काठमाडौं । निर्वाचन नजिकिएसँगै कतिपय कर्मचारीहरु बुथमा खटिएका छन् भने कतिपय कर्मचारीहरु कार्यालय सञ्चालनमा रहेका छन् । खासगरी राजश्व अनुसन्धान विभाग, भन्सार विभाग, आन्तरिक राजश्व विभाग, उद्योग र कम्पनी रिष्ट्रार अन्तर्गतका निजामती कर्मचारीहरु निर्वाचनमा कम खटिने गर्दछन् । यी निकायका मालदार अड्डामा निर्वाचन ताका बढी आम्दानी हुने भएकाले पनि भन्सार, राजस्व, कर, मालपोत, वैदेशिक रोजगार र अध्यागमनका कर्मचारीहरु निर्वाचनमा खटिन आनाकानी गर्ने गर्दछन् ।
अन्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरु भने निर्वाचन आउन लागेपछि निर्वाचन आयोगमा सरुवा हुनको लागि न्वारनदेखिको बल निकालेर लागिपर्ने गर्दछन् । निर्वाचन आयोगमा सरुवा हुनको लागि सोर्सफोर्स र भनसुन हुने गर्दछ । निर्वाचन सकिएपछि फेरि अन्य मालदार अड्डा ताक्न थाल्दछन् । अर्थ, श्रम र उद्योग बाहेक अन्य मन्त्रालय अन्तर्गतका कर्मचारीहरु निर्वाचनमा खटिन पाउँदा तलब बराबरको भत्ता पाउने भएकाले निर्वाचनमा खटिन आकर्षित हुने गछन् ।
यतिबेला अधिकांश कर्मचारीहरु आफ्नो कार्यालय छाडेर चुनावी प्रचार–प्रसारमा हिँडिरहेका छन् भने चुनावी प्रचारमा नजाने उच्च तहका कर्मचारीहरु मिटिङ बस्ने र गोष्ठीको नाममा भत्ता पचाउने काम गरिरहेका छन् । उता, सर्वसाधारण जनता भने सेवा नपाएर भौतारिइरहेका छन् । दलनिकट कर्मचारी युनियनका नेताहरु आफ्नो घर पाएक पर्ने जिल्ला र पालिकामा प्रचार–प्रसारको लागि खटिएका छन् भने कतिपय कर्मचारी आफू निकटको उम्मेदवार जिताउनको लागि सहयोग असुलिरहेका छन् । निर्वाचनको संघारमा संघीय सरकारको सिंहदरबार सुनसान अवस्थामा छ भने कर्मचारीहरु क्यान्टिन र पुतलीबजारमा बसेर गफ चुटिरहेको देखिन्छ । तर, राज्यका सम्बन्धित निकायले त्यसमा ध्यान दिएको पाइँदैन ।

