राजश्व अनुसन्धान निकम्मा बन्दा तस्कर र माफियालाई हाइसन्चो

राजनीति समाचार

काठमाडौं । चाडवाड नजिकिएसँगै तस्कर र माफियाहरुले राजश्व र भन्सार छली विभिन्न नाकाबाट सामान तस्करी भइरहँदा पनि राज्यका सम्बन्धित निकायहरु गुमनामजस्तै बनेर बसेका छन् । दीपावली र छठ पर्वको लागि वीरगन्ज, भैरहवा, जनकपुर, रसुवा, जोगवनी, काँकडभिट्टा, रुपडियालगायतका भन्सार नाकाबाट दिनप्रतिदिन पटका, भूँईचम्पा, झिरझिरेलगायत विस्फोटक सामग्रीदेखि प्लास्टिकका फूलमाला, फलफूल, तरकारी, मसला, चिनीजस्ता सामग्रीमा रातारात चोरीतस्करी भइरहेको छ । तर, भन्सार नाकामा तैनाथ सुरक्षा निकाय र सम्बन्धित कर्मचारीहरु तिनै चोरीतस्करी गर्ने व्यापारीहरुसँग मिलेर आर्थिक लाभ लिइरहेका छन् । कांग्रेस र एमाले दुई ठूला दल मिलेर बनेको दुईतिहाई हाराहारी बहुमतको सरकार बनेको सय दिन नाघिसक्दा पनि राजश्व छली गरेर ल्याइएको सामान पक्राउ गर्न सकेको छैन ।

राजश्व अनुसन्धान विभागका कर्मचारीहरु तिनै राजश्व छली गर्ने र कालाबजारी गर्ने व्यापारीहरुसँग मिलेर कमिसन बटुलिरहेका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा सातवटा पिलरबाट साठगाँठ गरी कमाउधन्दा सञ्चालन गरिरहेका छन् । घिमिरेले कमाउधन्दा सञ्चालन नगरुन् पनि किन ? उनी विभागको महानिर्देशक बन्नको लागि एमाले पार्टी र विभिन्न शक्तिकेन्द्रलाई रिझाउन ठूलो धनराशी खर्च गरेका थिए । यतिहुँदाहुँदै पनि मिघिरे प्रधानमन्त्री निकट भने छैनन् ।

एमालेका आउरेभाउरेहरुले प्रधानमन्त्री ओलीलाई गुमराहमा पारेर घिमिरेलाई राजश्व अनुसन्धान विभागको महानिर्देशक बनाउन वाध्य बनाएका थिए । घिमिरे सहसचिवमा बढुवा भएको वर्षदिन पनि पुगेको छैन । उनको जागिरे अवधि पनि लामो छैन । घिमिरे आफ्नो जागिरे अवधि लामो नभएकाले पनि राजश्व उठाउन र मुलुकलाई आर्थिक उन्नति गराउने भन्दा कसरी हुन्छ पुतौंलाई पुग्ने सम्पत्ति आर्जन गर्न लागिपरेका छन् । घिमिरेलाई कुन नेता, मन्त्री र कर्मचारी कहाँ राखेर सेटिङ मिउन सकिन्छ भन्ने राम्रो ज्ञान छ ।

तर, राजश्व उठाएर देशलाई आर्थिकमन्दीबाट उकास्न भने पटक्कै ज्ञान छैन । त्यस्तै राजश्व अनुसन्धान विभागमा अर्का माहिर खेलाडी छन् नवराज अधिकारी । अधिकारीले राजश्वमा राज गरेको तीन वर्षभन्दा बढी भइसकेको छ । उनी खान र खुवाउन अत्यन्तै माहिर छन् । अधिकारीले झलकराम अधिकारी, मदन दाहाल, नारायणप्रसाद सापकोटा, नवराज ढुंगाना, चुक्रबहादुर बुढा र चण्डी प्रसाद घिमिरेलगायत ६ जना महानिर्देशकसँग काम गर्ने मौका पाइसकेका छन् । नपाउन पनि किन ? अधिकारी एमालेका क्याडर न परे ।

अधिकारीलाई कहाँबाट पैसा असुल्ने र कसलाई बुझाउने कसलाई थर्काउने भन्ने राम्रो ज्ञान छ । नवराज अधिकारीको हर्कत महानिर्देशक घिमिरेले थाहा पाएपछि अधिकारीलाई जिम्मेवारीबाट पन्छाएर घिमिरे आफैले उठ्तीपुठ्तीको सेटिङ मिलाइरहेका छन् । राजश्व अनुसन्धानका महानिर्देशक र कर्मचारीको यस्तो हर्कत भएपछि कहाँबाट उठ्छ देश चलाउने राजश्व ? आफू मातहतमा रहेको राजश्व अनुसन्धान विभाग महानिर्देशक र कर्मचारीले कमाइ खाने थलो बनाइरहँदा प्रधानमन्त्री ओली बेखबर बन्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *