँग कुनै सूत्र छ ?
यो मजाले समाधान गर्न सकिन्छ । मात्रै हामीले यसको बारेमा पर्यटन मन्त्रालय र पर्यटन बोर्डलाई बुझाउन जरुरी छ । र, अलिकति सहकार्य बढाउनुपर्छ । टान र टुरिजम बोर्डले छलफल गरेर टुङ्ग्याउन सकिन्छ । टान र बोर्डबिच आपसी विश्वासको वातावरण बनाउने बितिकै समाधान हुनेछ, टिम्सको विवाद ।

० पर्यटन क्षेत्रको हकहित र पर्यटन प्रवर्द्धनको लागि काम गर्न बनेका सरकारी निकाय र निजि क्षेत्रका सङ्गठनहरू एकअर्कासँग द्वन्द्व गरेर बस्दा पर्यटन प्रवर्द्धनमा समस्या भएको देखिन्छ नि ?
त्यसो चाहिँ होइन । पर्यटन क्षेत्रमा काम गर्ने मन्त्रालय, विभाग, बोर्ड तथा हाम्रा निजी क्षेत्रका सङ्गठनहरूका बिचमा कतिपय विषयवस्तुहरूमा विमति हुन सक्छन् । तर, यसो भन्दैमा यिनीहरू एक अर्कासँग जुधेर बसेको मात्रै भन्न चाहिँ मिल्दैन । सामान्य मतभेदहरू हरेक क्षेत्रका हरेक निकायहरूबिच हुन्छन् । निजी क्षेत्रका सङ्गठनहरू टान, एनएमए, भिटोफ, हान लगायत बिचमा राम्रै सहकार्य हुन्छ । यद्यपि सबैका आ–आफ्नै लक्ष्य उद्देश्यहरू छन् । पर्यटन क्षेत्रमा काम गर्ने सरकारी निकाय र निजी क्षेत्रका सङ्गठनबिच सहकार्य नै भइरहेको छ, तथापि सहकार्यलाई अझै व्यापक बनाउन भने जरुरी छ ।

० पर्यटन व्यवसायीहरूको सङ्गठनहरूले व्यवसायीहरूको हितलाई मात्रै ध्यानमा राखेर काम गरे, त्यस क्षेत्रमा काम गर्ने मजदुरहरूको पक्षमा खासै ध्यान दिइएन र व्यवसायीहरूले पर्यटकलाई दिनुपर्ने सेवाको बारेमा चासो देखाउँदैनन्, भन्ने आरोप छ नि ?
पहिलो कुरा त यो सङ्गठनले व्यवसायीको हितमा मात्रै काम गरे, मजदुरको हितमा गरेन भन्ने सत्य होइन । मुख्यतः व्यवसायीको हकहितकै लागि खोलिएको संस्था हो । त्यसले व्यवसायीको हकहितलाई ध्यानमा राखेर काम गर्ने नै भयो । तर, व्यवसाय गर्दा मजदुर पनि जोडिएर आउँछ । मजदुरविना त व्यवसाय गर्ने कुरै भएन । त्यसो भएको कारणले यस(टान)ले मजदुर को लागि नबोल्ने भन्ने कुरै भएन । म त अझै के भन्छु भने, म मजदुर बाटै यो व्यवसायमा आएको हुनाले मैले मजदुर र व्यवसायीबिचको सम्बन्ध सुमधुर बनाउने काम गर्ने छु । र दोस्रो कुरा विदेशी पर्यटकलाई राम्रो सेवा सत्कार गरेन भन्ने पनि सत्य होइन । उहाँहरूलाई राम्रो सेवा दिएर विश्वासको वातावरण बनाएपछि नै यो व्यवसाय चल्ने हो । केही व्यवसायीहरू हुन सक्छन्, जसले पर्यटन बुझेका छैनन् । उनीहरूबाट गल्ती कमीकमजोरी भए होलान् । तर समग्र पर्यटन क्षेत्रलाई एउटै टोकरीमा हालेर हेर्न चाहिँ मिल्दैन ।

० पदयात्रा पर्यटनको क्षेत्रमा काम गर्ने कतिपय गाइड(पथप्रदर्शक)हरूले पर्यटकलाई पदमार्ग क्षेत्रका स्थानीय समुदायको संस्कृति, कला, भाषाको सामान्य जानकारी समेत दिन नसक्दा पदयात्रा पर्यटनलाई थप आकर्षक बनाउन नसकिएको भनिन्छ नि, दक्ष गाइडहरू उत्पादनको लागि केही योजना छ ?
गाइडहरू कम छन् । हामीलाई चाहिने जति गाइडहरू नपुग भएको सत्य हो तर अहिलेका गाइडहरूले हिमालको बारेमा, लोकल कल्चर(स्थानीय संस्कृति)को बारेमा इन्फरमेसन नै दिन नसक्ने भन्नु चाहिँ गलत हो । उनीहरूले मजाले जानकारी दिन सक्छन् । बोर्डले तालिम दिएर परीक्षा लिएर पास भएपछि लाइसेन्स प्राप्त गरेका गाइडहरू छन् । प्रायः गाइडहरू यो क्षेत्रमा भरियाको रूपमा प्रवेश गरेर नै आएका हुन्छन् । उनीहरूले देशका धेरै भूभाग घुमिसकेका हुन्छन् । त्यहाँका भाषा, संस्कृति, हावापानी बुझेका हुन्छन् । हामीले समय समयमा विभिन्न तालिमहरू पनि दिइरहेका हुन्छौँ । हामीसँग जति गाइडहरू छन्, दक्ष नै छन् । यदि केही त्यस्ता गाइड छन् भने ती गाइड नै होइनन् । गाइडहरू उत्पादनका लागि विशेष योजना ल्याउने छौँ ।

० पर्बतिय पर्यटनको समस्या नीतिगत धेरै हो की ब्याबहारीक ?
सरसरर्ती हेर्दा कहिले नीतिगत बढि कहिले ब्यबहारीक बढि तर मेरो बुझाईमा दुबै समस्या समान छन् । नीतिगत समस्या बेला बेलामा नीति प्रस्ठ नभएकाले अथवा नेपाली भाषामा मान्छेले घुमाउन सक्ने भएकाले समस्या देखिएको छ भने अर्को कुरा २०३५ सालमा बनेका कानुनहरु अहिले समय सापेक्ष हुन नसक्दा समस्या आएको छ भने हामी नेपालीहरुको मै मात्रै राम्रो मेरो गोरुको बाह्रो टक्का भन्ने प्रबृत्ति,अहिले पुँजीको बोलवाला भएको अबस्थामा आफुमात्रै धनि बन्न खोज्ने जस्ता कारणले दुबै सम्स्या उस्तै दखिन्छ । अहिलेकै सरकारमा पर्यटन मन्त्रीमात्रै तिन तिन वटा फेरीए कसरी नीतिगत समस्या समाधान हुन्छ त्यसैले पहिला नीति सबल हुनु पर्यो त्य पछि ब्यबहार सबल हुन्छ ।

० पर्यटन व्यवसायीहरूका पनि कमीकमजोरीहरू छन्, जस्तो विगतमा ‘फेक रेस्क्यु’को घटना बाहिर आयो । पर्यटन प्रवर्द्धन गर्न व्यवसायीहरू पनि सुध्रिनु जरुरी छैन ? सरकारको मात्रै मुख ताकेर बसेर व्यवसाय लयमा फर्किँदैन होला नि ?
एकदम सही हो । विगतमा पर्यटन व्यवसायीहरूबाट केही गल्ती भएका छन् । सबै क्षेत्रमा सबै मानिस जेनुइन मात्रै हुन्छन् भन्ने छैन । यस क्षेत्रमा पनि केही गलत नियत भएका, व्यवसायको धर्म नबुझेकाहरू हुन सक्छन् । उनीहरूबाट गल्ती हुन सक्छन् तर, यसो भन्दैमा समग्र व्यवसायलाई नै नराम्रो चित्रण गर्नु चाहिँ हुँदैन । सबैले यस्तै खराब काम गर्छन् कि भन्ने बाहिर जुन भ्रम छ, यो असत्य हो । त्यसलाई पनि निरुत्साहित गर्ने काम हामीले गरिरहेका छौँ ।

० टानको सुधारका लागि तपाईको के कस्तो भूमिका हुन्छ ? प्रतिबद्धता के के कुरामा छन् ?
पर्वतीय पर्यटनको क्षेत्रमा विद्यमान समस्याहरुको पहिचान, समाधानको उपाय र सम्भावनाहरुको खोजीका साथै पर्वतीय पर्यटनको विकास, प्रवर्धन र बजारीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्न पदयात्रा व्यवसायी, अग्रजहरु र पर्यटन विज्ञहरु सम्मिलित कार्यदल बनाई प्रतिवेदन तयार गरिनेछ । उक्त प्रतिवेदनलाई नेपाल सरकारलगायत सरोकारवालाहरु सँगको सहकार्यमा कार्यान्वयनमा ल्याइनेछ । करको दायरा नबढाइएको कारण दुर्गम क्षेत्रको पदयात्रामा करयोग्य बीलबिजक जारी हुने अवस्था छैन । सामान ढुवानी तथा भरिया कामदारहरुलाई गरिने भुक्तानी सम्बन्धी नीतिगत व्यवस्था अत्यन्त अव्यवहारिक छ । यसर्थ यसबारेमा सम्बन्धित सरकारी निकायहरुसँग समन्वय गरी समस्या समाधान गरिनेछ ।

