राजनीतिक दल फेर्दै सँधै मालदार अड्डामा

राजनीति समाचार

काठमाडौं । प्रचण्ड पुत्री गंगा दाहाल र ज्वाई जीवन आचार्यको सेटिङ्गमा सम्पत्ति शुद्धीकरण विभागमा पुगेका महानिर्देशक कमलप्रसाद भट्टराईले डा दीप श्रेष्ठको अकुत सम्पत्ति छानबिनलाई तामेलीमा राखेर उनलाई चोख्याउने खेलोमेलोमा लागेका छन् । यस्तै हाइड्रो माफिया ज्ञानेन्द्रलाल प्रधानको पाँच अर्ब अकुत आर्जन मुद्धामा चलखेल गरिरहेको खुलेको छ । यसलाई ५० करोडको मात्र मुद्धा अदालतमा लगेर उनले चलखेल गरेका हुन । यो चलखेलमा उपसचिव शिव पोखरेलले ५ अर्ब अकुत मुद्धालाई ५० करोडमात्र दायर गरेर बाँकी कालो धनलाई सेतो बनाउने तयारी गरिरहेका हुन ।

यस्तै भट्टराईले अशोक भट्टचनको मुद्धामा अस्भाविक हस्तक्षेप गरेको विभागका कर्मचारीहरुले जनाएका छन् । पूर्व डिजी पुष्पराज शाहीलाई विस्थापित गरेर गत ८१ जेठमा महानिर्देशकको कुर्सीमा पुगेका भट्टराईले दर्जनौं मुद्धालाई तामेलीमा राखेर सेटिङ्ग गर्दै आएका छन् । सचिव बन्ने लाइनमा समेत रहेका भट्टराईले केही मुद्धा चलाउने र बाँकी मुद्धा तामेलीमा राख्ने भन्दै हजारौं मुद्धामा चलखेल गर्दै आइरहेका छन् ।

भट्टराई निजामतीभित्र शक्ति र मालदार ठाउँमा रमाउने र कमाउने कर्मचारीका रुपमा परिचित छन् । यसअघि भन्सार विभागको महानिर्देशक हुँदा कर्मचारी खटन पटनमा आर्थिक शुभलाभ लिएको आरोप छ । दरबन्दीभन्दा पचासौं कर्मचारी बढी खटन पटन गरी आर्थिक शुभलाभ लिएको आरोप उनीमाथि छ । यस्तै यस अघि हङकङको महावाणिज्यदूत, पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयका प्रवक्तादेखि कर्मचारी प्रशासन महाशाखा प्रमुख, गोरखाको सिडियो समेत चलाइसकेका भट्टराई जहाँ बस्यो सोही निकायमा विवाद र बदनामीमा मुछिएका कर्मचारी हुन । अहिलेसम्म कुनै पनि कार्यालयमा देखिने गरी सुधारको कुनै काम गरेको रेकर्ड छैन उनको । बरु जहाँ बस्छन्,त्यहाँ विवाद र आर्थिक मामिलामा मुछिँदै आएका कर्मचारी हुन ।

आफ्नो फाइदाको लागि चाकडी र चाप्लुसीमा खप्पिस भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारेर २०७८ फागुन २ मा भन्सार विभागको महानिर्देशक भएका थिए । तत्कालीन भन्सार विभागका डीजी नारायण सापकोटालाई ६ महिनामै हटाएर भट्टराई डिजी बनेका थिए । तर भन्सारका खरिदार, सुब्बादेखि अधिकृतको सरुवा र पदस्थापनमा पैसा लिएको देखि चामल आयातमा ब्यापारीसँग पैसा असुलेको विषयमा विवादमा परेका थिए । जसका कारण ९ महिनामै उनलाई विभागको कुर्सीबाट हटाइयो ।

यस्तै, हङकङको महावाणिज्यदूत हुदाँ ब्यापारीसँग मिलेर हुन्डी कारोवारलाई सघाएको र आर्थिक फाइदा लिएको आरोप समेत भट्टराईमाथि लाग्दै आएको छ । सामान्य प्रशानसन मन्त्रालयमा कर्मचारी प्रशासनमा महाशाखामा हुँदा उपसचिव सरुवामा रकम उठाएको र र आफ्नो भाईलाई वैदेशिक रोजगार विभागमा पदस्थापना गरेको विषय समेत उठाउँदै आएका छन् कर्मचारीहरु । उनका यस्तै बदमासीहरु छरपष्ट भएसँगै वाइसीएलका कार्यकर्ताले हातपात समेत गरेका थिए । सामान्य प्रशासनको सहसचिव हुदाँ आर्थिक चलखेल गरि भट्टराईले सर्लाहीको कविलासी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चुडामणि चापागाईको सरुवा बदर गरि भूमिब्यवस्था तथा सहकारी मन्त्रालयमा पदस्थापन गरेपछि निकै विवाद भएको थियो ।

तत्कालीन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको विश्वासपात्र भएका सहसचिव भट्टराईले कर्मचारी सरुवामा रकम नै तोकेर लिन थालेपछि माओवादी संयन्त्रभित्रै लेनदेनको विवाद सतहमा आउदाँ २०८० चैत्र २९ गते प्रशासन महाशाखा प्रमुख भट्टराईमाथी हातपात भएको थियो । माओवादीका विश्वाससिला कर्मचारीको रुपमा चिनिएका भट्टराई केपी ओली प्रधानमन्त्री भएसँगै म पनि झापाकै हुँ, एमालेलाई हिजोदेखि सहयोग गदै आएको भन्दै अहिले एमालेका नेताहरुको पाउ मोल्न थालेका छन् । गत सातामात्र केपी शर्मा ओलीलाई भेट्न वालुवाटार पुगेका उनको टोलीलाई प्रधानमन्त्री ओलीले साढे दुई घण्टा कुराएर साढे १० बजेमात्र भेटेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *