वैदेशिक रोजगार विभाग हस्तव्यस्त हुँदा मन्त्री शाह बेखबर

राजनीति समाचार

। मध्यपूर्वी देशको युद्धका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरु विभिन्न देशमा अलपत्र परिरहेका छन् भने नेपालबाट विदेश जानेहरु पनि रोकिएका छन् । खाडी मुलुकमा जान समस्या परे तापनि वैकल्पिक बाटो प्रयोग गरी युरोपियन मुलुकहरुमा जाने नेपालीहरु महंगो शुल्क तिर्नुपरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रास्वपाका दीपक कुमार शाहले सम्हालेनका छन् । शाहले सो मन्त्रालय सम्हालेको पनि दुई हप्ता बितिसकेको छ ।

उनले वैदेशिक रोजगार विभागलाई सूधार गर्ने भनिरहँदा यता श्रम स्वीकृति लिएरका नेपालीहरु विदेश जान नपाएर अलपत्र परिरहेका छन् । उता, विदेशमा अलपत्र भएका नेपालीहरुलाई नेपाल झिाउने भनिए तापनि सरकार त्यसमा सफल भएको छैन । त्यसैगरी विदेशमा विभिन्न कारणले मृत्युवरण गरेका नेपालीको शवसमेत नेपाल ल्याउन ढिला भइरहेको छ । सरकारले विदेशमा रहेका शवहरु १५ दिनभित्र नेपाल झिाउने भने तापनि त्यसमा तत्परता देखाएको पाइँदैन । यता वैदेशिक रोजगार विभागमा विदेश र स्वदेशमा कामदारहरु ठगिएका उजुरी त्यत्तिकै छन् ।

बालेन सरकारले भ्रष्टाचार र अनियमितताको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्ने भने तापनि वैदेशिक रोजगार विभागमा हुने गरेका विकृति, विसंगति हटाउने प्रयास गरेको पाइँदैन । वैदेशिक रोजगारीमा जानको लागि ओरेन्टियसन तालीम पनि प्रभावकारी ढंगले दिएको पाइँदैन । हाल १४२ वटा ओरेन्टिएसन तालीम दिने संस्था दर्ता भएका छन् । ती मध्ये १३३ वटा सञ्चालनमा रहेका छन् । त्यसमा पनि गत माघ २६ गते १६ वटा ओरेन्टिएसन सञ्चालकहरुसँग वैदेशिक रोजगार विभागका कर्मचारीले प्रतिसंस्था ३ लाखको दरले पैसा उठाएको स्रोतले बताएको छ ।

ती संस्थाहरुबाट मलेसिया जाने कामदारलाई ओरेन्टिएसन गराएको भनेर विभागका कर्मचारीहरुले संस्थाहरुबाट रकम असुलेको बताइन्छ । विदेश जाने कामदारलाई ओरेन्टिएसनको तालीम नलिइकन विभागले अन्तिम स्वीकृति दिने गरेको छैन । तर, ओरेन्टिएसन तालीममा सहभागी नभएका व्यक्तिहरुलाई नक्कली प्रमाणपत्र बनाएर विभागका कर्मचारी र ओरेन्टिएसन संस्थाका सञ्चालकहरुले रकम असुल्दै आएको बताइन्छ ।

ओरेन्टिएसन शुल्क पनि रु. ७ सयबाट बढाएर २१ सय पु¥याइएको छ । देशैभरिका युवाहरु ओरेन्टिएशन तालीम लिनको लागि काठमाडौं आउँदा–जाँदा धेरै खर्च गर्नुपर्ने हुन्छ । तर, नवनियुक्त श्रम मन्त्री शाहले त्यस्तो विषयमा कुनै ध्यान दिएका छैनन् । तर, वैदेशिक रोजगार विभागमा टोकन प्रणालीलाई हटाएर छिटोछरिता सेवा उपलब्ध गराएको हवाला दिइरहेका छन् । विभागकी महानिर्देशक मिरा आचार्यलाई वैदेशिक रोजगारी सम्बन्धी कुनै ज्ञान नभएको बताइन्छ ।

आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूह, राष्ट्रिय योजना आयोगको सचिवालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आयुर्वेदिक विभाग टेकूमा काम गरेको अनुभव छ भने श्रम मन्त्रालयमा काम गरेको अनुभव अनुभव नभएको व्यक्तिलाई तत्कालीन श्रममन्त्री राजेन्द्र सिंह भण्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका थिए । अनुभवी व्यक्ति महानिर्देशक नभएकै कारण वैदेशिक रोजगार विभागमा छिटोछरितो र पादर्शी काम नभएको गुनासो आइरहेको छ ।

हाल विभागको इन्डिभिजुअल र श्रम स्वीकृति शाखामा अतिकृत हरि चापागाईँ, रामप्रसाद घिमिरे, अविराल राई रहेका छन् भने पूर्व स्वीकृति शाखामा विन्दा आचार्य रहेकी छिन् । त्यसैगरी अनुगमन शाखामा कमल श्रेष्ठ र राहत उद्दार शाखामा तेज वली रहेका छन् । त्यसमा नासु वीरेन्द्र शाहीको हालीमुहाली रहेको बताइन्छ । तर, मन्त्री शाहले वैदेशिक रोजगार विभागभित्र हुने गरेका विकृति, विसंगतिबारे कुनै चासो राखेको पाइँदैन ।

अर्कोतर्फ वैदेशिक रोजागर क्षेत्रमा म्यानपावर कम्पनीहरुले पनि फिरी भिसा र फिरी टिकटको नाममा सर्वसाधारणलाई ठगिरहेका छन भने मेनपावर सञ्चालकहरुले देशैभरि विचौलिया खटाएर गाउँ–गाउँमा पुगी विदेश जाने कामदार खोज्ने धन्दा चलाएर ठग्दै आएका छन् । त्यस्ता विषयमा सरकारका सम्बन्धित निकायले कुनै चासो राखेको पाइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *