२०८२ प्रतिनिधि सभा निर्वाचनः एमाले र कांग्रेसमा चेतना भयाँ

राजनीति समाचार

काठमाडौं । यसपालिको निर्वाचनमा जातियतावादी र क्षेत्रीयतावादी दलहरु समाप्त भएका छन् । त्यसमा २०६४ सालपछि स्थापित भएका जनता समाजवादी पार्टी,(जसपा) जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र लोकतान्त्रिक सदभावना पार्टी (लोसपा) जस्ता मधेसवादी दलहरु समाप्त भएका छन् । २०७९ सालको आमनिर्वाचनमा यी सबै राष्ट्रिय पार्टी भएका थिए । तर, २०८२ को प्रतिनिधि सभा निर्वाचनमा एक सिटमा पनि जित निकाल्न नसकेर उम्मेदवारको जमानत जफतसहित पार्टीको अस्तित्व नै नामेट भएको छ ।

उता, २०४६ सालको प्रजातन्त्र स्थापना यता ३५ वर्षसम्म भक्तपुर क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै आएको नेपाल मजदूर किसान पार्टी (नेमकिपा) पनि ढल्न पुगेको छ । त्यसैगरी २०७९ सालको आमनिर्वाचनसम्म केही सिटमा जित हासिल गर्दै आएको चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पनि यसपटक समाप्त भएको छ । त्यस्तै २०४६ सालयता पटक–पटक सरकारको नेतृत्वसमेत गर्न सफल भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि नराम्रोसँग खुम्चिएको छ । त्यसैगरी नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेतृत्वको एकीकृत समाजवादी पार्टी (एस)ले २०७९ सालको आमनिर्वाचनमा प्रत्यक्षतर्फ १० सिटमा जित हासिल गरेको थियो । तर, राष्ट्रिय पार्टी बन्न सकेको थिएन । २०८२ को प्रतिनिधि सभा निर्वाचनमा एकीकृति समाजवादी पार्टी नै नामेट भएको छ । आफ्नो पार्टी एस नेकपामा बिलय गराएर सह–संयोजक बनेका माधव कुमार नेपाल रौतहटमा नराम्रोसँग पराजित भएका छन् । माआवादीसहित २२ दल मिलेर गठन गरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्ष र समानुपातिकसहित १७ सिटमा जित हासिल गरेर राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

उता, कुनै बेला ६८ प्रतिशत मतसहित दुई तिहाइ बहुमत ल्याएको नेपाली कांग्रेस नेताबीचको आन्तरिक झगडाकै कारण गत फागुन २१ को निर्वाचनमा ३८ सिटमा खुम्चिएको छ । त्यसैगरी २०७९ सालको आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको नेकपा एमाले २५ सिटमा साँघुरिएको छ । यसपातिको निर्वाचनमा क्षेत्रीयतावादी दलसँगै नेपाली कांग्रेस नेताहरुको आन्तरिक झगडाले समाप्त भएको छ भने नेकपा एमाले नेतृत्वको घमण्ड र सल्लाकारहरुको अकर्मण्यताले समाप्त भएको छ । आगामी प्रदश र स्थानीय तहको निर्वाचनमा मधेसवादी दल, नेपाल मजदूर किसान पार्टी, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा समाप्त हुने देखिन्छ ।

त्योसँगै पार्टी नेतृत्व र सल्लाहकारहरुको यस्तै रवैया रहिरहने हो भने कांग्रेस र एमाले पनि प्रदेश र स्थानीय तहको निर्वाचनमा झन् सखाप हुने खतरा बढेको छ । त्यसमा पनि तत्कालीन माओवादीको हुटहुटीमा गठन भएको सात प्रदेश रास्वपाले खारेज गरिदिएको खण्डमा माओवादीसहित एमाले र कांग्रेस पनि एउटै खाल्टोमा पर्ने देखिन्छ । त्यसकारण एमाले र कांग्रेस तँ ठूलो कि म ठूलो भनेर घमण्ड गर्नुभन्दा देशभर छरिएर रहेका पार्टीभित्रका इमानदार, त्यागी, सिद्धान्तमा निष्ठावान, इमानदार र लामो समय पार्टी संगठनमा दुःख गरेका नेता, कार्यकर्तालाई अवसर दिँदै नयाँ ढंगले अगाडि बढ्न जरुरी छ । २०८२ को प्रतिनिधि सभा निर्वाचनबाट एमाले र कांग्रेस नेताहरुमा चेतना भयाँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *