एमाले र कांग्रेसको सरकारले लामो समय नटिक्ने, महिला प्रधानमन्त्रीको हल्लाले कांग्रेसमा भुँइचालो

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई ठूला दलहरु मिलेर २०८४ सम्म स्थायी सरकार बनाउन गत असार १७ गते गोप्य सहमति भएको थियो । त्यो सहमतिमा पहिला एमालेले सरकारको नेतृत्व गर्ने त्यसपछि कांग्रेसले नेतृत्व गर्ने भनिएको थियो । त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओली दुई वर्षका लागि प्रधानमन्त्री हुने त्यसपछिको २०८४ को निर्वाचनसम्म डेढवर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति गरेका थिए । तर, अहिलेको परिस्थिति हेर्दा त्यो सम्भव देखिँदैन । किन कि प्रधानमन्त्री ओली कांग्रेसभित्र झगडा र गुटबन्दी बढाएर २०८४ को निर्वाचनमा एमालेले एकलौटी बहुत ल्याउने खेल खेखिरहेका छन् ।

ओलीले महिलालाई प्रधानमन्त्रीको तुरुप फालेर कांग्रेसभित्र खेल्न खोजिरहेका छन् । परराष्ट्रमन्त्री आरजु देउवा राणा भारत भ्रमणमा गएर फर्किएपछि प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्री भएको बेला महिलालाई प्रधान न्यायाधीश, राष्ट्रपति, सभामुख र मुख्यसचिव बनाइसकेको अब प्रधानमन्त्री बनाउन बाँकी रहेकाले त्यो पनि आफैले बनाउने भनेपछि कांग्रेसभित्र नयाँ तरंग फैलिएको छ । त्योसँगै कांग्रेस सभापति देउवाले ओलीपछि आफू प्रधानमन्त्री नबनेर संसदीय दलको नेता बनाएर आरजुलाई अगाडि सार्ने संकेत गरेका छन् । त्यसमा इरपक्षले विरोध जनाएको खण्डमा डा. शेखर कोइरालालाई पार्टीको १५ औं महाधिवेशनमा सभापति बनाउने आश्वासन दिने मनस्थितिमा रहेको बुझिन्छ ।

त्यसैगरी कांग्रेसभित्र खरो रुपमा उत्रिएका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मालाई डा. शेखर कोइरालाले सभापतिको लागि आफूलाई सहयोग गर्न आग्रह गर्ने देखिन्छ । तर, कांग्रेस नेता धनराज गुरुङ, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्र बहादुर कार्की, पूर्णबहादुर खड्का र प्रकाशमान सिंहलाई देउवा आफैले मनाएर कांग्रेसभित्रको गुटबन्दी साम्य पार्ने दाउ रचिरहेका छन् । उता भारतले पनि आरजु राणालाई नै प्रधानमन्त्री बनाउन चाहेकोे देखिन्छ । यही छनक पाएर नै प्रधानमन्त्री केपी ओलीले आफूले महिला प्रधानमन्त्री बनाउन चाहे भन्ने अभिव्यक्ति दिएको हुनुपर्छ । अर्कोतिर प्रधानमन्त्री ओलीले महिला प्रधानमन्त्रीको नाममा आरजुलाई अगाडि सारिदिएपछि कांग्रेसभित्र संस्थापन र इतरपक्षको गुटबन्दी झन् झांगिने र एमालेलाई चुनाव जित्न सजिलो हुने दाउ पनि रचेको हुन सक्छ । कांग्रेसभित्र भएको किचलो हेर्दा प्रधानमन्त्री ओलीको त्यो भनाइले सार्थकता नपाउला भन्न सकिँदैन ।

उता, परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमण सकेर नेपाल फकिएर आफ्नो भ्रमण फलदायी भएको जानकारी प्रधानमन्त्री र आफ्नो पार्टीलाई दिएकी थिइन् । यता नेपाल सरकार र चीन सरकारबीच द्वीपक्षीय हितको लागि केही महत्वपूर्ण कार्य अगाडि बढाउने सम्झौता भइरहेको थिए । चीनको अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ बेइहुन नेपाल भ्रमणमा रहेका थिए । त्यसबेला नेपाल सरकार र चीन सरकारबीच हुम्ला नाकादेखि सिमीकोटसम्मको सडक दुई लेनमा स्तरोन्नति गर्न अध्ययन गर्ने सहमति भएको थियो । एकातिर परराष्ट्रमन्त्री भारत भ्रमणमा जानु अर्कोतिर चीन सरकारसँग विकासे सम्झौता हुनुले पनि यो सरकार आफ्नै तालमा हिँडेको देखिन्छ । त्यसले गर्दा कांग्रेस र एमालेको सहकार्य लामो समयसम्म टिक्ने अवस्था देखिँदैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *