कोशी प्रदेशअन्तर्गत सोलखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व अहिले गुल्मीकी देवी पाण्डे खत्रीको काँधमा छ । २०८० कार्तिक २२ गतेदेखि सोलखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पाण्डे कुशल प्रशासकका रूपमा परिचित छन् । उनले निजामती सेवामा १८ वर्ष बिताइसकेकी छन् । सोलखुम्बुको प्रमुख जिल्ला अधिकारी हुनुअगाडी पर्वतकी प्रजिअ, जिल्ला प्रशासन कार्यालय गोरखामा सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिइन् । उनीसँग थामे क्षेत्रमा शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको सो क्षेत्रमा बाढीको अवस्था, क्षतीको अवस्था, कसरी उद्धार गर्दै हुनुहुन्छ आदि सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० सोलुखुम्बुको थामे क्षेत्रमा बाढीको अवस्था कस्तो छ ?
थामे क्षेत्रमा शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको छ । हिजो क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो । निरीक्षणपछि अस्ती दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ । जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो । बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ । खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ । थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको बुझाइ छ ।
० बाढीबाट हाल सम्म के कती क्षति भएको छ ?
साउन ३२ गते शुक्रवार खुम्बु क्षेत्रमा हिम पहिरो जाँदा थामेमा अपूरणीय क्षति भएको छ । हिम पहिरो जाँदा २ वटा ताल फुटेर थामेमा बाढीले २० वटा घरसहित विद्यालय, होटल र क्लिनिक, छात्रावास र विद्युत् गृहमा क्षति भएको छ । माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने मितेरी पुल एकतर्फी भासिएर आवतजावतमा समस्या भएको छ ।बाढीले पदमार्ग कटान गरे पछि लुक्ला बाट नाम्चे हुँदै थामे सम्मको आवतजावत बन्द रहेकोे छ । यस्तै सोताङ गाउँपालिका वडा नम्बर १ दिप्टिघाट बेलिब्रीजको स्टोर गरी राखिएको सामाग्रीहरू बगाएको छ । रक्षा मन्त्री मानवीर राई, कोशी प्रदेश सांसद एवं पूर्व मन्त्री बुद्धिकुमार राजभण्डारी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सराकार समिति अध्यक्ष सोनाम गेल्जेन शेर्पा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गृह मन्त्रालयका सह सचिव भीष्म भुसाल, म आफैं, प्रमुख सेनानी विजय प्रकाश आङदेम्वे, प्रहरी नायव उपरीक्षक द्वारिका प्रसाद घिमिरे साथै खुम्बुका जनप्रतिनिधि कर्मचारी लगायतले आज शनिवार थामेमा पुगेर स्थलगत निरीक्षण गरेका छौं ।
० कसरी उद्धार गर्दै हुनुहुन्छ ?
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सयुक्त टोली खटिएका छन् । उक्त टोलीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ। बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ।
० बाढीपीडितलाई कसरी सहयोग गर्दै हुनुहुन्छ ?
शुक्रबारको बाढीपछि सम्पर्कविहीन अन्दाजी ५० वर्षका निमानुरु शेर्पाको अत्तोपत्तो छैन । खोजी कार्य भइरहेको छ तर, पनि फेला परेको छैन् । विस्थापित भएका १४० जना आफन्त र छरछिमेकको शरणमा रहनुभएको छ । कतिपय मानिस होटल तथा विद्यालयमा काम गर्न आएका रहेका छन् । घर तथा होटलसमेत गरेर २० वटा घर बाढीले पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । विद्यालय र छात्रावास गरेर तीन वटा भवन पनि बाढीले नष्ट गरेको छ । गाउँमा रहेको एक मात्र क्लिनिक बगाएकाले अप्ठ्यारो परेको छ । विद्युत् गृह पनि क्षतिग्रस्त बनेको छ । खाने पानीको मुहान धेरै रहेकाले समस्या छैन । पर्यटकीय क्षेत्र भएकाले स्थानीयको घरमै होटल तथा रिसोर्ट बनाएर हिमाल जानेलाई सेवा दिँदै आएका थिए । बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको हो । स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ ।
पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको छ । नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा प्रभावित स्थानबाट सात जनाको सकुशल उद्धार गरेको छ । प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेकोे छ । बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ ।
० सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राहीको समस्या समाधान गर्न प्रत्यक्ष उहाँहरूसँग सम्पर्क हुने जिम्मेवारीमा छु । गोरखामा सहायक प्रजिअ हुँदा, दोलखामा जिल्ला निर्वाचन अधिकारी हुँदा , पर्वतको प्रमुख जिल्ला अधिकारी र अन्य केही कार्यालयमा सेवाग्राहीसँग डाइरेक्ट क्यान्ट्याकमा रहेर काम गरेको हो । प्रमुख जिल्ला अधिकारीसँग त सेवाग्राही कमै मात्र ठोकिन्छन् । तलबाट समाधान नभएका काम मात्र प्रजिअसँग ठोकिन्छ । म प्रजिअ हुँदा सेवाग्राहीका धेरैभन्दा धेरै समस्या समाधानमा लागिपरेको छु, जुटेको छु ।
० आफूले गरिदिएको कामबाट निकै खुसी भएको सेवाग्राही र आफूलाई पनि निकै आत्मसन्तुष्ट भएको स्मरणीय लाग्ने कुनै घटना छ कि ?
