जिल्लामा शान्ति व्यवस्था कायम राख्न तल्लीन छौं

अन्तरवार्ता राजनीति

पोखरा चार दिनदेखि तनावग्रस्त छ । रास्वपा सभापति रवि लामिछाने पक्राउको विरोधमा समर्थकहरूले आइतबार पनि पोखरामा प्रदर्शन गरेका छन् । उनीहरूलाई तितरबितर गर्न प्रहरीले पानीको फोहोरासँगै अश्रुग्यास प्रहार ग-यो । सुरक्षालाई मध्यनजर गर्दै कास्की प्रशासनले आइतबार पोखराका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ । सिडिओ भरतमणि पाण्डेले आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सहिदचोक आसपासका क्षेत्र र जिल्ला प्रहरी कार्यालय रहेको पोखरा– ४ गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन् ।

यी क्षेत्रमा पाँचजनाभन्दा बढी जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । रास्वपा समर्थकरूको प्रदर्शनलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो । तर, प्रदर्शनकारीहरूले निषेधित क्षेत्रमै प्रदर्शन गरेपछि प्रहरीसँग केहीबेर धकेलाधकेल भएको थियो । प्रहरीले पानीको फोहोरासँगै अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले पोखरामा सुरक्षा व्यवस्था कडा पारेको छ । शनिबारदेखि नै बजारका मुख्य–मुख्य चोकमा प्रहरी परिचालन गरिएकामा आइतबार सुरक्षाकर्मीको संख्या बढाइएको थियो । सर्वदलीय बैठक राखिसकेका प्रमुख जिल्ला अधिकारी पाण्डेले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको बताए । सहकारीपीडित पनि आन्दोलनमा छन् । सिडिओ भरतमणि पाण्डेसँग विभिन्न सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश :

० पछिल्लो समय पोखराको अवस्था कस्तो छ ? आन्दोलन कसरी नियन्त्रण गर्नु भएको छ ?
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकहरुको प्रदर्शनलाई रोक्न कास्की जिल्ला प्रशासनले पोखराका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ । पोखराको शहीदचोक तथा गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी छ । प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेको छ। ४ गते बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । रास्वपाका नेता–कार्यकर्ताले शनिबारदेखि नै पोखरामा प्रदर्शन गरिरहेका छन् । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई ६ दिन हिरासतमा राखी अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । म्याद थपपछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गरेको छ ।

० रवि समर्थक र सहकारी पीडितको बेग्लाबेग्लै प्रदर्शन गरिरहेका छन्, तनावग्रस्त बन्यो पोखरा ?
सूर्यदर्शन सहकारीको बचत ठगी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविलाई पक्राउ गरेको थियो। लगत्तै, रविका समर्थकहरू पोखरा पुुगेर प्रदर्शन जारी राखेका छन्। रवि निर्दोष भएको भन्दै न्याय दिनुपर्ने उनीहरूको माग छ। उता, सूर्यदर्शन सहकारीका पीडितले पनि प्रदर्शन गरिरहेको छन्। यी दुवै समूहको प्रदर्शनस्थलको दूरी लगभग ५० मिटरको मात्रै छ। प्रहरीले दुवैतर्फका आन्दोलनकारीहरुलाई रोकिरहेको छ। सभापति रवि लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेपछि रास्वपा कार्यकर्ताहरू आक्रोशित बनेका छन्। शनिबार दिनभरपनि रास्वपाले पोखरामा प्रदर्शन गरेको थियो। रास्वपाका समर्थक र प्रहरीबीच धकेलाधकेल समेत भएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको छ। समर्थकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै धकेलाधकेल गरेपछि अवस्था तनावग्रस्त बनेको छ। महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै हामीले निषेधाज्ञा जारी गरेका छौं। तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको छ । तर पनि हामी नियन्त्रण गर्न लागिरहेका छौं ।

० नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि कसरी कसरी नियन्त्रणमा लिनु भएको छ ?
नाराबाजी सहित भीड अनियन्त्रित हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । पानीको फोहोरा र अश्रुग्यास हानेपछि आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । अटेरी गरे थप बल प्रयोग गर्न बाध्य हुने प्रहरीले माइकिङ गर्दै चेतावनी दिइरहेको छ ।

० जेठ २१ बट जिल्लाको नेतृत्व गर्दै हुनुहुन्छ । तपाई आएपछि के कस्ता सुधार भएका छन् ?
जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा प्रवाहमा उल्लेख्य सुधार गरेको छ । कार्यालयबाट प्रदान गरिने सेवालाई प्रभावकारी, जनमुखी र गुनासोरहित बनाउन टाइम कार्ड लागू गर्नुका साथै डेडिकेटेड कक्षको व्यवस्था समेत गरिएको छ । सेवा प्रवाहमा देखिएका समस्या तथा चुनौतीहरू समाधान गर्न सेवा सहजीकरण समिति गठन गरी साप्ताहिक रूपमा बैठक बसी समस्या समाधान गर्ने गरिएका छ । कार्यालयले नयाँ र प्रतिलिपि नागरिकता प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, ई–पासपोर्ट लगायतका सेवा प्रवाहको लागि टाइम कार्ड लागू गरिएको निवेदन दिएको दिनमा नै सेवा दिने व्यवस्था मिलाएको छ ।

यसैगरी संशोधित नागरिकता ऐनमा थपिएका प्रावधान बमोजिम जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका नागरिकका सन्तानहरूलाई वंशजको आधारमा नागरिकता प्रमाण पत्र दिन छुट्टै डेडिकेटेड कक्षको व्यवस्था गरिएको छ । सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण, लागू औषध ओसार पसार नियन्त्रण, साना हतियार नियन्त्रण लगायत अवैध व्यापारलाई निरुत्साहित गर्न जिल्ला धिकारीसँग नियमित संवाद एवम् सीमा सुरक्षा बैठक बसी समन्वयात्मक डङ्गबाट कार्य भएको छ । कार्यालयमा सेवा ग्राहीहरूको लागि प्रतीक्षालय, नागरिकता र ई–पासपोर्ट सेवाको लागि छुट्टाछुट्टै प्रतिक्षाकक्ष, टेलिभिजन, पानी र वाईफाईको व्यवस्था गरिएको छ ।

० सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
जिल्ला प्रशासन कार्यालय जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय हो । जिन्दगीमा मान्छे एकपटक जिल्ला प्रशासन कार्यालय पुगेको नै हुन्छ । यहाँ जिल्लाभरका सबै प्रकारका सेवाग्राही आउनुहुन्छ । हाम्रो कार्यालय सेवा दिने अड्डा हो । जिल्लाका सबै जनता नै हाम्रा लागि सेवाग्राही हुन् । त्यही भए सबै किसिमका सेवाग्राही आउँछन् । दूरदराजमा हुने मानिसहरू पनि सेवाको लागि आउँछन् । शिक्षित अशिक्षित दुवै आउँछन् । त्यसकारण सेवा प्रवाह गर्दा आमजनताको भावना बुझेर सेवा प्रवाह गर्ने संयन्त्र हामीले बनाएका छौं । हामीले सेवाग्राहीको भावना, यहाँको परिवेश, जनताको चाहना, सरकारप्रति हेर्ने दृष्टिकोण बुझेर सेवा प्रवाह गरेका हुन्छौं । सेवा प्रवाह गर्दा जनतालाई सरल र सहज हुने संयन्त्र बनाएका छौं । पछिल्लो समय पासपोर्टका लागि अनलाइबाट सेवा दिइरहेका छौं । यसमा पनि सहज पहुँच र धेरै कुर्न नपरोस् भनेर त्यही किसिमले हामीले सेवा प्रवाह गरिरहेका छौं । सेवाग्राही बस्ने, सेवाग्राहीमैत्री, गुनासो सुन्ने, अपांगहरूलाई सेवा दिने सन्दर्भमा छुट्टै कक्षको व्यवस्था गरिएको छ । शान्ति–सुरक्षा प्रवाह गर्ने पनि हाम्रो महत्त्वपूर्ण जिम्मेवारीमा पर्छ । शान्ति सुरक्षा प्रवाह गर्ने सन्दर्भमा सुरक्षा निकायको परिचालन, विपत् व्यवस्थापन उच्च प्राथाकिताको साथ गर्नेलगायत हाम्रा कोर फङ्सनमा पर्ने कामहरू जनमैत्री हिसाबले जनताको चाहानाअनुसारै प्रवाह गरेका छौं ।

० कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
म निजामती सेवामा झन्डै २२ वर्षदेखि छु । म २०५९ सालदेखि यस क्षेत्रमा छु र यहाँसम्म आइपुगेको छु । विगतमा स्थानीय विकाससँग सम्बन्धित निकायमा बढी काम गरेको छु । मैले विभिन्न क्षेत्रमा काम गरेको छु । विगतमा जनप्रतिनिधि नहुँदा स्थानिय तहको प्रतिनिधित्व गर्दा राजनीतिक दलहरूसँग नजिक र उहाँहरूसँग समन्वय गरेर काम गर्नुपर्ने अवस्था थियो । आज पनि जुन पदमा बसिरहेको छु यो पनि समन्वयकारी भूमिका निर्वाह गर्ने पद हो । पत्रकार, राजनीतिक दल सरकारवाला निकायलगायत महत्त्वपूर्ण पक्षसँग हामीले समन्वय गरेर काम गर्नुपर्ने अवस्था छ । यसका दौरान कतिपय स्थानमा दबाब नआउने होइन आउँछन् । यहाँ विभन्न दलका सरकारमा रहेका प्रतिपक्षमा रहेका दलका मानिसहरू सक्रिय छन् ।

उहाँहरूबाट कुनै दबाब अथवा सुझावहरू नआउने पनि होइन । त्यो कुरालाई हामीले कसरी लिने भन्ने कुरा महत्त्वपूर्ण हो । तर हामीले कानुनमा बसेर निर्णय गर्नुपर्ने हुन्छ । जिल्लाको वातावरण हेरेर कुनै विषयमा स्वविवेक निर्णय गर्ने हो । नभए हामी कानुनमै बसेर काम गर्नुपर्छ । आएको प्रेसरलाई कसरी लिने त्यो पक्षलाई कसरी कन्भिन्स गराउने भन्ने कुरा कार्यक्षमता र कार्यकुशलतामा भरपर्छ । विवेक प्रयोग गर्दा उहाँहरू गरेको केही कुरा अस्वभाविक होइन स्वभाविक पनि हुन्छ । तर त्यसले विद्यमान कानुन र जनमानसलगायत अन्य पक्षलाई प्रतिकूल असर गर्छ आफ्ना सीमा क्षेत्र र अधिकारबारेमा भन्दा उहाँहरूले गर्नैपर्छ भनेर प्रेसर गरिरहेको मैले पाउँदिनँ । दबाब भन्ने कुरा कुर्सीमा बस्ने मान्छेको कार्यकुशलतामा भरपर्ने कुरा हो । मैले दबाबलाई सामान्य रुपमा लिन्छु ।

० निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित ग¥यो ?
निजामती सेवा भनेको राष्ट्रिय सेवा पनि हो । यसमा अधिकार पनि छ । आफ्नो कार्यकुशलता देखाउने स्थान पनि छ । यसको क्षेत्र फराकिलो पनि छ । मलाई के कुराले आकर्षण ग¥यो भने जनतालाई सेवा गर्ने माध्ययम भनेको निजामती सेवा साथै सरकारको स्थायी संयन्त्र र क्षेत्र अत्यन्त फराकिलो भएको हुनाले आफूले जानेका ज्ञान सीपहरू राष्ट्रिय सेवामा लैजान मैले निजामती सेवा रोजेको हो । सेवा गर्न अन्य क्षेत्र पनि छन् । अरु स्थानमा रहेर सेवा गर्न पनि सकिन्छ । म सानैदेखि प्रतिस्पर्धात्मक कुरामा विश्वास गर्ने मान्छे, निष्पक्षतामा विश्वास गर्ने मान्छे भएकाले तटस्थ, स्वच्छ र निष्पक्ष रुपमा अगाडि बढ्न सक्ने ठाउँ निजामती सेवा हो । निष्पक्ष रुपमा प्रवेश गर्न सकिने ठाउँ लोकसेवा भएकाले यस क्षेत्रमा प्रवेश गरेको हुँ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *