काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सांसद माधव सापकोटाले धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेपछि जलविद्युत परियोजनाको आइपीओ जारी गर्ने कार्य रोकिएको विषयमा छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै माओवादी सांसद सापकोटाले धितो पत्र बोर्डमा साना परियोजनासँग ५ प्रतिशत र ठुला आयोजनासँग ७ प्रतिशतसम्म कमिसनको खेलका कारण एक हजार ९ प्वाइन्ट ५२ मेगावाटका क्षमता रहेका ४३ जलविद्युत आयोजनाका ८९ वटा कम्पनीहरूको ५६ अर्व ७ करोड ९३ लाख २७ हजार एक सय ३२ रुपैयाँ आइपीओको अनुमति रोकिएको समाचार आइरहेको भन्दै सभामुखमार्फत सरकारलाई निष्पक्ष छानबिन गर्न निर्देशन दिन माग गरे ।
सरकारको यो कार्यले जलविद्युत परियोजनाका प्रवर्तकहरूलाई हतोत्साहित गरेको उनले बताएका छन् ।