नेपालभरै बुबा बेपत्ता भएका, आमा मात्रै भएकाले नागरिकता नपाएको समस्या छ । मैले यहाँ जसको बाउआमा हुनुहुन्न तर उहाँ २८–३० वर्षको भइसक्नुभएको छ । उहाँ विदेशी नागरिक पनि होइन । तर उहाँलाई नेपालले नागरिकता दिँदैन । नागरिकता नपाउँदा सामान्य व्यापार गर्न, सवारी चालक हुन सकिँदैन, विदेश जान पनि राहदानी बनाउन सकिँदैन । यहाँ त्यस्तो व्यक्तिहरू थिए । उहाँहरूलाई मैले स्थानीय मुचुल्का, प्रहरी मुचुल्का गरी कागजी प्रक्रिया पूरा गरेर बाबु पत्ता नलागेसम्म आमाको नामबाट अथवा बाबुआमाको नाम खाली राखेर स्थानीयले यहीँ जन्मेको तर बाबुआमा छैन भनेर मुचुल्का गरिदिन्छन् भने नागरकिता दिने भनेर नागरिकता दिलाएँ । उहाँहरूले नागरिकता पाएपछि खुसी भएको देख्दा सन्तुष्टि मिल्छ । उनीहरू यहीँ जन्मिए, हुर्किए तर आमाबाबु हुनुहुन्न । अदालत गएर मुद्दा लड्दा नागरिकता पाउन सक्छन् आर्थिक रूपमा सक्षम नहुँदा अदालत जाँदैनन् र नागरिकताविहीन भएर बस्छन् ।
० कामका दौरानमा कस्ता–कस्ता दबाब आउँछन् ?साह्रै त्यस्तो दबाब त आएको छैन । राजनीतिक नेतृत्वबाट कहिलेकाहीँ यस्तो–यस्तो छ छिटो हेर्दिनु न त मुद्दा । प्रक्रिया पूरा गरेर टुंग्याइदिनु न भन्ने खालका आउँछन् । प्रशासनिक रूपमा हस्तक्षेप हुने त्यस्तो दबाब छैन ।
० निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग-यो ?
मैले बोर्डिङ स्कुलमा एक वर्ष पढाएँ । मलाई तलब २५०० आउँथ्यो । स्कुल टाइम त भई नै हाल्यो । घरमा आएर पनि स्कुलको काम गर्नुपर्थ्यो । थोरै तलबमा अनि घरमा पनि आएर काम गर्नुपर्ने भएकाले अब प्राइभेट काम गरेर हुँदैन लोकसेवा लड्नुपर्छ भन्ने भयो । जुन मैले निजी क्षेत्रमा पाएको पीडा छ त्यो सरकारीमा छैन भनेर निजामती क्षेत्रमा आएँ ।
० निजामती सेवामा किन चाँडो–चाँडो सरुवा भइरहन्छ ?
निजामती क्षेत्रमा चाँडो सरुवा हुनु अलि नमज्जा हो । प्रजिअ एउटै जिल्लामा लामो समय बस्नु हुन्न भन्ने मान्यता त मेरो पनि हो । तर कम्तीमा पनि एक वर्षचाहिँ बस्नुपर्छ । प्रजिअले कठोर निर्णय लिनुपर्ने हुन्छ । एक वर्षभन्दा बढी बसियो भने त्यहाँको जनतासँग घुलमिल हुन्छ चिनजान हुन्छ त अलिकति हेरिदिउँ भन्नेतिर लागियो भने कानुनी शासनको अनुभूति जनतालाई कम हुन्छ । छिटै सरुवा हुँदा बुझ्दा–बुझ्दै चिन्दा–चिन्दै सरुवा हुन्छ र जनताले पनि पाउनुपर्ने सेवा नपाउन सक्छन् । प्रमुख जिल्ला अधिकारीले पनि आफ्नो क्षमताअनुसारको सेवा दिन सक्दैन ।