किन हुन्छ विदेशी कुटनीतिज्ञको पटक पटक नेपाल भ्रमण ?

राजनीति समाचार

रामचन्द्र बस्नेत
राजनीतिक दलहरुबीच समन्वयकारी भूमिका नहुँदा देश अनिर्णयको बन्दी हुँदै गएको छ । बारम्बार सरकार फेरबदल हुनाले न त देशले निकासा पाउँछ, न त विकास निर्माण नै हुन्छ । जब सरकार परिवर्तन हुन्छ अनि छिमेकी मुलुक भारत र चीनका विदेश सचिवहरु नेपालमा आएर राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेर फर्कने चलन विगत लामो समयदेखिको हो । कांग्रेस र एमालेको सरकार बनेपछि भारतीय विदेश सचिव नेपाल आएर फर्किइसकेका छन् भने त्यसको लगत्तै गत शुक्रवार अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माले एकदिने नेपाल भ्रमण गरी फर्किएका छन् ।

वर्माले प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई मात्रै भेटेर फर्किएका छन् । उनले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबीचको भेटका क्रममा नेपालको लागि हेलिकप्टर खरिद गरिदिने वचन दिएका छन् । त्योसँगै वर्माले नेपालको हवाइ क्षेत्रको लागि वैदेशिक शैनिक कोषबाट १० करोड अमेरिकी डलर नेपाललाई सहयोग उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । विगतका वर्षमा चाइनाबाट पनि विदेश सचिव नेपाल आउने गरेका थिए । तर, यस पटक कांग्रेस र एमाले सरकार बनेपछि चीनका विदेश सचिव नेपाल आएका छैनन् । तर, भारतका विदेश सचिव र अमेरिकाका उप–विदेशमन्त्री भने नेपाल भ्रमण गरेर फर्किइसकेका छन् । जब नेपालमा सरकार परिवर्तन हुन्छ अनि विदेश सचिव र मन्त्रीको नेपाल भ्रमण हुने गर्दछ ।

यस्तो हुनुभनेको नेपालको हितमा नभएर उनीहरुकै हितमा काम हुने गरेको बुझिन्छ । त्यसको उदाहरण लिन सकिन्छ २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको जग बसाल्न भारतबाट विभिन्न सहयोग जुटेको थियो । त्यतिबेला नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा सरसल्लाह र सहयोग गर्न भारतीय विश्लेषकहरु नेपाल आएका थिए । त्यसैगरी नेपाली सेनालाई शैन्य शिक्षा र तालीम दिन भारतीय सेना नेपाल आएर नाटक मञ्चन गरेका थिए । त्यो गर्नुभनेको भारतले आफ्नो सीमाको रेखदेख गर्नुथियो ।

नेपालमा विभिन्न राजनीतिक दलहरुले सत्ता प्राप्ति गरेपछि छिमेकी देश भारत र चिनका विदेश सचिवहरु नेपाल भ्रमण गरेर सल्लाह दिने प्रचलन बसिसकेको छ । छिमेकी मुलुकका विदेश सचिवहरु त आउँथे नै अहिले त अमेरिकी उप–विदेशमन्त्री नै नेपाल भ्रमणमा आई सरकारलाई सहयोग गर्ने आश्वासन दिएर जानुमा थप शंका उब्जिएको छ । यसले अमेरिकाले नेपाललाई सहयोग दिने भन्दा पनि आफ्नो हितको लागि भ्रमण गरेको प्रष्ट हुन्छ । किन कि अमेरिकी परियोजना एमसीसी लागु भएपछि त्यसलाई छिटो टुंग्याउनको लागि पनि विभिन्न बहाना बनाएर अमेरिकी विदेशमन्त्रीसहित कूटनीतिज्ञहरु नेपाल भ्रमण गरिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *