निजामती सेवा दिवसः पुरस्कारमा भेदभावपूर्ण व्यवहार

राजनीति समाचार

काठमाडौं । कर्मचारीहरुले यही भदौ २२ गते तामझामका साथ ‘निजामती सेवा दिवस २०८१’ मनाएका थिए । हरेक वर्ष भदौ २२ गते निजामती सेवा दिवस मनाउने गरिन्छ । सो निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् । यसपटकको ‘निजामती कर्मचारी सेवा दिवस २०८१’ मा निजामती कर्मचारी सम्बन्धी बनाइएको लघुचलचित्र ‘दायित्व’ को विशेष प्रदर्शनी गरिएको थियो । त्योसँगै निजामती सेवा अन्तर्गतका विभिन्न कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान गरिएको थियो । तर, पुरस्कार र सम्मान पाउने कर्मचारीहरु इमानदार, दक्ष, सेवाग्राहीमैत्री भन्दा शक्तिकेन्द्र वरिपरि घुम्ने र नेताको सोर्सफोर्स लगाउने, कर्मचारी युनियनका नेताका आफन्त र पुरस्कार र सम्मान किन्नेहरुले पाउने गरेका छन् ।

दूर्गम र पहाडी जिल्लामा सेवा गर्नेभन्दा केन्द्रमा बसेर हालीमुहाली गर्नेले पुरस्कार र सम्मान पाउने गरेका छन् । प्रायःजसो भ्रष्टाचारमा मुछिएका, सोफोर्समा जागिर खाएका, विभिन्न काण्डमा नैतिक पतन भएका व्यक्तिहरुले पुरस्कार पाउने गरेको कर्मचारीहरुको गुनासो छ । एकातिर पुरस्कारमा भेदभाव गरिएको छ भने अर्कोतिर राजनीतिक आडमा पुरस्कार वितरण गरिने परम्पराले कर्मचारीतन्त्र ध्वस्त हुँदै गएको बताइन्छ । कांग्रेस र एमालेको सरकार बनिरहँदा कर्मचारीमा भेदभावपूर्ण व्यवहार गरेको, मालदार अड्डामा छानीछानी आफ्ना मान्छे नियुक्ति गरेको, कर्मचारीहरुबाट संगठनको नाममा पैसा उठाएर मनमौजी खर्च गर्ने जस्ता काम गरेर कर्मचारीलाई हैरान पार्ने गरेका छन् ।

निजामती सेवा दिवस २०८१ मनाइरहँदा अधिकांश कर्मचारीहरु असन्तुष्ट देखाएका थिए । निजामती सेवा दिवसस्थलमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रम हेर्ने नाममा टिकट विक्रीवितरण गरिएको थियो । कर्मचारी संगठनले विभिन्न बहाना बनाएर अन्य कर्मचारीहरुबाट पैसा उठाउने गर्दछन् । निजामती सेवा दिवस २०८१ को कार्यक्रममा ५ सयको टिकट बिक्रीवितरण गरिएको थियो । कर्मचारी संगठनको नाममा हरेक कर्मचारीले पटक–पटक पैसा खर्च गर्नुपर्ने तर सरुवा, बढुवादेखि पुरस्कार र सम्मानमा भने सधैं भेदभाव गर्ने गरिएको गुनासाहरु त्यत्तिकै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *