भूमि मन्त्रालयमा कर्मचारी सरुवामा मोलमोई

राजनीति समाचार

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवब निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐन, कानुन बनाएर सर्वसाधारण जनताको हितमा काम गर्नुपर्नेमा त्यो गर्न सकेका छैनन् । उल्टै भूमाफिया र विचौलियाहरुसँग मिलेमतो गरी भूमि आयोग गठन गर्नेदेखि नियमित हुने कर्मचारी सरुवामासमेत चलखेल गरिराखेका छन् । मन्त्रीको सचिवालयमा कार्यरत कर्मचारी र पीएहरु पनि कर्मचारी सरुवामा लागिपरेका छन् ।

त्यस्ता कर्मचारीलाई मन्त्रीले निगरानी गर्न सकेका छैनन् । भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालयमा विचौलियाहरुले लामो समयदेखि डेरा जमाउँदै आएका छन् । चाडवाड लागेसँगै मालदार अड्डामा कर्मचारी सरुवा गरेर आर्थिक लाभ लिनेहरुको ताँती पनि त्यत्तिकै छ । मालदार अड्डाका नासु, शाखा अधिकृत र उपसचिवहरु लामो समयदेखि आर्थिक चलखेलकै कारण डेरा जमाएर बसेका छन् । उनीहरुले अन्य कर्मचारीले जस्तो सरुवा हुनुपर्दैन । सम्बन्धित निकायका हाकिमहरुलाई नजराना बुझाएपछि १० औं वर्षसम्म एउटै अड्डामा डेरा जमाउन पाउँछन् । त्यस्ता अड्डाहरुमा भक्तपुर मालपोत, ललितपुर मालपोत, कलंकी मालपोत, डिल्लीबजार मालपोत, चाबहिल मालपोलगायत उपत्यकाभित्रका नापी र मालपोत कार्यालयहरु पर्छन् ।

देशैभर रहेका मालपोत र नापी कार्यालयमा पनि यिनीहरुकै हालीमुहाली चल्ने गरेको छ । यस्ता मालदार ठाउँमा लामो समय डेरा जमाउने डिल्लाबजार मालपोतका नासु दीपेश सुवेदी, नासु होमनाथ सिग्देल र शक्ति सेढाई अग्रपंत्तिमा रहेका छन् । उनी डिल्लीबजार मालपोतमा बसेको ७ वर्ष भइसकेको छ । त्यस्तै यातायात कार्यालयमा १० औं वर्ष बसेका बखतबहादुर विष्ट केही समय ललितपुर मालपोतमा बसेपछि अहिले डिल्लीबजार मालपोत कार्यालयमा आइपुगेका छन् । त्यसैगरी भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत पर्ने नापी र मालपोत कार्यालयका कर्मचारीहरु सरुवा नभई १० औं वर्ष एकै ठाउँमा बस्ने गरेका छन् । तर, अन्य मन्त्रालयका कर्मचारीहरु भने ६÷६ महिनामा सरुवा हुने गरेका उदाहरणहरु थुप्रै छन् ।

मन्त्री अधिकारीले १० औं वर्ष एउटै कार्यालयमा बस्नेलाई सरुवा गर्न सकेका छैनन् तर सोर्सफोर्स र पैसा खुवाउन नसक्ने कर्मचारीहरुलाई सरुवा गरेर अन्यत्र पठाउन लागिपरेका छन् । असोज १५ गतेभित्र ७० देखि ८० जना नासु, शाखा अधिकृत र उपसचिवहरुको सरुवाको लिस्ट तयार हुँदैछ । त्यो लिस्टमा परेका जसले मोटो रकम बुझाउन सक्छ उनीहरुलाई मालदार अड्डामा सरुवा गर्ने चलखेल हुँदैछ । त्यसको लागि मन्त्री, सचिवालय कर्मचारी र विचौलियाहरु रातारात लागि परेका छन् । अब सरुवा हुन बाँकी एक हप्ता मात्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *