काठमाडौं । हुँदै गरेको भोलिको प्रतिनिधि सभा निर्वाचनमा व्यापक विदेशी चलखेल भइरहेको विभिन्न घटनाक्रमले पुष्टि गर्दै गएको छ । त्यसलाई मलजल पु¥याउने काम नेपालका सामाजिक सञ्जालहरुले गरिरहेका छन् । हुँदाहुँदा विश्वमै सञ्चार क्षेत्रमा विश्वास कमाउँदै आएको बीबीसीलेसमेत नेपाल र नेपालीको अस्तित्व मेटाउने गरी निर्वाचनको मुखमा आएर भ्रमपूर्ण डकुमेन्ट्री प्रसारण गरेर भाडभैलो मच्चाउने काम गरिदिएको छ । बीबीसीद्वारा प्रसारित त्यो डकुमेन्ट्रीले प्रष्ट हुन्छ कि नेपालमा विदेशी चलखेल व्यापक भइरहेको छ ।
चुनावको मुखमा भएनभएको भ्रम छरेर बीबीसी जस्तो विश्वसनीय सञ्चारमाध्यमले गत भदौ २३ र २४ गतेको घटनालाई उजागर गरी आगोमाथि घिउ थप्ने काम गर्नुभनेको आसन्न निर्वाचन नै प्रभावित गर्नु हो । बीबीसीको त्यो कर्हतलाई बढवा दिँदै सामाजिक सञ्चालहरुले नेपालका सराजनीतिक दलहरुको धज्जी उडाउँदै आएका छन् । तर, निर्वाचन आयोग र नेपाल सरकारले त्यस विषयमा कुनै चासो राखेर कारबाही गर्न सकेको छैन । सञ्चार क्षेत्रको आचार संहिता हेर्ने नियामक निकाय प्रेस काउन्सिल नेपाललाई निर्वाचन आयोगले बीबीसीबाट प्रसारित सो डकुमेन्ट्रीप्रति चासो देखाउँदै कारबाही गर्न सिफारिस गर्दा पनि काउन्सिल अधिकार नभएको भन्दै पन्छिएको थियो । तर, नेपालमा प्रकाशित हुने पत्रपत्रिका, टेभिजन, रेडियो र अनलाइन पोर्टललाई भने काउन्सिलले निर्वाचन आचार संहिता उल्लंघन गरे÷नगरेको अनुगमन गरिरहेको छ ।
नेपालका अधिकांश राजनीतिक दलहरु पनि तिनै सामाजिक सञ्जालमा बग्दै मेनस्टिमका सञ्चारमाध्यमहरु जसले हिजो लोकतान्त्रिक आन्दोलनमा सहयोग गरेका थिए तिनीहरुलाई पाखा लगाउने काम गर्दै आएका छन् । त्यसकैको परिणाम आज पुराना र ठूला दलहरुले भोग्दै छन् । सामाजिक सञ्जालमार्फत ठूला दलहरुले बोलेका कुरा पनि नयाँ पुस्ताले पत्याउनेवाला छैन।
विगत लामो समयदेखि प्रजातन्त्रहुँदै लोकतान्त्रिक आन्दोलनमा लड्दै आएका नेपाली कांग्रेस, एमाले र नेकपाले पनि लोकतान्त्रिक आन्दोलनका सह–यात्री मिडियाहरुलाई पछि पार्दै सामाजिक सञ्जालमा रमाएर सस्तो लोकप्रियता प्रदर्शन गर्दै आएका छन् । दलहरुले सामाजिक सञ्जाल प्रयोग गरेर सस्तो लोकप्रियता कमाउन खोजे तापनि पाठकहरुले मेनस्टिमका मिडियाहरुले कस्तो सामग्री प्रकाशित गरिरहेका छन् भनेर नियान्ने गरेका छन् । तर, राजनीतिक दलहरुले भने आफ्नो सह–यात्री मेनस्टिमका छापामाध्यम, टेलिभिजन, रेडियो र व्यवसायिक अनलाइन पोर्टलहरुलाई बेवास्ता गर्दा उनीहरु नै पछि परिरहेका छन् ।
किन कि पुराना राजनीतिक दलहरुले सामाजिक सञ्जालमा प्रचार गरेका कुरा अहिलेका पुस्ताले पत्याउँदैनन् । तर, मेनस्टिमका सञ्चार माध्यमहरु टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन पोर्टलहरुले नै पुराना दलहरुको वास्तविकता वकालत गरिहेका हुन्छन् । र, राजनीतिक दलहरुलाई पनि तिनै मेनस्टिमका मिडिया, सञ्चारकर्मीहरुले सहयोग गरिरहेका छन् । तर, दलहरुले आफ्ना सहयोगी मिडियाहरुलाई जोगाउने प्रयास गरेका छैनन् ।

