अघिल्लो केही श्रृखला देखि लुम्वीनी प्रदेशका २ जिल्लाको भ्रमणका सन्दर्भलाई समेट्ने कोशिस गरिएको छ । यस प्रदेशका ३ वटा स्थानीय तहमा पुग्ने र छलफल गर्ने मौका मिलेको थियो । यो मौका अमेरिकी सहयोगमा सञ्चालित जल जंगल कार्यक्रमले जुटाइ दिइको थियो । नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण् र नेतृत्व विकास सम्वन्धी तालिम सञ्चालन गर्ने कार्यक्रम थियो । २ पालिकामा ८ वटा तालिम सञ्चालन गर्नु पर्ने थियो । यहाँ यानमाया गुरुङ्ग र म संलग्न रहेको एक टोली क्रियाशिल थियो । त्यसै गरी रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिकामा ४ वटा तालिम सञ्चालन गर्नु पर्ने थियो । यहाँ भने रुकैया खातुन पनि हाम्रो टोलीमा समावेश हुनु भएको थियो ।
सुस्ताबाट लुम्बिनी
नवलपरासी जिल्लाको सुस्तामा झण्डै २० दिनको बसाई पछि रुपन्देही तिर लागियो । रुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिका अबको गन्तव्य थियो । विश्व प्रशिद्ध लुम्विनी क्षेत्र यहि पर्दछ । गौतम वुद्धको जन्मस्थल भएको स्थानीय तह भएकोले यसको चर्चा हुने गर्दछ । हुनत गौतम वुद्धको दरबार कपिलवस्तु जिल्लाको तिलौराकोटमा पर्दछ । विश्व प्रशिद्ध भएको लुम्विनी चाँही यहाँ पर्दछ । वुद्धको आमा मायावती घरबाट माइती रहेको स्थल देबदह जाने भनि हिडिछिन् । यहाँ आइपुग्दा वेथा लागेछ र यहि गौतम वुद्धको जन्म भएको रहेछ ।
लुम्विनी क्षेत्रमा केही पटक यात्रा गरेको भएता पनि यहि बस्ने यहाँका समुदायसँग कुराकानी तथा भलाकुसारी गर्ने मौका अहिलेसम्म मिलेको थिएन । यस पटक झण्डै १० दिन यहाँ बस्ने कार्यक्रम निधो भएको थियो । यहाँ अधिकांश होटलका नाममा बुद्ध जोड्ने चलन रहेछ । पूर्वको सप्तरी जिल्लामा पर्ने कोशी नदीको किनारमा एक वजार छ । त्यहाँ पेडा नामक मिठाइकोलागि प्रसिद्ध छ । त्यहाँ बाजेको पेडा, उही बाजेको पेडा, असली बाजेको पेडा जस्ता विभिन्न नामाकरण गरे जस्तै यहाँ पनि वुद्ध नाम नजोडिएको कमै होटल तथा व्यवसायहरु भेटिन्छन् । वुद्ध टाउन, न्यु वुद्ध, सानो वुद्ध जस्ता वुद्ध जोडिएका साइनवोर्डहरु प्रशस्तै भेटिन्छन् ।
लैङ्गिक मैत्री शौचालय
लुम्विनी सांस्कृतिक नगरपालिकामा १३ वटा वडा रहेका छन् । ४ वटा स्थानमा २,२ दिनको तालिम सञ्चालन गर्नु पर्ने थियो । यहाँ धेरै अवधी भाषा बोलिन्छ भन्ने चर्चा भएकोले तालिम सञ्चालनमा कठिनाइ हुने हो कि भन्ने चिन्ता थियो । तथापी कविलवस्तु निवासी रुकैया खातुन र मैले तालिममा सहजिकरण गर्ने मेसो मिलाइएको थियो । रुकैया खातुन अवधी भाषाको समेत जानकार हुनु भएकोले सहज हुने अपेक्षा लिएको थिएँ ।
लुम्विनी सांस्कृतिक नगरपालिकाको नेतृत्वसँगको परामर्शवाट सवै वडाहरुलाई समेट्ने गरी ‘जैविक विविधता संरक्षणकालागि लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र नेतृत्व विकास तालिम सञ्चालन गर्ने सल्लाह भयो । यो तालिम अमेरिकी सहयोगमा सञ्चालित जल जंगल कार्यक्रम अन्तरगत सञ्चालन गरिएको थियो । लुम्विनी सांस्कृतिक नगरपालिका वडा नं. १० स्थीत नगरको सभाकक्षमा, वडा नं. ३ पडेरियामा रहेको सामुदायिक सिकाई केन्द्र, वडा नं. १२ मा रहेको दलित भवन र वडा नं. ८ को वैठक कक्षमा तालिम सञ्चालनको व्यवस्था मिलाइएको थियो ।
लुम्विनी क्षेत्र भित्र लैङ्गिक मैत्री स्मार्ट सार्वजनिक शौचालय पनि देख्न पाइयो । यहाँ पाउने सुविधा सहितको जानकारीमुलक सामाग्री समेत राखिएको थियो ।
सुकन्या बचत कार्यक्रम लुम्विनी सांस्कृतिक नगरपालिकामा दलित समुदायको छोरी जन्मेको ६ महिना भित्र बैंक खाता खोली त्यसमा रु ५ हजार जम्मा गरी नगरपालिका पेश गर्नु पर्दछ । त्यसमा नगरपालिकाले रु २० हजार थपि दिन्छ । त्यो मुद्दती खातामा रहन्छ । खातावाला छोरीको उमेर २० वर्ष पुगे पछि त्यो रकम निकाल्न पाइने व्यवस्था छ । छोरीले रकम भुक्तानी लिन आउँदा एसइइ पास गरेको हुनु पर्ने शर्त राखिएको छ । यस कार्यक्रमलाई ‘सुकन्या बचत कार्यक्रम’ नामाकरण गरिएको रहेछ । २०७४ सालका जनप्रतिनिधिले यो सोच अगाडी वढाएका रहेछन् । यसबाट छोरी प्रतिको हेराई र उनीहरुको शैंक्षिक एवं आर्थिक विकासकालागि सकारात्मक देखिन्छ ।
मेयर कन्या विदाई कार्यक्रम
लुम्विनी सांस्कृतिक नगरपालिकामा २० वर्ष पुगेकी छोरीको विवहामा नगरपालिकाले रु ३० हजार नगद सहित वेहुली अन्माउने व्यवस्था गरिएको रहेछ । यो कार्यक्रमलाई ‘मेयर कन्या विदाई कार्यक्रम’ राखिएको छ । तर यस्तो वेहुलीले ९ कक्षा पास गरेको हुनैं पर्ने रहेछ । यी अवधारणका विकासका बेलामा नगर प्रमुख मनमोहन चौधरी हुनुहुँदो रहेछ । यी दुई कार्यक्रमहरुले लैङ्गिक मैत्री स्थानीय तह हुन खोजेको देखिन्छ ।
आमा गाउँ
हामीले सञ्चालन गर्ने तेस्रो तालिम आमा गाउँमा भन्ने सुनियो । त्यो गाउँ अहिलको १२ नंं वडा हो । आमा गाउँ सुन्नासाथ प्यारो लाग्यो । किन आमा राखियो । कौतुहलता थियो । अहिलेसम्म यस्तो नाम भएको गाउँ सुनिएको थिएन । सोध्दै हामी त्यहाँ पुग्यौं । यहाँ विद्यालयको नाम पनि आमा नैं रहेछ । २०७४ साल अघि यो आमा गाविस रहेछ । त्यस पछि १२ नंं मा रुपान्तरण भएछ । यो १२ नंं वडा आमा गाउँबाट परिचित छ ।
