काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाका किसानहरु व्यावसायिक रूपमा सिस्नोखेती तर्फ आकर्षित भएका छन् ।
सङ्घीय राजधानी काठमाडौंका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि सिस्नोको व्यावसायिक खेती थालिएको हो ।वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको तीन सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको रहेको छ । डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ मूल्यबराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा चैते सामुदायिक वनले प्राप्त गरेको छ ।
आगामी साउनदेखि उक्त मेसिन सञ्चालन गरी सिस्नुको धुलो बजारमा ल्याउने योजना रहेकोले लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तरराष्ट्रिय बजारमा पुर्याउने योजनाका साथ अघि बढेको किसानहरुले बताएका छन् ।
गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको तीनजुरे लालीगुराँस नगरपालिकामा पर्यटकको चहलपहल भइरहन्छ । होटलमा आउने पर्यटकको रोजाइमा पछिल्लो समय सिस्नुको माग बढेकोले बजार र आसपासका क्षेत्रहरुमा सिस्नुको परिकार पाक्ने गरेको पाइन्छ ।

