कांग्रेसभित्र भावी सभापति बन्न नेताहरुको भिडन्त, डा. शशांक कोइराला सभापति बन्न गरे खुलासा

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशनमा भावी सभापति बन्नेको लागि नेताहरु लिगलिगे दौडमा लागेका छन् । यसै विषयलाई लिएर कांग्रेसमा संस्थापन पक्ष र इतरपक्षबीच विगतदेखि रस्साकस्सी चलिरहेको थियो । भावी सभापतिको लागि विभिन्न नेताहरुले दाबी गरिरहँदा अहिलेसम्म चुपचाप बसेका कांग्रेस नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले १११ औं वीपी जयन्तीको अवसरमा बोल्दै आगामी १५ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने खुलासा गरेका छन् ।

सुन्दरीजलस्थित वीपी संग्राहलयमा आयोजित १११ औं वीपी जयन्ती कार्यक्रममा प्रमुख अथिति कांग्रेस सभापति शेरबहादुर देउवा रहेका थिए । सभापति देउवा अतिथि भएको कार्यक्रममा कांग्रेस नेता तथा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफू भावी सभापति बन्ने घोषणा गरेपछि कांग्रेसभित्र तरंग छाएको छ । पूर्वपराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ सुजाता कोइरालाले डा. शशांक र डा. शेखर कोइराला दुई दाइमध्ये एकजनालाई मिलाएर सभापति बनाउने वावरण म मिलाउँछु भनिरहँदा डा. शशांक कोइरालाले आफू सभापतिको उम्मेदवार हुने दावी गरेपछि डा. शेखर भने अलमलमा परेका छन् ।

उता, भावी सभापतिको लागि महामन्त्री गगनकुमार थापा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, ज्ञानेन्द्र बहादुर कार्की, पूर्णबहादुर खड्का लगायतका नेताहरुले दावी गर्न थालेका छन् । तर, कार्यक्रमका प्रमुख अतिथि रहेका सभापति देउवा भने यस विषयमा मौन देखिएका थिए । कांग्रेसभित्र भावी सभापति को हुने भन्ने विषयमा हानथाप चल्न थालेको छ । उता, देशलाई राजनीतिक स्थायित्व दिन, सुशासन कायम गरी आर्थिक समृद्धितिर अगाडि बढाउन र भ्रष्टाचार, विकृति विसंगतिको अन्त्य गर्नको लागि संविधान संशोधन गरेर अगाडि बढ्ने भनेर कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार बनाएका थिए । सरकार बनेको दुई महिना बितिसक्दा पनि सरकारको काम गराई र नेताहरुको शैली हेर्दा त्यो सम्भव देखिँदैन ।

कांग्रेसले जनताका जल्दाबल्दा समस्या समाधान गर्ने भन्दा पार्टीको १५ औं महाधिवशेनको विषय उठाएर आन्तरिक कलहमा रुमलिएको छ । सरकारको नेतृत्व गरेको एमाले भने आगामी आमनिर्वाचनलाई केन्द्रमा राखेर ‘मिसन ८४’ को खेलोफड्को गरिराखेको छ । एमालेले सरकार बनाउने बेलामा ल्याएको सुशासनको विषयलाई थाति राखेर कसरी हुन्छ २०८४ सालको आमनिर्वाचनमा पहिलो पार्टी बन्ने दाउपेचमा लागिपरेको छ । कांग्रेस र एमालेको रवैया देख्दा उनीहरुले उठाएका राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका विषयहरु अलपत्र पर्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *