निर्वाचनः सुरक्षा चुनौतीसँगै मतदातामा आशंका

राजनीति समाचार

काठमाडौं । भोलि हुने निर्वाचनमा सरकारले करिव ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन सुरक्षाको लागि नेपाली सेना ८० हजार, सशस्त्र प्रहरी ३५ हजार, नेपाल प्रहरी ७५ हजार र निर्वाचन प्रहरीहरु १ लाख ४९ हजारभन्दा बढी परिचालित भएका छन् । पहिलाको तुलनामा यसपटकको निर्वाचनमा डबलभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । त्योसँगै निर्वाचन सम्पन्न गर्नको लागि सरकारले २ लाखभन्दा बढी कर्मचारी खटाएको छ । निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गर्नको लागि सुरक्षाकर्मी र कर्मचारी गरी साढे ५ लाखभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । त्योसँगै पत्रकार, नागरिक समाज र विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरु पनि आ–आफ्नो ढंगले अनुगमन गरिरहेका छन् । त्यसले गर्दा पनि यसपटकको निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुने आँकलन गरिँदै छ ।

अर्कोतिर विभिन्न दलहरुले पनि आ–आफ्नो गृहजिल्लामा गाडी रिजर्भ गरेर मतदाता लाने काम तीब्र बनाएका छन् । त्यसले गर्दा पनि अनुमान गरिएभन्दा बढी मत खस्ने बताइन्छ । त्योसँगै दलका नेता, कार्यकर्ताहरु पनि आफ्नो उम्मेदवार जिताउनको लागि हप्तादिन अगाडिदेखि नै आफ्नो गाउँ र टोलमा मतदातासँग भेटघाट गर्ने र भोट माग्ने काममा व्यस्त छन् । निर्वाचन आयोगले मौन अवधि लागु गरे तापनि कतिपय राजनीतिक दलका कार्यकर्ताहरु रातभरि माहोल आफ्नो पक्षमा पार्न लागिपरेका छन् । तर, देखिने गरी प्रचार प्रसार गरेका छैनन् । निर्वाचन आयोगले पनि सञ्चारमाध्यमलाई सूचना नदिएर मोबाइलको रिङ्गटोनबाट विज्ञापन गरेर मतदातालाई निर्वाचनमा सहभागी हुन आह्वान गरिरहेको छ ।

उता, भोलिको प्रतिनिधि सभा निर्वाचनमा पहिलाको तुलनामा बढी सुरक्षाकर्मी खटिएको कारण आमसर्वसाधारणमा त्रास पनि त्यत्तिकै फैलिएको छ । दूरदराजका कतिपय मतदान केन्द्रमा त मतदाताभन्दा बढी सुरक्षार्की र कर्मचारी हुने सम्भावना पनि त्यत्तिकै छ । किन कि दूरदराजका अधिकांश गाउँहरुमा हरेक घरका युवायुवतीहरु अध्ययन र रोजगारीका लागि विदेशिएका छन् भने कतिपय शहरबजारमा पेशा व्यवसाय गरेर बसेका छन् । त्यस्ता व्यक्तिहरु आफ्नो व्यवसाय छोडेर मतदान गर्न जाने अवस्था नहुन सक्छ । पहाडी क्षेत्रका अधिकांश गाउँमा वृद्धवृद्धा, महिला र अशक्तहरु मात्र रहेकाले उनीहरु मतदान केन्द्रमा जान आनाकानी गरिरहेका छन् । यस्ता मतदाताहरुलाई भयरहित वातावरणमा मतदान गराउन सरकार र निर्वाचन आयोगले कसरी व्यवस्थापन गर्छ त्यो निश्चित भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *