अर्थतन्त्र सुधारका लागि अबको बाटो के ?

अर्थ/वाणिज्य राजनीति समाचार

पुँजी चलायमान हुन नसकेको, बैंकमा रकम थुप्रिएको, कारोबार घट्दै गएको, आयात बढेको, निर्यात तथा उत्पादन घटेको जस्ता विविध आर्थिक पक्षहरुलाई औंल्याउँदा मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको देख्न सकिन्छ । यसलाई श्रमशक्ति पलायनले अर्काे उर्जा थपेको छ । मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको अवस्थामा रोजगारीको अभाव र श्रमशक्ति पलायन अस्वभाविक होइन । नेपाल राष्ट्रबैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेर अर्थतन्त्रलाई चलायमान बनाउने केही प्रयास गरेतापनि सान्दर्भिकता भने देखिएको छैन । व्यवसायी तथा सर्वसाधारण रकम लिएर पुँजी गर्ने अवस्थामा छैनन् । बजारको अवस्था दयनीय छ, उत्पादित वस्तुले आयातित वस्तुसँग प्रतिस्पर्धा गर्ने अवस्था छैन ।

वस्तु उत्पादनको लागत खर्च बजारमा उपलब्ध वस्तुको बिक्रीमूल्य भन्दा बढी हुन गएको अवस्था छ । यस्ता विविध कारणले गर्दा पुँजी चलायमान हुन सकेको छैन । ठूला आयोजना र विकास परियोजनाको भुक्तानीमा मात्रै सरकारले पुँजी परिचालन गरेको अहिलेको अवस्था छ । अझ भन्नुपर्दा मुलुकको ठूलो पुँजी मुलुकभित्र चलायमान नहुने तर आयातमार्फत बाहिर जाने अवस्था छ । श्रमशक्तिले पठाएको रेमिट्यान्स रकम पुन वस्तु खरिदमार्फत बाहिर जाने अवस्था अहिले देखिएको छ । एकातिर मुलुकमा रेमिट्यान्समार्फत आयस्रोत बढेको देखिएको छ भने अर्काेतर्फ वस्तु आयात मार्फत ठूलो रकम बाहिर गएको तथ्यांक छ ।

हालै अर्थ मन्त्रालयको प्रशासनले एउटा प्रतिवेदन निकालेको छ । अर्थतन्त्रको संरचना, सार्वजनिक खर्चलगायत अर्थतन्त्रबारे दर्जनौं चुनौतीहरु रहेको प्रतिवेदन सार्वजनिक गरेको हो । त्यसैगरी, आर्थिक क्षेत्रको वृद्धि कम, न्यून लगानी, आयातजस्ता विविध कारण चुनौतीको रुपमा देखा परेको छ । अर्थ मन्त्रालयको सचिव तथा सहसचिवहरुले गरेको अध्ययनको प्रतिवेदनमा अर्थतन्त्रमा देखिएको चुनौती र यसको समाधानहरु उल्लेख छ । यो प्रतिवेदनले अर्थतन्त्रमा साधन उपलब्धता अनुपातमा आर्थिक क्षेत्रको वृद्धि कम भएको, बचत, उपभोग र लगानी वृद्धिदर न्यून रहनुलाई चुनौतीका रूपमा उल्लेख गरेको छ ।

आयात उच्च भएकै कारण उत्पादनमुलक क्षेत्र सिथिल बन्न पुगेको छ । उत्पादन मुलुक क्षेत्रलाई आयातसिर्जित वस्तुले विस्थापित गरेको हो । उत्पादनमुलक क्षेत्रलाई सक्रिय बनाउन र लगानी बढाउनका लागि वित्तीय क्षेत्र तथा लगानीकर्ताहरु लचक हुने र सरकारले पनि आयातलाई मितव्ययी तरिकाले कडाई गर्दै लैजानुपर्दछ । आयातित वस्तुको प्रतिस्थापन गर्ने सक्ने वस्तु उत्पादन गर्नका लागि लगानीकर्तालाई प्रोत्साहन सरकारले गर्नुपर्दछ । नेपालको सन्दर्भममा उल्टै लगानीकर्तालाई खेदेर आयात सहजीकरण गर्ने परिपाटी विकास भएका कारण मुलुकको अर्थतन्त्र धरासायी बनेको सबैले महसुस पनि गरेका छन् । आ.व.२०८०÷८१ मा मुलुकमा कुल १५ खर्ब ९२ अर्बको आयात भएको अवस्थामा केवल १ खर्ब ५२ अर्बको निर्यात भएको छ । यो भनेको आयात र निर्यातको अनुपात ९० र १० प्रतिशत बराबरको हो । कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब भएको अवस्थामा मुलुकको व्यापार घाटा १४ खर्ब ४० अर्ब रहेको तथ्यांक छ । मुलुकका लागि गर्नुपर्छ र सुधार अपरिहार्य छ भन्ने भावनाको विकास मुलुकको शासन सञ्चालन र कर्मचारीवृत्तमा नभएसम्म मुलुकले निकास पाउन सक्ने अवस्था पनि छैन ।

मुलुकको निर्यात निकै कमजोर बनेको, वैदेशिक व्यापार बढ्दै गएको र आयातनिर्यातको खाडल झन विकराल बन्दै जानुले पनि अर्थतन्त्र कसरी कमजोर भएको छ भन्ने संकेत गर्दछ । आयातले मुलुकको उत्पादनलाई विस्थापित गर्दै लैजान्छ । उत्पादनमा लगानी ठूलो लाग्ने र आयातित वस्तु सहजै र कम मूल्यमै उपभोग गर्न पाउने अवस्थाले उत्पादनमुलक क्षेत्र सुस्ताएको तथ्य सरकार र प्रशासन बुझ्न जरुरी छ । अर्काेतर्फ, मुलुकको पुँजीगत खर्च नभएका कारण पनि विकट क्षेत्रलाई उत्पादनमुलक बजारसँग जोड्न सकिएको छैन । सरकारले भौगोलिक विकटतालाई राजनीतिक भ¥याङ पनि बनाउने गरेका छन् ।

अर्थतन्त्र कमजोर बन्नुमा अन्य विविध कारणहरु पनि छैन । अर्थ प्रशासनले औंल्याएको केही कारणहरु सार्वजनिक संस्थानमा ऋण लगानीको प्रतिफल कमजोर हुनु, खर्च र आम्दानीको अन्तर बढ्नु, सामाजिक सुरक्षतर्फको खर्च बढ्नु, वैदेशिक ऋणको लगानीको प्रभावकारिता नुहुनु, आयोजना÷परियोजना तोकिएको समयमा सम्पन्न नहुँदा लागत प्रभावकारी हुन नसक्नु रहेको छन् । त्यसैगरी, संघीय संरचनाको खर्चको बोझ पनि अर्थतन्त्रमा थपिएको छ । जनप्रतिनिधिहरुको सेवा सुविधा र यसको ठूलो खर्चका कारण अर्थतन्त्रमा खर्चको भार थपिएको छ । त्यसैगरी, सरकारी बजेटमाथि स्थानीय तहबाटै भ्रष्टाचार र बेथिति मौलाउने गरेका कारण बजेट हिनामिना भएको पाइन्छ । प्रदेश र स्थानीय तहले ठूलो खर्च उठाउने गरेका छन् । तर आम्दानीका सवालमा स्थानीय तहले स्रोत र अवसरहरु पहिचान गर्न नसकेको देखिन्छ । प्रदेश तह त अहिलेको अवस्थामा खर्च गर्ने र राजनीतिक दलहरुको कार्यकर्ताको भाग पु¥याउने थलो मात्र बन्न पुगेको छ । संघीयताकै कारण प्रशासनिक खर्च बढेको र आर्थिक अनियमितता पनि बढ्दै गएको देख्न सकिन्छ । नेपालको अहिलको आर्थिक अवस्थालाई मध्यनजर गर्दा संघीयता स्थानीय तह र केन्द्रमा सीमित गर्नु उपयुक्त देखिन्छ ।

अहिलेको विकराल आर्थिक अवस्थामा संरचनागत खर्च घटाउनु, आयात न्यूनीकरण गर्नु, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नु र लगानी वृद्धि गर्नु, निजी क्षेत्रलाई आन्तरिक उत्पादनको लगानीमा प्रोत्साहन गर्नु सरकारको पहिलो कदम हुनुपर्दछ । कमजोर अर्थतन्त्रलाई सुधार गर्दै लैजान पनि समय लाग्दछ । तर यसका लागि प्राथमिकताहरु चयन गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने देखिन्छ । सरकारले स्वदेशमै रोजगारी सिर्जना, वैदेशिक रोजगारीलाई प्रतिफलयुक्त बनाउने र विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नेजस्ता अर्थ प्रशासनले उल्लेख गरेको समाधानको उपायलाई कार्यान्वयन गर्नुपर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *