काठमाडौं । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गरी भ्रष्टाचारमुक्त बनाउछु भने तापनि त्यो भनाइमै सीमित भएको छ । एमालेले सम्हालेका मन्त्रालयहरुमा भ्रष्टाचार, विकृति र विसंगतिहरु बढ्दै गएका छन् । प्रधानमन्त्री ओलीले सुशासनको नारा दिए तापनि एमालेका मन्त्रीहरुले जनता र देशको लागि केही काम गर्न सकेको अवस्था छैन ।
एमालेका मन्त्रीहरु बिचौलियाको घेराबन्दीमा परेर एमाले पार्टी नै बद्नाम हुन पुगेको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई । त्यसको नेतृत्व गरेका छन् एमालेका नेता बलराम अधिकारीले । अधिकारी योसहित दुईपटक भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री बनिसकेका छन् । अधिकारी मन्त्री बनेपछि सहकारी ठगीमा आइपरेको समस्या समाधान गर्न सकेका छैनन् । अधिकारी सहकारी मन्त्री बनेपछि सहकारी ठगीका काण्डहरु दिनप्रतिदिन बढिरहेका छन् । त्यसलाई नियमन र नियन्त्रण गर्न मन्त्री अधिकारी असफल सावित भएका छन् । उल्टै भूमाफिया र सहकारी ठगी गर्नेहरुसँग साठगाठ गरेर मालपोतमा मनपारी ढंगले कर्मचारी सरुवा गरी रातारात अर्बपति बन्न खोजिरहेका छन् ।
अधिकारी भूमि, सहकारी तथा गरिवी निवारणमन्त्री भएको एक महिना नपुग्दै कर्मचारी सरुवामा सेटिङ गरेर मालपोत तथा भूमि सुधारको राष्ट्रिय भ्रष्टाचारीमा गनिका छन् । मन्त्री अधिकारीले उदयपुरको कटारी घर भएका प्रमोद खड्काको सेटिङमा उपत्यकाभित्रका भक्तपुर, ललितपुर, साँखु र चाबहिल मालपोतमा कार्यालय प्रमुख फेरबदल गर्दा करोडौं लिएको आरोप छ । त्यसको शृंखला बढाउँदै सोही विचौलियामार्फत् उपत्यकाका अधिकांश ठाउँमा अधिकृत र नासु तहका कर्मचारी सरुवा गराएका थिए । पहिलो लटमा ३५ जना कर्मचारी सरुवा गर्दा ५० लाख, दोस्रो लटमा ७० जना कर्मचारी सरुवा गरी १ करोड लिएको चर्चा नसकिँदै फेरि असोजको लटमा गरिएको सरुवामा पनि तिनै विचौलिया खड्कामार्फत् कार्यान्वयन गराई करोडौंको भ्रष्टाचार गरेको समाचार स्रोतको दावी छ । त्यति मात्रै होइन तिनै विचौलिया खड्काले मन्त्री अधिकारीकै अगाडि सचिव, सहसचिव र अन्य कर्मचारीलाई गालीगलौज गर्ने र अनावश्यक निर्देशन दिने काम गर्दा छेउमा बसेका अन्य कर्मचारीहरुबीच लाजमर्दो अवस्था बनेको चर्चा भूमि व्यवस्था मन्त्रालयमा चल्ने गरेको छ ।
अधिकारी भूमि व्यवस्था मन्त्री भएदेखि हरेक दिन बिहान, बेलुका मन्त्री क्वाटरमा विचौलिया खड्का आफ्नो स्कार्पियो जिपमा मासु, रक्सी र पैसाको ओसारपसार गर्दछन् । तिनै विचौलिया खड्काले ल्याएको मासु र रक्सी छिमेकी मन्त्रीलाई खुवाएर ठूला–ठूला गफ हाक्ने गर्दछन् । अधिकारी मन्त्री भएदेखि नै मन्त्रालयमा खड्का चिौलियाको रुपमा प्रवेश गरेका थिए । विचौलिया खड्काले बिहान, बेलुका सेटिङ गरेर कार्ययोजना मन्त्रीलाई दिन्छन् अनि मन्त्री अधिकारीले सोही लिस्ट बमोजिम दिउसो सचिव र सहसचिवलाई निर्देशन दिने गर्दछन् । त्यसको फलोअप गर्ने जिम्मा पाएका छन् निजी सचिव (पिए) अनिल मरासिनीले । त्यसबापत निजी सचिव मरासिनीले पनि राम्रो कमाइ गरेका छन् ।
पहिला निजी सचिव मरासिनीले बीचमा पैसा खान नपाएपछि राजीनामा दिने तरखरमा पुगेका थिए अहिले पैसा पाउने भएपछि खुसी छन् । त्यति मात्रै होइन मरासिनीको अर्को धन्दा पनि छ । त्यो हो सरकारी जग्गा छुट दर्ता गराउने, देशभरका नापी र मालपोत प्रमुखलाई आदेश दिने, विचौलियामार्फत् करोडौं रकम लिने, त्यसबाट केही रकम मन्त्री तथा पार्टीका महासचिवकोमा पु¥याउने गर्दछन् । विचौलिया खड्काले भन्ने गरेका छन, “यसरी प्राप्त भएको करोडौं रकम मध्ये मासिक २० देखि ३० लाख रुपैयाँसम्म पार्टीलाई सहयोग गर्ने भन्दै पिए अनिल मरासिनीमार्फत् महासचिव शंकर पोखरेललाई दिने गरेको छु, त्यसकारण मलाई मन्त्रीले पनि केही गर्न सक्दैनन् ।” ती विचौलिया खड्काले यस्तो भन्ने गरेको कुरा मन्त्रीको कानमा परेपछि भ्रष्टाचारीहरुको टिममा रमाइलो कानेखुसी हुन थालेको छ । मन्त्री अधिकारीका अर्का स्वकीय सचिव छन् भेषराज पाण्डे ।
पाण्डे भ्रष्टाचार गरी आएको पैसाको बाडफाटमा कहिले पर्ने कहिले नपर्ने भएपछि एकआपसमा हल्लीखल्ली हुने गर्दछ । तर, विषय टिमभन्दा बाहिरिन पाएको छैन । त्यसैगरी नेर्बेबाट नेपाल फर्किएर बसेका मन्त्री अधिकारीका छोरा मनोज अधिकारी र भाइ धर्म अधिकारीको असुली धन्दा झन् डरलाग्दो छ । यिनीहरुको साठगाँठ भूमाफिया र तस्करहरुसँग हुने गरेको छ । माफियाहरु दीपक मलहोत्रा, कालु गुरुङहरुसँग चाजोपाजो मिलाउनेदेखि सहकारी ठगहरुसँगको उठ्ती, गुम्बाका लामाको नियुक्ति, गुठीको सम्पत्ति व्यक्तिको नाममा गराउने त्यसबापत ठूलो मात्रामा रकम असुल्ने जिम्मा पाएका छन् मन्त्रीका छोरा मनोज अधिकारी र विचौलिया बिच राम्रो सम्बन्ध रहेको छ ।
सचिव बाठा भए तापनि भूमिसुधार खासै नबुझेकाले उनलाई गुमराहमा राखेर अवैध काम भइरहेको छ । मन्त्री अधिकारी रक्सीको सुरमा ‘मलाई प्रधानमन्त्रीले केही गर्न सक्दैनन्’ भन्ने गरेको बताउँदै थिए भनेर उनीसँगै रक्सी खानेले बताउने गरेका छन् । तर, मन्त्रीका टिमले भने त्यो कुरा पत्याएका छैनन् । त्यसैगरी गिरी थरका नासु सहरी मन्त्रालयमा हुँदा यस्तै भ्रष्टाचारको आरोप लागेपछि अख्तियारमा मुद्दा परेको थियो । गिरीमाथि अख्तियारमा मुद्दा परेपनि सहकारी ठगहरुसँग मिलेमतो गरी तथा अन्य भ्रष्टाचारी क्रियाकलापमा संलग्न भएर राम्रो कमाइ गरिरहेका छन् । यी भ्रष्टहरुको प्रियपात्र बनेका छन् आजकाल सहसचिव मदन कोइराला ।
त्यसकारण भूमि, सहकारी तथा गरिवी निवारण मन्त्री अधिकारी यतिबेला भ्रष्ट र विचौलियाको खेतला बन्न पुगेका छन् । तिनै विचौलिया खड्कासँग मिलेर देशभरका सार्वजनिक जग्गाको दर्तामा सेटिङ गर्नेदेखि गुठीको जग्गा हडप्ने, भूमि ऐन, नियम, निर्देशिका संसोधन तथा नयाँ तर्जुमा गरी माफिया तथा विचौलियालाई अनुकुल हुने गरी कार्ययोजना बनाइएको छ । त्यो सेटिङमा नासु गिरी, लेखा अधिकृत टिपी भण्डारी, कानुन अधिकृत गोकुल भुजेल र मन्त्रीका पिए उपसचिव अनिल मरासिनी, कविरसिंह कठायत र सहसचिव मदन कोइरालालगायतका विचौलियाको हालीमुहाली चलिरहेको स्रोतको भनाइ छ । भूमि मन्त्रालयको यस्तो क्रियाकलापले ओली सरकारको सुशासन छर्लङ्ग भएको छ ।