रामचन्द्र बस्नेत
जहानिया राणा शासनविरुद्ध २००७ साल अगाडि क्रान्ती भएको थियो । सो क्रान्ती कांग्रेस र कम्युनिस्टहरु मिलेर गरेका थिए । त्यतिबेला नेपालका कम्युनिस्टहरुले नेपालको क्रान्ति अधुरोछ, दिल्ली सम्झौता धोका हो, राणा र राजा त्रिभुवन मूर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएर देशव्यापी आन्दोलन छोडेका थिए । नभन्दै २००७ सालमा नेपालमा प्रजातन्त्र पनि आयो । तर, २००७ सालमा आएको प्रजातन्त्रले सार्थकता पाउन सकेन । २०१५ सालमा नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्यो ।
त्यो सरकार २०१७ सालमा ढल्न पुग्यो । त्यसपछि राजा महेन्द्रले बहुदलीय व्यवस्था ‘कू’ गरेर निर्दलीय पञ्चायती व्यवस्था पुनर्बहाली गराए । त्यसपछि २०३६ सालमा निर्दलीय व्यवस्थाविद्ध आन्दोलन भयो । आन्दोलन चर्किँदै गएपछि २०३८ सालमा जनमत संग्रह भयो । नजमत संग्रहमा निर्दलको जित र बहुदलको पराजय भयो । जनमतसंग्रहमा पराजय भयपनि कांग्रेस र कम्युनिस्टले एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध लुकीछिपी भित्रभित्रै संगठन विस्तार गरिरहे । त्यसको नेतृत्व कांग्रेस नेताद्वय स्व.गणेशमा सिंह र कृष्णप्रसाद भट्टराईले गरेका थिए । त्यो आन्दोलनमा कम्युनिस्टबाट मोहनचन्द्र अधिकारी, मनमोहन अधिकार र पद्मरत्न तुलाधरहरुले नेतृत्व गरेका थिए । कांग्रेस र कम्युनिस्ट मिलेर २०४२ साल सत्याग्रहहुँदै २०४६ जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना भएको थियो । पञ्चायती शासनविरुद्ध एकजुट भएर आन्दोलनमा होमिएका कांग्रेस र कम्युनिस्टहरुले ३० वर्षे निर्दलीय शासनको अत्य गरे । पञ्चायत व्यवस्थाको अन्त्य भएपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।
अन्तरिम सरकार बनेपछि २०४७ सालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र अन्तर्गत नेपालको ‘संविधान २०४७’ बन्यो । त्यही संविधानअन्तर्गत २०४८ सालमा निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा नेपाली कांग्रेस बहुमतसहित पहिलो दल बन्न पुग्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बन्यो । तर, गिरिजाप्रसाद कोइरालाले आन्दोलनका कमाण्डर गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई बाइपास गरेर एकलौटी ढंगले अगाडि बढ्न खोज्दा बहुमतको सरकार टिकाउन नसकेर २०५१ साल मध्यावधि निर्वाचन हुन पुग्यो । सो निर्वाचनमा २०४८ सालमा दुई तिहाई नजिक सिट जित्न सफल कांग्रेस ८३ सिटमा चुम्चिन पुग्यो । त्यस्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा गठन गरी निर्वाचनमा होमिँदा झन्डै दुई तिहाई हाराहारी बहुमत हासिल गरे । दुई तिहाई हाराहारी बहुमत ल्याएका कम्युनिस्टहरुले सरकार पनि चलाए । तर, त्यो सरकार ४१ महिनाभन्दा बढी टिक्न सकेन । सरकार टिक्न नसक्नुको मुख्य कारण नेता त्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच शक्ति बाडफाड नमिल्नु थियो ।
यिनै नेताहरुको कारण अहिले देश आर्थिकमन्दीको सामान गर्न वाध्य भएको छ । कांग्रेस र कम्युनिस्टका शीर्ष नेताहरुको दम्भले गर्दा देश भ्रष्टाचार, बेथिति, विकृतिविसंगतिबाट आक्रन्त बनेको छ । अहिले पनि नेताहरु देश र जनताको पक्षमा काम गर्नेभन्दा आफू कसरी पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने, आफ्ना आसेपासेलाई कसरी पदमा पु¥याउने, परिवारका सदस्यलाई कसरी पार्टी र सरकारमा हावी गराउने भन्नेमै केन्द्रित रहेका छन् । कांग्रेस र कम्युनिस्ट नेताहरुको यस्तो रवैयाले गर्दा दिनप्रतिदिन देश अधोगतितिर धकेलिँदै छ । सर्वसाधारणमा पार्टी र नेताप्रति वितृष्णा जागेको छ । युवा वर्गले देश छाड्ने क्रम जारी छ । भ्रष्टाचारले सबै क्षेत्र तहसनहस भएको छ । तर, सबै दलका नेताहरुले अझै पनि आफ्नो दम्भ छाड्न सकेका छैनन् ।