पदयात्रा व्यवसाय धरासायी हुने र आन्तरिक राजश्वसमेत छली हुने गरी भइरहेका अनियन्त्रित, अव्यस्थित र अवैधानिक पदयात्रा संचालन माथि रोक लगाई जिल्ला सदरमुकाम भएका स्थानहरु बाहेक ३ हजार मिटर माथिका उचाईमा गरिने पदयात्रालाई नो ट्रेकिङ विथआउट कम्पनीको नीति लागु गर्न अधिकतम प्रयास गरिनेछ । नेपालको पर्वतीय पर्यटनलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रभावकारी प्रवर्धन गर्न साहसिक पर्यटन क्षेत्रमा अन्तराष्ट्रिय रुपले कृयाशील एड्भेन्चर ट्राभल ट्रेड एशोसिएसन (आटा) सँग सम्पर्क, समन्वय गर्दै नेपालभित्रै एड्भेन्चर ट्राभल मार्ट (एटिएम) को आयोजना गर्न प्रयास गरिनेछ । आर्थिक पारदर्शिता र प्रशासनिक दक्षता सहितको जिम्मेवार टान कर्मचारी संयन्त्र विकास गर्न टानको ओ एन्ड एम गरी संघको कामकारबाहीलाई चुस्तदुरुस्त र प्रभावकारी बनाइनेछ ।

नेपालको पर्वतीय पर्यटनसँग सम्बन्धित प्रविधीमैत्री बृहत सुचना तथा जानकारी सम्प्रेषण गर्न टानको मिडिया सेन्टरलाई व्यवस्थित बनाइनेछ । पर्वतीय पर्यटनसँग सम्बन्धित महत्वपूर्ण दृश्य, तस्विर, सुचना, पदयात्रा क्षेत्रको पछिल्लो जानकारी तथा तथ्यांक अभिलेखालयको रुपमा इ–लाइब्रेरीको विकास गरिनेछ । पदयात्रासँग सम्बन्धित अनुमति पत्रहरुको झन्झटपुर्ण व्यवस्थालाई अन्त्य गरी पर्यटनमैत्री एकद्वार प्रणालीमार्फत व्यवस्था गर्न प्रभावकारी पहल गरिनेछ । विदेशीहरुका लागि निषेधित क्षेत्रहरुलाई नियन्त्रित क्षेत्रको रुपमा खुला गरी बढीभन्दा बढी पर्यटकहरुलाई नयाँ–नयाँ गन्तव्यहरुको पदयात्रामा आकर्षित गरिनेछ । नियन्त्रित पदयात्रा क्षेत्रहरुमा एक जनामात्र विदेशी पदयात्रीलाई पनि पदयात्रा अनुमति दिने व्यवस्था गर्न पहल गरिनेछ । पदयात्री सुचना व्यवस्थापन प्रणाली (टिम्स) सँग सम्बन्धित टान अन्तर्गतको बेरुजु फस्र्योटका लागि नियमसंगत तरिकाले हरसम्भव प्रयत्न गरिनेछ ।

२ टिम्सबाट आर्जित टानको भागमा छुट्याइएको तीस प्रतिशत र टान तथा नेपाल पर्यटन बोर्डको संयुक्त खाता अन्तर्गतको तीस प्रतिशत रकमलाई पर्वतीय पर्यटनको विकास र बजारीकरण तथा पर्वतीय पर्यटन मजदुरहरुको हित तथा सामाजिक सुरक्षामा अधिकतम उपयोग हुने गरी कार्यान्वयन गर्न प्रयत्न गरिनेछ । पदयात्रा क्षेत्र र व्यवसायमा विभिन्न कारण र अवस्थाले सिर्जना हुनसक्ने जटिल समस्याहरुलाई तत्काल समन्वय र समाधान गर्न टान कार्यालयमा क्राइसिस न्यापिड रेस्पोन्स टिम स्थापना गरिनेछ । र, यसै प्रयोजनका लागि हिमाली जिल्लाहरुमा कम्तीमा एकजना क्राइसिस न्यापिड रेस्पोन्स ठान रिप्रिजेन्टेटिभको व्यवस्था गरिनेछ । प्राकृतिक विपदजन्य असुरक्षाबाट पदयात्री तथा कामदारहरुलाई जोगाउन हिमाली क्षेत्रको मौसम सम्बन्धी अग्रिम सूचना व्यवस्थापनको लागि प्रभावकारी उपाय अवलम्बन गरिनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *