युवा पुस्ता फेसनेवल बन्दै गएको छ । खासगरी पुस्तान्तरणसँगै खान, पान, पहिरनमा व्यापक परिवर्तन हुँदै गएकोले फेसनेवल कपडा आयातसमेत बढेर गएको छ भने पहिरनमा व्यापार विविधीकरण पनि हुँदैछ । जसले रोजगारी र उद्यमशिलता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । फेसनेवलताकै कारण फेशन डिजाइनिङ नयाँ विधाका रुपमा अगाडि आएको छ । फेसन डिजाइनरको माग पनि बढ्दै गएकोले फेसन डिजाइनिङ सम्बन्धी कलेज तथा तालिम केन्द्रहरु संचालनमा आएका छन् । खासगरी फेसन डिजाइनिङ क्षेत्रमा महिलाहरु सलग्नता बढी देखिएको छ । धेरैजसो महिलाले फेसन डिजाइनिङलाई सोखका रुपमा लिने गरेका छन् । पुरुषहरुको तुलनामा महिलाहरु बढी फेसनेवल हुने गरेका कारण पनि उनीहरु यस क्षेत्रमा बढी आकर्षित हुने गरेको बताइन्छ ।
सानैदेखि फेसन डिजाइनिङतर्फ आकर्षित हुनुभएकी काभ्रेपलाञ्चोककी इनु थापा सानैदेखि आफू पनि फेसनेवल हुनुहुन्थ्यो । अरुभन्दा फरक पहिरन रुचाउने, टिपटप भएर हिँड्ने उहाँको सोख नै थियो । सोही कारण उहाँले फेसन डिजाइन क्षेत्र रोज्नुभयो । प्लस टु सम्मको अध्ययनपछि काठमाडौंस्थित आइइसी फेसन कलेबाट फेसन डिजाइनिङमा स्नातक गर्नुभएकी थापाले त्यसपछि यही क्षेत्रलाई निरन्तरता दिँदै आउनुभएको छ । लामो समयदेखि काठमाडौंमा ‘अल–तिजारा बुटिक’ संचालन गर्दै आउनुभएकी उहाँले फेसन डिजाइनिङ प्रशिक्षण पनि दिनुहुन्छ ।
उहाँले काठमाण्डौमा ‘अल–तिजारा बुटिक’ सञ्चालन गदैै आएनुभएको छ । ट्राभल एजेन्सी व्यवसाय र बुटिक सँगसँगै अघि बढाउनुभएकी थापालाई दुबै क्षेत्रले राम्रो साथ दिएको छ । यसैमा लागेर विभिन्न क्षेत्रबाट विभिन्न सम्मान, अवार्ड र पुरस्कार प्राप्त गर्नुभएको छ । फेसन डिजाइनिङ क्षेत्रबाट नाम, दाम र सन्तुष्टी मिलेको उहाँ बताउनुहुन्छ । व्यवसायका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय थापा नेपाल जेसिसतर्फबाट नेपालका लागि कार्यक्रम संयोजक, बालबालिकाको हितमा काम गर्ने संस्था किवानिस नेपाल होराइजनको उपाध्यक्षका साथै अल–तिजारा बुटिक प्रालिको अध्यक्ष, वैदिक टुर्स एण्ड ट्राभल्सको प्रबन्ध निर्देशक हुनुहुन्छ । उहाँले फेसन डिजाइनिङमार्फत धेरै महिलाहरुलाई उद्यमशिल बनाउनुभएको छ ।
साथै, महिला सशक्तिकरणमा टेवा पु¥याउँदै आउनुभएको छ । काभ्रेपलान्चोक जिल्लाको तत्कालिन कानपुर गाउँ पञ्चायत–९ कालापानी (हाल नवबुद्ध नगरपालिका ५ स्थित श्री सातमूल माध्यमिक विद्यालय बाहोरेमा प्रारम्भिक शिक्षा हासिल गर्नुभएकी थापाको बाल्यकाल भने निकै संघर्षपूर्ण थियो । मध्यमवर्गीय किसान परिवारमा जन्मिुनभएकी उहाँले विद्यालयबाट फर्किएपछि आमालाई घरधन्धामा सघाउनुथ्र्यो । दैनिकरुपमा बिहान तीन बजे उठेर गाई–भैंसी दुहुने, घरनजिकै रहेको खुवा मिलमा गएर दुधको खुवा बनाउने र बेच्ने गर्नुपथ्र्यो तर कामको बोझका बाबजुद पनि पढाइमा उहाँ अब्बल हुनुहुन्थ्यो ।
वि.सं. २०५६-०५७ सालताका काठमाडौंमा रहनुभएका बुबाका लागि खाना बनाउन, कोठा सरसफाइ गर्न भनेर गाउँबाट काठमाडौं आउनुभएकी थापा त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा छ मा भर्ना हुनुभयो । २०६२ सालमा एसएलसी र पछि कक्षा १२ सम्मको अध्ययन त्यहीँबाटै पूरा गरेर आईईसी फेसन कलेजमा फेसन डिजाइनसम्बन्धी शिक्षा लिनुभएको हो । त्यहाँबाट फेसन डिजाइनिङको १५ महिने स्नातक तह पूरा गरेपछि नेपालकै पहिलो फेसन डिजाइन स्कूल बाँसबारीस्थित नमूना फेसन कलेजबाट तीनमहिने गाउन स्पेशल कोर्ष पनि लिनुभएको थियो ।
के हो फेसन डिजाइनिङ ?
थापाका अनुसार फेसन डिजानिङ भनेको शरीर सुहाउँदो पहिरन बनाउने कला हो । विगतमा नेपाली समाजमा फेसन डिजानिङ कलाकार, सेलिब्रेटी र उच्चवर्गका लागि मात्रै हो भन्ने सोचाइ थियो तर समय परिवर्तनसँगै सबै बर्ग र समुदायका लागि अनि आवश्यक बन्दै गएको छ । त्यसो त फेसन र पहिरन धर्म, सस्कृति र परम्परासँग पनि जोडिएको छ । नेपालमा विभिन्न जात जाति र भौगोलिक अवस्थाअनुसार फरक फरक पहिरनको प्रचलनमा रहेको छ । भौगोलिक र जातीय विविधितासँगै पहिरन विविधिताले पर्यटन पवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
थापा भन्नुहुन्छ ‘कतिपयले नयाँ पुस्ता अधिक फेसनेवल बन्दा समाजमा बिकृति, बिसंगति बढेको गुनासो पनि गर्ने गरेको पाइन्छ । तडकभडकपूर्ण भन्दा पनि समय, स्थान र परिस्थितिअनुसारको पहिरनमा ध्यान दिनुपर्छ । आफ्नो वर्ण, उचाइ र शारीरिक बनावटअनुरूप पहिरन हुनुपर्छ ।’ उहाँका अनुसार फेसन वा पहिरन आम मानिसले जुन कपडा वा पहिरन लगाइरहेका हुन्छन्, त्यो पहिरन पनि कुनै डिजाइनरले नै डिजाइन गरेका हुन्छन् । फेसन उद्योगमा डिजाइनरहरूले तयार पारेको योजनाअनुसार कपडा उत्पादन गरेर बजार पठाइन्छ ।
बढ्दैछ माग
पछिल्लो समय फेसन डिजाइनिङको माग बढ्दै गएको छ । सुरु सुरुमा काम नपाएर विदेशिनुपर्ने वा वेरोजगार बन्नुपर्ने अवस्था थियो तर कुशल फेसन डिजाइनरले नेपालमै बसेर आफ्ना सिर्जनशिलता स्वदेशमात्र नभइ विश्व बजारमा बेच्न सक्ने थापा बताउनुहुन्छ । आफू स्वरोजगार बनेर अरुलाईसमेत रोजगारी दिन बनाउन सकिन्छ । सोही कारण पनि पछिल्लो समय धेरै बुटिकहरु संचालनमा आइरहेको अवस्था छ । फेसन डिजाइनिङ कपडामात्रै सीमित छैन । फेसन डिजाइनरले एक्पोर्ट हाउसेज, गार्मेन्ट, टेक्सटाइल उद्योग, लेदर कम्पनी, कस्टम डिजाइनिङ, पर्सनल स्ट्याइलिङ, फेसन सो, ज्वेलरी उद्योग, मिडिया, कोरियोग्राफरलगायत विभिन्न काम गर्न सक्ने उहाँ बताउनुहुनछ ।
थापाका अनुसार युवा पुस्ता फेसनप्रति निकै सचेत र सम्वदेनशील छ । कुन कार्यक्रममा जाँदा कसरी प्रस्तुत हुने, कस्तो पपहिरना वा कपडा लगाउने, कलर कम्बिनेसन कसरी गर्ने, बेल्ट, घडीलगायत एसोसरिजहरू कसरी कभर गर्ने भन्ने कुरा उनीहरु निकै ध्यान दिन्छन् । कतिपयले त फेसन डिजाइनरसँग परामर्श गरेर पहिरन छनौट गर्ने गरेको पाइएको छ । फेसनलाई विगतमा ट्रेन्डका रूपमा पनि लिइन्थ्यो । बजार जे आयो, जे चल्तीमा छ, त्यही पहिरनलाई फेसनेबल भनिन्थ्यो तर अहिले स्किन टोन, हाइट, फेसनको आकारलगायतले निर्धारण गर्छ । अरूले के लगाए भन्ने नभइ आफूलाई कस्तो सुहाउँछ र आरामदायी महशुस हुन्छ भन्ने कुराले अर्थ राख्ने उहाँको भनाइ छ । कुनै पनि कार्यक्रमको माहोल बनाउन, गुड भाइभ्स, चार्मिङमा पहिरनको महत्वपूर्ण भूमिका हुन्छ । सिर्जनशिल फेसन डिजाइनरले स्किन टोन, हाइट, वेट हेरेर फेसन डिजाइनिङ गरेका हुन्छन् ।
फेसन डिजाइजिङको भविश्य
थापाका अनुसार पछिल्लो समय फेसन डिजाइनिङ धेरै संभावना बोकेको क्षेत्रका रुपमा अगाडि आएको छ । स्वदेशमात्रै नभइ विदेशमासमेत यस क्षेत्रको जनशक्तिको माग उच्च छ । विश्वको जुनसकै कुनामा गएर काम गर्न सकिन्छ । आम्दानी त राम्रो छँदैछ, इज्जत र मान सम्मान पनि पाउने भएकोले यसतर्फ युवा आकर्षण बढेर गएको छ । विश्वमा नयाँ–नयाँ पहिरन डिजाइन आइरहन्छन् । जतिसुकै राम्रो डिजाइनिङ किन नहोस्, त्यो सधैं चल्दैन, केही वर्षसम्म चल्ने हो । राष्ट्रिय तथा अन्तर्राष्टिय बजार ट्रेण्ड हेरेर काम गर्नुपर्ने हुन्छ । फेसनको ट्रेण्ड देशअनुसार फरक फरक हुनसक्छ । त्यसैले डिजाइनर प्रतिस्पर्धामा खरोरुपमा उत्रिन सक्नुपर्छ ।