केही मन्त्रीहरुको पेन्सन पाक्ने निश्चित

प्रमुख राजनीति

काठमाडौं । बेला बेलामा उठ्दै सेलाउदै गरेको मन्त्रिमण्डल पुनगर्ठनको विषयले फेरि चर्चा पाएको छ । चिनिँया राष्टपति सी जिनफिङ स्वदेश फर्किएलगत्तै यसले फेरि चर्चा पाएको हो । चिनियाँ राष्ट्रपति सीको भ्रमणका कारण केहीदिन सेलाएको मन्त्रिमण्डल पुनर्गठनको तयारीले सी फर्किएलगत्तै गति लिएको हो । सोमबार सरकारी निवास वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्को अध्यक्ष प्रचण्डबीच झण्डै २ घण्टा लामो संवादमा मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा सहमति जुटेसँगै प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डल पुनर्गठन गृहकार्यमा जुटेका छन् । पार्टीका दुई अध्यक्षबीच चलेको छलफल अनुसार पहिलो सबै मन्त्रीलाई राजीनामा गराएर नयाँ ल्याउने विषयमा छलफल भएको वालुवाटार स्रोतको भनाइ छ । तर प्रधानमन्त्री ओली आफ्ना अत्यन्त विश्वाश पात्र मानिने दुई मन्त्री परिवर्तन गर्न तयार छैनन् । नेकपा स्रोतका अनुसार आगामी २९ असोजमा पार्टीको चियापान कार्यक्रम आयोजना गरिएको छ । त्यसलगतै ७ कात्तिकमा प्रधानमन्त्री ओली विदेश ९अजरबैजान० निस्कँदै छन् । त्यो भन्दा अगावै मन्त्रिमण्डल परिवर्तन हुन सक्नेछ ।

प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रिमण्डलका दुई सदस्यबाहेक अरु मन्त्रीहरु परिवर्तन गर्ने सवालमा लचिलो छन् । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सञ्चारमन्त्री गोकुल बास्कोटा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबाहेक अन्य मन्त्रीहरुको कामप्रति सन्तृष्ठ छैनन् । कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरु परिवर्तन हुनेछन् । यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी परिवर्तन गरी उनलाई गृह, अर्थ वा भौतिक योजनामध्ये कुनै एक मन्त्रालयको जिम्मेवारी दिइने बालुवाटारको तयारी छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको जिम्मेवारी परिवर्तन गरिने सम्भवना प्रचुर छ । यस्तै योगेश भट्टराई, भानुभक्त ढकाल, रामबहादुर थापाहरु जिम्मेवारीमै रहने सम्भवना छ । प्रारम्भिक तयारीअनुसार कार्यसम्पादनमा अत्यन्त कमजोर देखिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योगमन्त्री मात्रिकाप्रसाद यादव, कृषिमन्त्री चक्रपाणि खनाल र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई सरकारबाट फिर्ता बोलाउने नेकपाको तयारी छ । उनीहरुको ठाउँमा नयाँ अनुहारलाई पठाइने छ । यता रघुवीरलाई हटाउँदा उनकी पत्नी जुलीलाई मन्त्री बनाउनुपर्ने प्रस्ताव आएको छ । अहिले पनि रघुवीरले सम्हालेको मन्त्रालयका सबै उठ्तीपुठ्ती धन्दा जुलीमार्फत हुँदै आएको छ । सरकारको कार्यसम्पादन अत्यन्त फितलो भएको महसुस गरेका प्रधानमन्त्री ओली सक्षम नेताहरूलाई मन्त्री बनाउने टुंगोमा पुगेका छन् । त्यसैले उनी विगतमा सक्षम सावित भएका पूर्वमन्त्रीहरू सुरेन्द्र पाण्डे, जनार्दन शर्मालाई मन्त्री बनाउने निष्कर्षमा पुगेको ओलीनिकट स्रोतको भनाई छ । जसअनुसार पूर्वअर्थमन्त्री पाण्डेलाई फेरि अर्थमन्त्री बनाइने संभावना छ । यदि इश्वर पोखरेललाई अर्थमन्त्री बनाइयो भने भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाण्डेले पाउने चर्चा नेकपा वृत्तमा छ । ऊर्जामन्त्री भएको बेला लोडसेडिङ हटाएर चर्चामा आएका जनार्दन शर्मा पूर्वगृहमन्त्री पनि हुन् । यदि बादललाई हटाइएको खण्डमा उनलाई गृहमन्त्री बनाउने प्रचण्डको योजना छ । यदि बादल कायमै रहेमा भने प्रधानमन्त्री ओलीले उनलाई ऊर्जा वा खानेपानीमन्त्री बनाउने सम्भावना पनि छ । काठमाडौंमा मेलम्ची ल्याउनुपर्ने महत्वपूर्ण जिम्मेवारी उनलाई दिने सम्भावना रहेको स्रोतको दाबी छ । यसबाहेक नेकपा स्थायी कमिटी सदस्य भीमबहादुर रावल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, देव गुरुङ, प्रभु साह तेली, अग्निप्रसाद सापकोटा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल पनि संभावित मन्त्रीको सूचीमा छन् । यस्तै मन्त्री हुने चर्चामा राजेन्द्र गौतम, पार्वत गुरुङ, विरोध खतिवडा, महेश बस्नेतदेखि शान्ता चौधरी, नारदमुनी राना थारूको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *