मन्त्री बन्न खुट्टा उठाएकाहरु हिस्स

समाचार

काठमाडौं । गत साता प्रधानमन्त्री केपी ओलीले आफ्नो क्याबिनेट १८औँ पटक हेरफेर गरे । जुन हेरफेरप्रति एमालेभित्रै असन्तृष्टी जन्मिएको छ । प्रधानमन्त्री ओली ०७४ फागुन ३ मा प्रधानमन्त्री बने यता १८ पटक आफ्नो मन्त्रिमण्डल बिस्तार गर्दा हरेकपटक चर्चामा आउने पात्र हुन् महेश बस्नेत । १८ पटकसम्म अब मन्त्री बन्दै छन् भनेर आफूनिकटका अनलाइन र पत्रिकामा खबर लेखाउन भ्याए बस्नेतले तर १८औँपटक चिसो पानीले नुहाउन विवश भएका छन् उनी । यो पटक पनि मन्त्री नबनाइएपछि उनले सामाजिक सञ्जालबाटै तीतो पोखेका छन् । दुई साताअघि ओलीले क्याबिनेट बिस्तार गर्दा उनी गृह वा सञ्चार मन्त्री बन्न लागेको हल्ला चलाइयो । तर सो ठाउँमा क्रमशः पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी र बादलको पत्नी नैनकला थापालाई ल्याइयो ।
उसो त मन्त्री बन्नका लागि खुट्टा उचालेर चिप्लिएका उनी एक्ला पात्र होइनन्, प्रधानमन्त्री ओलीका अर्काे विश्वासपात्र गोकुल बास्कोटा फेरि सञ्चारमा दोहरिन लागेका हल्लाहरु चले । समाचारहरु लेखाइए उनी पनि चिल्लै भएका छन् । यस्तै मन्त्री बन्ने चर्चामा थिए विशाल भट्टराई, खोटाङबाट विजयी भएका । उनी अहिले नेकपा संसदीय दलको प्रमुख सचेतक बनाएका थिए । यस्तै संखुवासभाबाट विजयी राजेन्द्र गौतम मन्त्री नबनाइएपछि रुष्ट बनेका छन् र उनी ईश्वर पोखरेल खेमाको । ईश्वर पोखरेललाई फिर्ता बोलाइएपछि राजेन्द्रलाई मन्त्री बनाइएर ईश्वरलाई सान्त्वना दिने चर्चा चले पनि उनी मन्त्री बनाइएनन् । यस्तै धनकुटाका राजेन्द्र राई, सुनसरीका जयकुमार राई, काठमाडौका कृष्णकुमार राई, सुदूरपश्चिमका यज्ञ बोगटी, लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पत्नी सुजिता शाक्य, नवराज सिलवालसम्म मन्त्री बन्नका लागि खुट्टा उचालेर बसेका थिए तर सबैले चिसो पानीले नुहाएका छन् ।
जनाधार नभएकाहरुकै बेग्लै चुरीफुरी
एमाले विभाजनको डिलमा छ । प्रधानमन्त्री ओली सत्ताबाट आज बाहिरिनु पर्ने हो वा भोलि टुंगो छैन । सर्वाेच्चमा १४६ (बहुमत) सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने रिट दायर भएकोमा अघिल्लो साता सर्वाेच्चको संवैधानिक इजलाशले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आगामी १५ असारभित्रै यो विवाद निष्कर्षमा पु¥याउने अदालतको तयारी छ । यस्तो स्थितिमा एमालेको एक पंक्ति कार्यकर्ताको भावनाअनुसार पार्टी एक ढिक्का हुनुपर्ने र फुट्नु नहुने तर्क गर्दै पार्टी एक बनाउन लागिपरेका छन् । जस्को पक्षमा जनाधार छ, जो प्रत्यक्ष निर्वाचित हुन्, उनीहरु पार्टी फुट्न हुँदैनन् भन्दै छन् अनि जो पार्टीलाई सहयोग गरेर सामानुपातिकमा परेका हुन् उनीहरु चाहिँ पार्टी फोड्न पर्दछ, अलग हुनुपर्दछ भनेर माधव नेपाललाई दबाब दिइरहेका छन् । जस्तो केपी ओलीसँग टिक्नै नसकिने र एमाले छाडेर हिँडिहाल्नु पर्दछ भन्नेमा अग्रपक्तिंमा आउँछन्, भीम रावल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, अमृत बोहोरा, बेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विजय पौडेल र रामकुमारी झाँक्री । जसमध्ये युवराज ज्ञवालीले आजसम्म प्रत्यक्ष निर्वाचन जितेको रेकर्ड छैन । मुकुन्द, अमृत, बेदुराम भुषाल, रघुजी पन्त, रामकुमारी झाँक्रीहरुको जनाधार बलियो छैन, भूगोलमा राम्रो स्थिति छैन । जनतामाझ, भूगोलमा अलि राम्रो देखिएका भीम रावल र अष्टलक्ष्मी शाक्य मात्र हुन् ।
कुनै समय माधव नेपालसँग प्रतिनिधि सभामा ४० सांसद थिए । अहिले घटेर २३ मा खुम्चिएको छ । त्यसमध्ये पनि माधव नेपालका खास मानिएका र जनतामाझ लोकप्रिय नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टहरु प्रधानमन्त्री ओलीसँग नजिकिने क्रम जारी छ । उनीहरु एमाले कुनै हालतमा फुट्नु हुँदैन भन्ने पक्षमा देखिन्छन् । संसद पुनस्र्थापना हुँदासमेत अहिलेकै सरकारको निरन्तरता हुनुपर्ने भन्दै सर्वाेच्चमा ४६ सांसदले हस्ताक्षर गर्दा गोकर्ण र योगेशले हस्ताक्षर गरेनन् । त्यही बदलामा वालुवाटारले फेरि योगेशलाई आफूतिर तान्न खोजेको थियो । अस्ति बिस्तार गरेको मन्त्रीमण्डलमा योगेशले सञ्चार मागेको चर्चा छ । उनी क्याबिनेटमा नगए पनि उनका खास मानिने गणेश पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ ।
उता माधव खेमामा मात्र होइन, ओली खेमाकाहरु पनि उस्तै छन् । ओलीका परिक्रमा गरेकाहरु विष्णु रिमाल, सूर्य थापा, ईश्वर पोखरेलहरु पार्टी एकता जोगाउने पक्षमा छैनन् तर भूगोलमा भिजेकाहरु, जनाधार बलियो भएका नेताहरु पार्टी कुनै हालतमा फुट्न नदिने पक्षमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *