मन्त्री गुप्ता कर्मचारी सरुवाबाट मालामाल

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालय दिनप्रतिदिन नाजुक बन्दै गएको छ । यस मन्त्रालयले कर्मचारीलाई नियन्त्रणमा राख्न सकेको छैन । विभिन्न पार्टीबाट बनेका मन्त्रीहरुले पनि कर्मचारीलाई उचित व्यवस्थापन गर्न नसकेर भद्रगोल अवस्थामा छ । केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् रामकुमार गुप्ता । मन्त्री गुप्ताको लापरबाहीले यतिबेला संघीय मन्त्रालय अस्तव्यस्त बन्दै गएको छ । मन्त्री गुप्ताले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी सरुवा गर्दा मोटो रकमको डिल गर्ने गरेको आरोप छ ।

गत हप्ता मात्रै राजश्व अन्तर्गतका ३५ जनाभन्दा बढी कर्मचारी अन्धाधुन्दा सरुवा गरेर तमासा देखाएका थिए । अर्थमन्त्रालय अन्तर्गत पर्ने भन्सार र राजश्वमा संघीय मामिलामन्त्री गुप्ता आफैले कर्मचारी सरुवा गरेको आरोप छ । स्थानीय तहमा मात्रै दुई साता अगाडि एक सय भन्दा बढी कर्मचारी आफैले डिल गरेर सरुवा गरेका थिए । कर्मचारीहरु पनि के कम त्यो सरुवालाई १५ दिन नपुग्दै उल्टाएर अन्य मालदार ठाउँमा जानको लागि विभिन्न सोर्सफोर्स लगाएर फेरि संघमै फर्किएका छन् । असोज महिनाभित्र कुन कुन कर्मचारी कहाँ कहाँ पुग्ने हुन् त्यो पनि निश्चित छैन । संघीय मन्त्रालयमा यतिबेला कर्मचारी सरुवाको गाईजात्रा देखिन्छ । एकातिर कर्मचारी सरुवामा मन्त्री आफैले रकम डिल गर्ने गरेको छन् भने अर्कोतिर सचिव र राजनीतिक दल निकट कर्मचारी संगठनका नेताहरुले डिल गर्ने गरेकाले कर्मचारीहरु ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छो बाबुको अनुहार’ जस्तो बन्न पुगेका छन् ।

कर्मचारीहरु पनि आफूलाई पायक पर्ने र मालदार ठाउँमा जान लागि परिरहेका छन् । नासु, अधिकृत र उपसचिवहरुलाई सहसचिवहरुले सरुवा गर्दछन् भने सहसचिवहरुलाई सचिवले सरुवा गर्ने प्रावधान छ । तर, मुख्यसचिव र सचिवहरुको नजरमा नपरेका कर्मचारी सधैं पाखा लाग्ने गरेका छन् । एकद्वार प्रणाली नहुँदा कर्मचारी सरुवा सधैं लथालिङ्ग हुने गरेको छ । कोही खटाएको ठाउँमा नजाने, कोही सरुवा भएको ठाउँबाट २ महिना पनि नबसी सोर्सफोर्स लगाएर मन्त्रालयमै फर्किने गरेका छन् ।

दूर्ग, ग्रामीण क्षेत्रमा योग्य कर्मचारी नजाँदा सर्वसाधारणले हैरानी खेपिरहनुपरेको छ । तर, सुगम र मालदार ठाउँमा भने आवश्यकता भन्दा बढी कर्मचारी थुप्रिएर बस्ने गरेका छन् । त्यसको समाधान गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सधैं चुकिरहेको छ । जुनसुकै पार्टीबाट मन्त्री बनेतापनि कर्मचारी सरुवामा रकमको चलखेल हुने भएपछि कर्मचारी सरुवा बढुवामा सधैं भाडभैलो हुने गरेको छ । उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १ सयभन्दा बढी उपसचिवहरु सरुवा गरेको छ । ती सरुवा हुने उपसचिवहरुले मोटो रकम बुझाएपछि गृह, जलस्रोत, सिंचाई, स्वास्थ्य, वन तथा वातावरण, शिक्षा, उद्योग, श्रम, भूमि जस्ता मालदार मन्त्रालयमा जान सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *