राजनीतिक दलहरूको कार्यशैलीले निराशामा परेको गणतन्त्र

सम्पादकीय

सम्पादकीय

२४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रलाई समाप्त पार्दै गणतान्त्रिक मुलुक भएको १३ वर्ष पूरा भएको छ । २०६२÷०६३ सालको सफल जनआन्दोलनको निर्देशनअनुसार पुनस्र्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकले २०६३ जेठ १५ गते राजतन्त्रलाई समाप्त पार्दैै मुलुकमा गणतन्त्र स्थापना गर्ने निर्णय गरेको थियो । यसरी जनआन्दोलनको जगमा गणतन्त्र स्थापना भए पनि यो गणतन्त्रले जनताले गरेको अपेक्षालाई भने अहिलेसम्म सम्बोधन गर्न सकेको छैन । राजनीतिक दल र नेताहरूको कारणले गर्दा पछिल्लो समयमा यो मुलुकमा गणतन्त्र नै बद्नाम र असफल भइराखेको छ । यही कारणले गर्दा नै राजतन्त्र समाप्त पारेर गणतन्त्र स्थापनाका लागि ज्यानसमेत बलिदान गर्न सडकमा उत्रिएका जनताले अहिले एउटा राजालाई समाप्त पारेर दशौं राजालाई भोग्नु परेको निराशाजनक र आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।
वास्तवमा नेपालमा राजनीतिक दलहरू र नेताहरूकै कारण लोकतन्त्र असफल र बद्नाम भइराखेको छ । आफूहरूको कारण लोकतन्त्र बद्नाम भएको वास्तविकतालाई मनन गरेर २०६२÷०६३ को आन्दोलन प्रारम्भ गर्नु अगाडि संसदीय दायरामा रहेका सात दल र विद्रोही माओवादीले संयुक्तरूपमा वक्तव्य जारी गर्दै विगतमा भएका कमीकमजोरी नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, २०६२÷०६३ को आन्दोलन सफल भएर सत्तामा पुगेलगत्तै राजनीतिक दलहरूले यो प्रतिबद्धतालाई बिर्सिएको अनुभूति जसले पनि गर्न सक्दछ र राजनीतिक दलहरूकै काम कारबाही र व्यवहारको कारण यो मुलुकमा गणतन्त्रसमेत बद्नाम र असफल भइराखेको छ । यही कारणले गर्दा नै केही समययताबाट स्वतःस्फूर्तरूपमा संवैधानिक राजतन्त्रको पक्षमा नागरिकहरू सडकमा उत्रिएर नारा लगाउन थालेका छन् । गणतन्त्रले जनताले गरेको अपेक्षालाई सम्बोधन गर्न नसकेको भए पनि मुलुकमा गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । तर, कुनै पनि राजनीतिक दलले गणतन्त्र स्थापनाको अवसरमा गणतन्त्रको आडमा भएको कमजोरी र गरेको बद्मासीको समीक्षा गर्ने कष्ट भने गरेका छैनन् र अहिले पनि विगतमा जस्तै राजनीतिक दलहरू सत्ताकै लागि विवाद गरिराखेका छन् । यो विवादले मुलुकलाई कहाँ पु¥याउँछ भन्ने यक्ष प्रश्न आफ्नो ठाउँमा छ । र, यो विवादले निश्चितरूपमा राजनीतिक दुर्घटना ल्याउन सक्ने खतरालाई कसैले पनि इन्कार गर्न सक्दैन । तर, राजनीतिक दलहरू भने जनतालाई गरेको वाचासमेत भुलेर सत्ताको लागि चर्को विवाद गरिराखेका छन् । यही कारणले गर्दा नै जनताको ठूलो बलिदानबाट आएको संविधानमा समेत खतरा उत्पन्न हुन थालेको टिप्पणी आउन थालेको छ । तर, सत्ताका लागि लुछाचुँडी गरिराखेका राजनीतिक दलहरूले यो खतराको अनुभूति अहिलेसम्म गरेको देखिँदैन । यही कारणले गर्दा पनि राजनीतिमा दुर्घटना हुन सक्ने र त्यो दुर्घटनाले सबभन्दा पहिले राजनीतिक दललाई नै आफ्नो चपेटामा लिने सम्भावना रहेको छ । र, अहिलेको अवस्थाका लागि विगतमा जस्तो राजतन्त्रलाई दोष दिएर राजनीतिक दलहरू उम्किन ठाउँसमेत छैन ।
जे भए पनि जनताको त्याग र बलिदानबाट आएको गणतन्त्र स्थापना भएको १३ वर्ष पूरा भएको छ । तर, यो १३ वर्षको गणतान्त्रिक अवधिको मूल्यांकन राजनीतिक दलहरूले इमान्दारीपूर्वक गरेर त्यही मूल्यांकनको ढाँचामा आफ्नो कार्यशैलीलाई पनि ढाल्ने हो भने निश्चितरूपमा जनताले गणतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् । र, गणतन्त्रमाथि कतैबाट खतरा पनि उत्पन्न हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *