सबिता बस्नेत
यतिबेला विश्वनै सामाजिक सञ्जालको माध्यमबाट एक ठाउँमा जोडिएको छ । सामाजिक सञ्जालको प्रयोगले विकसित मुलुकहरुलाई व्यापार व्यवसायदेखि उद्योग धन्दा सञ्चालन र उत्पादित सामानको विक्रीवितरणको लागि विज्ञापन गर्ने माध्यम बनेको छ ।
सामाजिक सञ्जालको माध्यमबाट विभिन्न ज्ञानवद्र्धक र सीपमूलक सन्देशहरु आदानप्रदान हुने गरेका छन् । तर, नेपालजस्तो अल्प विकसित मुलुकमा सामाजिक सञ्जालले समाजमा ठूलो विकृति निम्त्याएको छ । सामाजिक सञ्जालको व्यापक प्रयोगले नेपालीहरुको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, निर्माण जस्ता क्षेत्रमा व्यापक असर पु¥याएको छ । विद्यार्थीहरुले गृहकार्य पनि गुगलबाट तानेर गर्न थालेका छन् भने शिक्षकहरुले भिडियोमार्फत् पढाउने गर्दछन् । त्यसले विद्यार्थीहरुको गर्धन, ढाड र आँखामा व्यापक समस्या देखिन थालेको छ । उता, किताब अध्ययन गरेर गृहकार्य नगर्दा विद्यार्थीहरुमा लेखन र शब्द ज्ञानको सीप हराउँदै गएको छ । शिक्षकहरुले पनि किताव अध्ययन नगरी गुगलबाट तानेर स्लाइडबाट पढाउने गरेका छन् । पढाइ पनि किताब, कपीबाट भन्दा स्लाइडबाट हुने र घरमा गरेर पनि मोबाइलबाट पढ्ने कारणले अधिकांश विद्यार्थीहरुको आँखामा गम्भीर समस्या देखिएको छ ।
उता खेती किसानी गरेर जीवीको पार्जन गर्ने समुदाय पनि सामाजिक सञ्जाल टिकटक र फेसबुक लाइभमा रमाउने कारणले गर्दा कृषिज्यन्य उत्पादन हराउँदै गएको छ । फेसबुक लाइभमा भीउजबाट पैसा आउँछ भन्ने हल्लाले कृषकहरुले खेतीपातीको कामै छाडेर सामाजिक सञ्जालमा रमाउन थालेका छन् । अर्कोतिर सामाजिक सञ्जाल दुरुपयोगकै कारण गाउँघरमा एकअर्कासँग सहयोग आदानप्रदान गर्ने र साइनो नातासँग भलाकुसारी गर्ने परम्परा तोडिँदै छ ।
जसले गर्दा छरछिमेक र इष्टमित्रसँगको भाइचाराको सम्बन्ध पनि चिसिँदै गएको छ । सामाजिक सञ्जाल दुरुपयोगकै कारण श्रीमान–श्रीमतीबीच सम्बन्ध बिग्रिइरहेको छ भने छोराछोरीसँग पनि टाढिँन थालेको छ । अधिकांश विदेशमा श्रीमती हुने श्रीमान र विदेशमा श्रीमान हुने श्रीमतीहरुमा परपुरुष र परस्त्रीतिर लागेको समाचार सामाजिक सञ्जाल युटूब र टिकटमा भाइरल गराउने कारणले उनीहरुको घरपरिवारसँग सम्बन्ध बिग्रिनुृका साथै समाजमा विकृति फैलाउने काम भएको छ ।
सामाजिक सञ्जाल दुरुपयोगकै कारण अधिकांश श्रीमान–श्रीमतीबीच सम्बन्ध बिच्छेद गर्ने क्रम बढिरहेको छ । सर्वसाधारणले सामाजिक सञ्जाल प्रयोगकर्ता भीउज कमाउनको लागि जेपयो त्यहीँ प्रसारण गरेको कुरामा विश्वास गर्दा सामाजिक विसंगति बढेको छ ।
त्यसैगरी पछिल्लो समय नेपालको राजनीतिमा पनि सामाजिक सञ्जालको दूरुपयोगले ठूलो प्रभाव भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पनि सामाजिक सञ्जालकै कारण भएको थियो । काठमाडौंका मेयर बालेन्द्र साहले सामाजिक सञ्जाल प्रयोग गरी आन्दोलनकारीलाई उकास्दा ७६ जनाले अनाहकमा ज्यान गुमाउनु परेको थियो भने सिंहदरबार, सर्वोच्च अदालतलगायत देशको महत्वपूर्ण भौतिक संरचना जलेर नष्ट भएको थियो । फागुन २१ गते हुँदै गरेको पतिनिधि सभाको निर्वाचन पनि सामाजिक सञ्जालकै कारण प्रभावित हुने खतर बढेको छ । राजनीतिक दलका उम्मेदवारहरु केही कार्यकर्ताको साथमा चुनाव प्रचारमा लागे तापनि सर्वसाधारण मतदाता भने सामाजिक सञ्जालको भ्रममा परेर देश र उनीहरु नै बर्बादितिर जाने अवस्था सिर्जना गरिरहेको पर्यव्यक्षेकहरु आँकलन छ ।
किन कि जुनसुकै पार्टीका उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगे तापनि सामाजिक सञ्जालको गुमराहमा परेर सर्वसाधारणले कसलाई भोट दिनेभन्ने माइनसेट बनाइसकेको पाइन्छ । निर्वाचन नजिकिएसँगै जुनसुक पार्टी र स्वतन्त्र उम्मेदवारहरुले सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम सिर्जना गरिरहेका छन् । त्यसको प्रभाव पुरानामाभन्दा नयाँमा बढी देखिन्छ । आफ्नो पेशा, व्यवसायभन्दा सामाजिक सञ्जालमा आएका भिडियो र झुठा सन्देशहरुमा रमाउने नेपाली जनताहरु आफ्नै भविष्यमाथि खेलवाड गरिरहेका छन् । मतदाताको यस्तो मनोविज्ञानले गर्दा उचित उम्मेदवारहरु आझेलमा पर्ने र बेइमानहरु निर्वाचित हुने खतरा त्यत्तिकै बढिरहेको छ । त्यसकारण राज्यले सामाजिक सञ्जाललाई नियमन गर्न नसकेको खण्डमा नेपाल र नेपालीको अस्तित्वमाथि प्रश्न चिन्ह खडा हुने खतरा बढिरहेको छ ।

