काठमाडौं । यतिबेला देश चुनावमय भएको छ । मतदाताहरु ठूलो संख्यामा विदेशमा रहेका छन् । शहरबजारमा पेशा, व्यवसाय गरेर बसेका केही मतदाता आफ्नो गृहजिल्ला जाने तयारी गरिरहेका छन् । अधिकांशले आफ्नो जिल्ला जाने इच्छा पनि देखाएका छैनन् । किन कि जुनसुकै पार्टी, वादी र नयाँबाट उम्मेदवार बनेका भए पनि तिनीहरुले न त आफ्नो गृहजिल्लाको विकास निर्माण योगदान गरेका छन् पेशा, व्यवसाय गर्ने आफ्ना मतदातालाई समस्या पर्दा सहयोग नै गरेका थिए । गाउँ–घर भने सुनसान अवस्थामा छ । एउटा गाउँ डुल्दा ५० जना मतदाता पनि भेट् मुस्किल पर्छ । उम्मेदवार र कार्यकर्ता दुवै शहरबाट टुरिष्ट जस्ता भएर गाउँ गएका छन् । गाउँघरमा घर संख्याभन्दा मतदाता कम भएपछि उम्मेदवार र कार्यकर्ताहरु रनभुल्लामा परेका छन् । गाउँका अधिकांश घर खाली छन् भने केहीमा वृद्धवृद्धा र महिला मात्र रहेका छन् । तिनीहरुका छोराछोरी कोही शहर बजारमा त कोही विदेशमा छन् । उम्मेदवारहरुले ती वृद्धवृद्धा र महिलाहरुसँग भोट माग्दा ‘छोराछोरीले के भन्छन् त्यसैमा भोट दिने हो’ भन्ने उत्तर पाएपछि उम्मेदवारहरु खिन्न हुने गरेको पाइन्छ ।
अर्कोतिर गाउँमा रहेका विद्यार्थीहरुको मतदाता नामावली छैन, जो नयाँ भनिरहेका छन् । उम्मेदवारहरु भोट माग्न जाँदा तिनै विद्यार्थीहरुसँग रमाइरहेका छन् । त्यसले गर्दा यसपालिको निर्वाचनमा पहिलाको तुलनामा मत कम खस्ने देखिन्छ । एकातिर साढेदुई वर्षमै निर्वाचन हुनु, अर्कोतिर शान्ति सुरक्षाको ग्यारेन्टी नहुनु । त्यसले गर्दा सर्वसाधारणमा चुनावको आकर्षण देखिँदैन । मताधिकार भएका युवायुवतीहरु अधिकांश विदेशमा छन् भने स्वदेश भएका पनि शहर बजारमा विभिन्न पेशा, व्यवसायमा लागेकाले मत दिनकै लागि खर्च गरेर गाउँसम्म जाने सम्भावना कम देखिन्छ ।
उम्मेदवारहरुले पनि आफ्नो जिल्लाबाट काठमाडौं आएर पेशा, व्यवसाय गरेका व्यक्ति चिनेका छैनन् । कुनै क्षेत्रमा मतदाताभन्दा उम्मेदवार बढी देखिन्छन् । ती पनि जिल्लामा योगदान गरेका भन्दा काठमाडौंमा बसेर विभिन्न व्यापार, व्यवसाय र ठेक्का पट्टा गर्ने, आफ्नो निर्वाचन क्षेत्रका जनताको काममा सिन्को पनि नभाँच्ने व्यक्तिहरु अधिकांश उम्मेदवार बनेका छन् ।
पुराना पार्टीका उम्मेदवार र कार्यकर्ता काठमाडौं उपत्यकाका चोक र गल्लीमा घुम्ने, जिल्लाको विकास बजेट काठमाडौंमै बाँडचुड गरेर छाक टार्ने, पार्टी भजाएर जीवीको पार्जन गर्ने गर्दछन् । त्यस्ता व्यक्तिहरुलाई निर्वाचन आएपछि सधैं चाडवाड लागेजस्तो हुन्छ । नयाँ भनाउँदा पनि कोही अर्कै जिल्लाका छन् त कोही एउटा तहमा जिम्मेवारी पाएका व्यक्ति आफ्नो ५ वर्षे कार्यकाल नसकिँदै जनमतलाई लत्याएर थातथोलो नै छोडेर अर्को क्षेत्रमा गएर निर्वाचन लडिरहेका छन् । गाउँघरको अवस्था यो छ भने शहर बजारमा उम्मेदवार बनेका व्यक्ति प्रायःजसो मतदाताले नचिके्का, सामाजिक काममा योगदान नगरेका, पार्टीभित्र नचिएका उम्मेदवार बनेका छन् । नयाँ भन्नेहरुको चुनाव चिन्हको मात्रै चर्चा छ तर उम्मेदवार कहाँको हो र के पेशामा लागेको व्यक्ति हो भन्ने मतदातालाई थाहा छैन । त्यसकारण यसपटकको निर्वाचनमा जनआकर्षण घटेको पाइन्छ ।

