काठमाडौं । नेपालका राजनीतिक दलहरुले देश र जनताको लागि काम गर्ने भन्दा पनि पार्टीलाई सहयोग र सम्पत्ति आर्जन गर्ने थलो बनाएका छन् । ठूलादेखि साना दलसम्मका नेताहरु देशमा सुशासन कायम गर्नेभन्दासत्तामा पुग्ने र सम्पत्ति कमाउने ध्याउन्नामा व्यस्त छन् । हरेक पार्टीभित्र सत्तापक्ष र प्रतिपक्षजस्तो संस्थापन र इतरपक्षको लडाईँ त्यत्तिकै छ । कांग्रेस, एमाले र माओवादी केन्द्रमा संस्थापन पक्षले इतरपक्षलाई सधैं ओझेलमा पारिरहेका छन् । इतर पक्षका नेता, कार्यकर्ताहरु आन्तरिक पार्टीभित्र प्रतिपक्ष जस्तो भएर गुमनाम जस्तै बनेका छ ।
पार्टी सत्तामा पुग्दा पनि इतरपक्षलाई सरकारमा भएको अनुभूति हुँदैन । खाली साँघुरो घेरामा रहेर केही मुठ्ठीभरका नेता, कार्यकर्ता मालामाल हुने गरेका छन् । देश र जनताको त कुरै छाडौं आफ्नै पार्टीभित्र फरक मत राख्नेहरु पाखा लाग्ने गरेका छन् । यो रोग लोकतान्त्रिक पार्टी कांग्रेसदेखि सम्पूर्ण वामपन्थी दलहरुमा फैलिएको छ । अझ वामपन्थी दलहरुमा त पार्टी फुटाउने र आफू अध्यक्ष बन्ने रोगले गाँजेको छ । देश विकास गर्ने सुशासन कायम गर्ने राजनीतिक पार्टीहरु टुटफुट र व्यक्तिगत सम्पत्ति आर्जन गर्न सबै लागेपछि भ्रष्टाचार र कुसंस्कार मौलाएको छ । त्यसको फाइदा विदेशीहरुले उठाइरहेका छन् ।
आफूलाई अनुकूल हुँदा फुट्ने र प्रतिकूल हुँदा जुट्ने रोगको महामारी नेपालका वामपन्थी पार्टीहरुमा हावी भएको छ । पछिल्लो समयमा नेपाल र अमेरिकाबीच भएको एमसीसी संझौता, भारतले पटकपटक गर्ने सीमा अतिक्रमणलगायतका राष्ट्रियता सम्बन्धी समस्याहरुले नेपाली जनता आक्रन्त छन् । आदिवासी, जनजाति, अल्पसंख्य, उत्पीडित, मधेसी, मुस्लिम, दलितलगायतको अधिकारका नाममा यिनै ठूलादेखि भुरेटाकुरे दलका नेताहरुले राज गरिराखेका छन् । सर्वसाधारणका जनजीविकाको सवालहरु त्यत्तिकै विकराल छन् ।
स्वास्थ्य र शिक्षा क्षेत्र जनसेवाको लागि नभई व्यापारिक थलो बनिरहेका छन् । बिचौलिया, दलाली र पुँजीपतिहरुले राज गरिराखेका छन् । सरकारी अस्पताल र सरकारी शिक्षण संस्था जनताको सेवाको लागि नभएर निजी अस्पताल र निजी शिक्षालयको ग्राहक खोजिदिने थलो बनेका छन् । नेपाली बजारमा पुँजीपतिहरुले कब्जा जमाएका छन् । चरम महंगीले सर्वसाधारण जनताको ढाड सेकिरहेको छ । खाद्यान्नमा अखाद्य वस्तु मिसावटले जनस्वास्थ्य बर्बाद बनाइरहेको छ । देशका उद्योगधन्दाहरु पूर्णरुपमा बन्द भइसकेका छन् । मिटर ब्याजीदेखि बैंक वित्तीय संस्थाहुँदै सहकारी ठगीले सर्वसाधारण जनताको उठिवास लागेको छ । तर, राजनीतिक दलका नेता र मन्त्रीहरु भने सत्ता लुछाचुँडीमा व्यस्त छन् । कर्मचारीहरु सेवाग्राहीसँग घुस खाने र काममा ढिलासुस्ती गर्न लागिपरेका छन् ।