काठमाडौं । नेपालीहरु रोजीरोटी र उच्च शिक्षा अध्ययनका लागि विदेशिने गरेका छन् । खासगरी क्यानडा, जापान, अस्ट्रेलिया, अमेरिका, फ्रान्स र जर्मनीजस्ता मुलुकहरुमा अध्ययन र रोजगारीको लागि जाने गरेका छन् । त्यसरी विदेश जानेमा युवा, युवती दुवै पर्ने गरेका छन् । खासगरी माथि उल्लेखित मुलुकहरुले युवतीहरुलाई प्राथमिकता दिने गर्दछन् । नेपालका कन्सलटेन्सी र विभिन्न माध्यममार्फत विदेश गएका युवतीहरुलाई विदेशमा बस्ने विभिन्न देशका युवाहरुले पढाइ र रोजगारीको व्यवस्था मिलाइदिने प्रलोभनमा पारेर यौन शोषणदेखि घरेलु हिंसा गर्ने गरेको घटनाहरु सामाजिक सञ्जाल र मिडियामा आइरहेका छन् । एकातिर यस्तो अवस्था छ भने अर्कोतिर म्यान पावर कम्पनीमार्फत भिजिट भिसामा युरोपदेखि विभिन्न देशमा पठाइएका युवतीहरु पनि यौन शोषण र घरेलु हिंसामा पर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।
नागरिक सरकारले भिजिट भिसामा विदेश जाने नेपालीहरुलाई सरल बनाएपछि विदेशिने क्रम झन् बढेको छ । त्योसँगै एयरलाइन्स कम्पनीहरुले पनि भिजिट भिसामा नेपालीहरुलाई विदेश पु¥याउने र उतै अलपत्र बनाउने गरेका घटनाहरु बढिरहेका छन् । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानुपर्ने कारण लिखित रुपमा खुलाएर अफलोड गर्नुपर्ने निर्देशन दिएको थियो । तर, यएयरलायन्स कम्पनीहरुले अध्यागमन विभागको त्यो निर्देशन लत्याएर आफ्नो ढंगले भिजिटि भिसामा नेपाली युवायुवतीलाई विदेश पु¥याउने काम गरिरहेका छन् । खासगरी मलेसिया, कतार, दुबई, कुवेत, बहराइनहुँदै क्रोसियालगायतका युरोपियन मुलुकहरुमा एयरलाइन्स कम्पनीहरुले भिजिट भिसामा मान्छे पठाउने गरेका छन् । दिनप्रतिनिधि भिजिट भिसादेखि वर्किङ्ग भिसामा विदेशिसिने क्रम बढिरहेको छ ।
त्यसरी विदेशिनेहरु त्यहाँ पुगेर अलपत्र पर्ने गरेका घट्नाहरु बढिरहेका छन् । त्यसमा कन्सलटेन्सी, म्यानपावर कम्पनी र विचौलियाहरुको मिलेमतोमा बिनासीप परीक्षण नेपालीहरुलाई महंगो शुल्क असुलेर विदेश पठाउने गरेका छन् । त्यसरी विदेश जाने नेपालीहरु त्यहाँ पुगेपछि रोजीरोटीको लागि विदेशीको दासजस्तै बन्नुपर्ने घटनाहरु बाहिरिएका छन् । खासगरी घरेलु काममा जाने महिलाहरु बढी पीडित हुने गरेका छन् ।
जुनसुकै पार्टी र वादीको सरकार बनेपनि श्रममन्त्रीहरु स्वदेशमा रोजगारी सिर्जना गर्नुको सट्टा विभिन्न मुलुकसँग श्रम सम्झौता गर्ने गर्दछन् । नयाँ–नयाँ देशसँग श्रम सम्झौता गर्दा पनि त्यो देशको आर्थिक अवस्था, रोजगारीको अवसर र शान्ति सुरक्षाको ग्यारेन्टी छ कि छैन भनेर नबुझी हचुवाको भरमा सम्झौता गर्ने गरेको पाइन्छ । श्रम मन्त्रीहरुले पहिलादेखि नै हचुवाको भरमा श्रम सम्झौता गर्ने र यति देशसँग श्रम सम्झौता गरियो भन्दै पत्रकार सम्मेलन गरेर आफ्नो प्रचारवाजीको होडवाजी गर्दै आएका छन् । त्यसले गर्दा विदेश गएका अधिकांश युवायुवतीहरु विदेशीको दास बन्ने गरेका छन् । तर, नेपाल सरकारका सम्बन्धित निकायले भने यस्ता विषयमा ध्यान दिएका छैनन् । श्रममन्त्रालय, म्यानपावर कम्पनी, सुरक्षा निकाय, कन्सलटेन्सी र परराष्ट्र मन्त्रालयको समन्वयकारी भूमिका नहुँदा वैदेशिक रोजगारीमा जाने नेपाली युवतीहरु बढी पीडित हुने गरेको पाइन्छ ।

