काठमाडौं । सरकार बनेको हप्ता नपुग्दै सरकारले कर्मचारीहरुलाई हायलकायल बनाउन थालेको छ । मुख्यसचिवदेखि सचिव, सह–सचिव र उप–सचिवहरुको ओठतालु सुक्न थालेको छ । दलहरुको सरकार हुँदा आफूलाई जतिबेला मनलाग्यो त्यतिबेला अफिस आउने र हाटा गरेर हिड्न पल्केका कर्मचारीहरु बालेन सरकार आएको हप्तादिनमै हालयकायल हुन पुगेका छन् ।
बालेन नेतृत्वको सरकार आएपछि तिनै कर्मचारीहरुलाई बिहान १० अनिवार्य हाजिर हुनुपर्ने र बेलुका ५ बजेसम्म अफिसमै बस्नुपर्ने उर्दी जारी भएको बताइन्छ । दलहरुको सरकारका पालामा कतिपय उच्च तहका कर्मचारीहरु अध्ययन, भ्रमण र तालीमको नाममा विदेश सयर गरेर तलब खाइरहेका थिए । त्योसँगै विदेश भ्रमणको भत्ता पनि खाने गर्दै आएका थिए । तर, बालेन सरकार आइसकेपछि हिजोका दिनमा जस्तो मनमौजी घुमेर जागिर पचाउनेहरुको निदहराम हुन थालेको छ । कतिपय जुन सरकार आउँछ त्यसकै पछि लाग्ने छेपारेप्रवृत्तिका कर्मचारीहरु यतिबेला रास्वपाका नेता, मन्त्री र सांसदको चाकडी गर्न थालेका छन् ।
उता, सुमनराज अर्यालय मुख्यसचिव बनेको ५ महिना लागिसक्दा पनि कर्मचारीतन्त्रलाई चलायमान बनाउन सकेका छैनन् । कर्मचारीलाई चलायमान बनाउनुपर्नेमा मुख्यसचिव अर्यालय थपनाको रुपमा मात्रै रहेको कर्मचारीहरुको आरोप छ ।
बालेन सरकार बनेसँगै उनको चल्तीफिर्ती बढ्न थालेको बताइन्छ । तर, मुख्यसचिव अर्यालले प्रधानमन्त्री बालेनलाई रिझाउन खोजे तापनि प्रधानमन्त्रीले नयाँ मुख्यसचिवको खोजी गर्न थालेको कर्मचारीहरुको आँकलन छ । प्रधानमन्त्री कार्यालयमा सामान्य प्रशासनका सह–सचिव सन्तोष परियारलाई लाने हल्ला गरिए तापनि अहिलेसम्म लगिएको छैन । बालेनले आफ्नो मन्त्रालयमा कुन सचिव र कुन सह–सचिवलाई राख्छन् त्यो पनि अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।
अर्कोतिर उद्योग, वाणिज्य तथा आपूर्ति र रक्षामन्त्रालय पनि प्रधानमन्त्री बालेनले सम्हाल्दै आएका छन् । ती मन्त्रालयमा कुन–कुन सचिवलाई लान्छन् त्यो पनि निश्चित छैन । उता, सामान्य प्रशासन र भूमि मन्त्रालय पतिभा रावलको जिम्मेवारीमा रहेको छ । ती मन्त्रालयमा पनि पुरानै सचिवले स्थायित्व पाउँछन् कि नयाँले अवसर पाउँछन् त्यो पनि एकिन छैन । मन्त्री फेरिएसँगै सचिव र सहसचिवहरु परिवर्तन गर्ने परम्परा पहिलादेखि कै थियो । अबको नयाँ सरकारले त्यो परम्परालाई यथावत राख्छ कि तोडेर अगाडि बढ्छ त्यो पनि प्रतिक्षाको विषय बनेको छ

