काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रालयमा जुनसुकै पार्टीबाट मन्त्री बने तापनि तिनै तहका कर्मचारीवर्गहरुले घुमाइफिराई मन्त्रीको बदनाम गराइछाड्ने गरेका छन् । मन्त्रीहरु पनि एक पटक मन्त्री भइने हो, कमाउने बेला पनि यहीं हो भनेर कर्मचारीकै लहैलहैमा लागेर कमाउधन्दामा व्यस्त हुने गरेका छन् । मन्त्री रामकुमार गुप्ता र सचिव भरतमणि सुवेदीबीचको टसलले यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भद्रगोल भएको छ । मन्त्री गुप्ता पहिला रघुवीर महासेठको डिजाइनअनुसार चल्ने र रघुवीरलाई नेता मानेर गर्दर्थे । रघुवीरसँग मनमुटाव भएपछि उनी एमाले नेता शंकर पोखरेलसँग घुलमिल गर्न थालेका थिए ।
नेता पोखरेलसँग घुलमिल गर्न थालेपछि गुप्ता मन्त्री बन्न सफल पनि भए । अहिले मन्त्री र सचिवको टसलले संघीय मामिला मन्त्रालयमा कर्मचारी सरुवा, बढुवामा समेत असर परिरहेको छ । मन्त्रीको टिम एकातिर छ भने अर्कोतिर सचिव भरतमणि सुवेदी र कर्मचारी संगठनका नेता वामदेव ओलीको खेमा छ । यिनै दुई खेमाबीचको टसलले कर्मचारी वर्गभित्र व्यापक असन्तुष्टि बढ्न थालेको छ । सचिव सुवेदीलाई एमाले नेता शंकर पोखरेलले अन्यत्रबाट सरुवा गराएर संघीय मामिला मन्त्रालयमा ल्याएका थिए । उनै पोखरेलको जोडबलमा सुवेदी संघीय सचिव भएका थिए ।
संघीय मामिला मन्त्रालयमा मन्त्री र सचिवबीच टसल बढेपछि मन्त्रीले राजीनामा दिने कि सचिव सुवेदी सरुवा भएर अन्यत्र जाने दोसाँधमा पुगेका छन् । एमालेकै मन्त्री र सचिवबीचको सम्बन्ध त पानी बाराबारको छ भने अन्य पार्टीका मन्त्री र फरक विचारधाराका सचिवले मन्त्रालय कसरी चलाएका होलान् ! संघीय मामिलाजस्तै अधिकांश मन्त्रालयहरु मन्त्री र कर्मचारी मत बाझिएकै कारण विवादमा पर्ने गरेका छन् । मन्त्रालयमा मन्त्री र कर्मचारीबीच टसल हुँदा सर्वसाधारण सेवाग्राहीको काम लथालिङ्ग हुने गरेको छ । त्यसको फाइदा माफिया र विचौलियाहरुले उठाउँदै आएका छन् ।