काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको भण्डारण गरेको भने तापनि विदेशमा समस्या देखिनेबित्तिकै नेपालमा एलपी ग्याँसलगायत पेट्रोलियम पद्धार्थको कृतिम अभाव सिर्जना गर्ने परिपाटी पहिलादेखिकै हो । पेट्रोलियम पद्धार्थमा कृतिम अभाव सिर्जना गर्ने काममा आयल निगमकै उच्च तहका कर्मचारी र व्यवसायीहरुको हात हुने गरेको पाइन्छ । ट्याङ्कर व्यवसायीबीच विवाद हुँदा हड्ताल र चक्का जाम गरेर पेट्रोलियम पद्धार्थ ढुवानीमा बाधा पु¥याउने काम पटक–पटक हुँदै आएको थियो । त्यसैमा खेलेर निगमका उच्च पदस्थ कर्मचारीहरुले असुली धन्दा चलाउने गर्दथे ।
अहिले पनि पूर्वी एशियाको युद्धको कारण देखाएर पेट्रोलियम पद्धार्थमा व्यवसायीहरुले कृतिम अभाव सिर्जना गरिरहेका छन् । त्यस्तै ग्याँस कम्पनीहरुले पनि ग्याँस भरिएका सिलिन्डर लुकाएर होटल, रेष्टुरेन्टहरुमा सप्लाइ गर्ने र त्यसबाट आएको कमिसन व्यवसायी र निगमका कर्मचारीहरुले मिलेमतो गरी खाने गरेको उपभोक्ताको गुनासो छ । उपभोक्तलाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउने भनिए तापनि हप्तौं दिनसम्म लाइनमा बस्नुपर्ने वाध्यता छ । तर, आयल निगमले यस्तो विषयमा अनुगमन गरी कृतिम अभाव सिर्जना गरी कलोबजारी गर्ने ग्याँस कम्पनी र व्यवसायीलाई कारबाही गर्नुको सट्टा उल्टै उनीहरुलाई प्रोत्साहन गर्ने काम भइरहेको छ ।
यस विषय आयल निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले कुनै चासो देखाएका छैनन् । उल्टै देशैभरिका डिपोहरुमा सिनियरलाई भन्दा जुनियरलाई प्राथमिकता दिएर कमाउधन्दा सञ्चालन गरेको बताइन्छ । भट्टले प्रायःजसो मन्त्रालयमा सेटिङ मिलाएर पटक–पटक भारत भ्रमणमा गइरहने तर पेट्रोलियम पद्धार्थ भण्डारणको काममा ध्यान नदिने, कर्मचारीको भरमा सबै काम छोडिदिने गर्दै आएका छन् । त्यसले गर्दा बजारमा पेट्रोलिम पद्धार्थ अभाव गरी ब्यापारीहरुले कृतिम अभाव सिर्जना गर्न मौका पाएका छन् । तर, कार्यकारी निर्देशक भट्टले यस्ता विषयमा कुनै चासो देखाएको पाइँदैन ।
उता, आयल निगमको बबरमहलस्थित केन्द्रीय कार्यालय भवन निर्माण गर्दा ठूलो मात्रामा घोटाला भएको बताइन्छ । यता आयल निगमको कार्यालय भवन बन्दै गर्दा त्यही मेसोमा कार्यकारी निर्देशक भट्टले वनस्थलीस्थित रानीवन प्लानिङमा आफ्नो भव्य महल खडा गरेको स्रोत बताउँछ । उता, एयर पोर्टस्थित हवाइ इन्धन भण्डारण डिपो सार्ने नाममा पनि त्यत्तिकै आर्थिक घोटाला भएको बताइन्छ । त्यसैगरी देशैभरका विभिन्न ठाउँमा डिपो निर्माण गर्ने र तेल भण्डारण गर्ने नाममा व्यापक अनियमितता भएको स्रोतको दावी छ ।
निगमभित्र हुने गरेका विकृति, विसंगति र भ्रष्टाचारको विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च तहका कर्मचारी तथा मन्त्रीहरुको समेत खेलोफड्को हुने गरेको पाइन्छ । त्योसँगै आयल निगमको डिपो र कार्यालय राख्नको लागि चारआली, बिराटनगर, महेन्द्रनगर (धनुषा), विरगंज, अमलेखगंज, भलवारी, नेपालगंज र धनगढीमा जग्गा खरिद गर्दा निगममा तत्कालीन कार्यकारी निर्देशक थिए गोपाल बहादुर खड्का । खड्कालाई निगमको जग्गा खरिद गर्दा व्यापक भ्रष्टाचार भएको भनी मुद्दा लगाइएको थियो । त्यतिबेला आपूर्ति तथा वाणिज्य सचिव थिए प्रेम राई । खड्कालाई भ्रष्टाचारको मुद्दा लगाइरहँदा प्रेम राईलाई चोख्याइएको थियो ।
जब कि आयल निगको अध्यक्ष नै उद्योग वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । हाल उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधु सुदन बुर्लाकोटी निगम अध्यक्ष रहेका छन् । तीनै अध्यक्ष बुर्लाकोटी र कार्यकारी निर्देशक भट्टको मिलेमतोमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि र डिपो निर्माणमा ठूलो आर्थिक चलखेल भएको स्रोतको दावी छ ।
उता, अर्को चाखलाग्दो विषय छ बुढीगण्डी आयोजना निर्माणको लागि निगमले छुट्याएको कर बापतको अर्बौ रुपैयाँको । त्यो रकम कहाँ खर्च गरिएको छ कि बैंकमा राखेर ब्याज हिनामिना गरिएको छ त्यसको पनि एकिन नभएको स्रोत बताउँछ । अर्कोतिर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत माघ महिनामा कार्की ब्याङ्कइटमा भव्य पाटीको आयोजना गरी वार्षिकोत्सव मनाएको थियो । विभागले मनाएको उक्त वार्षिकोत्सवको खर्च आयल निगमले ब्यहोरेको बताइन्छ । सो रकममा पनि घोटला भएको आशंका गरिएको छ । उच्च पदस्थ कर्मचारीहरुको यस्तै रवैया रहिरहने हो भने कुनै दिन आयल निगम पनि टाट नपल्टेला भन्न सकिन्न ।