आमा गाउँ किन रह्यो ? मेरो प्रश्नमा उत्तर यहि भन्ने केही पनि रहेनछ । केहीको अनुमान थियो । यहाँ आपका बोटहरु धेरै थिए । आपलाई त्यता आम भनिंदो रहेछ । आम आम भन्दा भन्दै आमा भएको हो कि भन्ने अनुमान पनि रहेछ । जे भए पनि आमबाट आमा भएको भन्नु भन्दा आमा नैं भनेको नैं राम्रो सुनियो देखियो । यहाँ विद्यालयको नाम आमा छ अरु धेरै संरचनाको नाम आमाबाट राखिएको छ । यस वडामा राष्ट्रिय वन नैं छैन । तैपनी केही विगाहा समेटेको जग्गा कसैले छाडी दिएकोले त्यहाँ विरुवा लगाएर आमा वन वाटीका वनाएको रहेछ । वनका रुख देखिने भनेको त्यहाँ मात्र हो । यो आमा गाउँ भित्र नैं आमी टोल पनि रहेछ ।
दलित भवन
हामीले तालिम सञ्चालन गरेको भवनको नाम दलित भवन थियो । आमा गाउँमा दलित भवन । किन दलित भनियो ? प्रश्न थियो मेरो । दलितको वस्ती वाक्लो रहेको तर ती घरहरुमा केही मान्छे जुट्दा बस्न मिल्ने ठाउँ नभएको गैर दलितको घरमा जान नपाइने भएकोले गाविसको लक्षित कार्यक्रमलाई आएको बजेटबाट घर बनेकोले दलित भवन नाम राखिएको रहेछ । यहि घरमा दलितहरु जम्मा हुन्थ्ये । छलफल गर्दथ्ये । आवश्यक परे भोज भतेर पनि लगाउँथ्ये होलान् । यो घर दलितको स्वतन्त्रताकोलागि अभ्यास गर्ने थलो रहेछ । तर अहिले पहिलाको जस्तो भेदभाव कमि भएको कुरा दलितहरुले नैं वताएका थिए ।
२ वडाको एकै कार्यालय
यस नगरपालिका वडा नं. ७ र ८ कार्यालय एउटै भवनमा मात्रै होइन । एउटै कोठामा छ । २ जना वडा अध्यक्ष एकै कोठामा वस्नु हुन्छ । वडा नं. ७ को अध्यक्ष धु्रप यादब र वडा नं. ८ को राजेन्द्र जयसवाल हुनुहुन्छ । दुवै जना एकै कार्यालय मात्र हैन एकै कोठामा कुराकानी गर्ने मौका मिल्यो । उनीहरु एकै दलबाट जितेका पनि हैनन् । तैपनि मिलेर एकै कोठाबाट सेवा प्रवाह गरिरहेका छन् । अहिले कार्यालय भएको स्थान चाँही वडा नं. ८ रहेछ । वडा नं. ७ को अर्को भवन बनिसकेको छ तर सरि सकेको अवस्था छैन ।
वन नैं नभएको नगर
यस नगरपालिका क्षेत्रमा राष्ट्रिय वन छैन । सार्वजनिक केही जग्गाहरु छन् त्यहाँ विरुवा लगायर हुर्काउने कोशिस गरिएको छ । त्यसमा पनि सामुदायिक वन वनाउने कोशिस पनि भएको छ । टुक्राटुक्री क्षेत्रलाई सामुदायिक वनको अभ्यास देख्दा रिहर्सल जस्तो मात्र लाग्दो रहेछ । लुम्विनी साझेदारी वनको कार्यक्षेत्र भने यो पालिका पनि पर्दोरहेछ ।
महिला साक्षरता दर असाध्यै कम रहेको यस नगरपालिकामा स्थानीय तहको निर्वाचन पछि लैङ्गिक रुपमा संवेदनशिल हुने कोसिस गरेको पाइन्छ । महिला सशक्तिकरणकालागि अझ धेरै काम गर्नु पर्ने नैं छ ।