सहसचिवमा बढुवा भएकाहरूको व्यवस्थापनमा समस्या

प्रशासन

काठमाडौ । परराष्ट्र मन्त्रालयले तीन दिनमा पाँच जना सहसचिवमा बढुवा ग¥यो । लामो समयको अन्तरालपछि सो सेवाका पाँच उपसचिव सहसचिवमा उक्लिए । जेष्ठता, कासमु र कार्यक्षमता मूल्यांकनका आधारमा ती कर्मचारी बढुवा सिफारिस भएकाहरूमा कृष्णचन्द्र अर्याल, धनबहादुर ओली, सुधिर भट्टराई ,घनश्याम लम्साल र तेजबहादुर क्षेत्री छन् ।
वरिष्ठता र फुल दरबन्दीको किचलोले मुद्दामा गएका कारण थप एक वर्ष ढिला गरी उनीहरू सहसचिव उक्लिए । सहसचिवमा उक्लिएका मध्ये चार जना गुल्मी, पाल्पा, अर्घाखाँची र दाङका छन् भने एक जना सहसचिव प्रदेश–१ (झापा) का हुन् । सहसचिव भएपछि मात्र पोष्टिङ जाने मनस्थिति बनाएर पाँच वर्षदेखि बढुवा होला भनेर मन्त्रालयमा कार्यरत तेजबहादुर क्षेत्री सहसचिव भएका छन् । उनीसँगै सुधीर भट्टराई (हाल ब्रसेल्स) र घनश्याम लम्साल (हाल दक्षिण अफ्रिका) दुई दिनअघि बढुवा भएका छन् । त्यसैगरी कृष्णचन्द्र अर्याल र धनबहादुर ओली पनि सहसचिव भएका छन् । अर्याल जापानबाट फर्केका हुन भने ओली बंगलादेशबाट फिरेका हुन् । एकै पटक यसरी बढुवा भएका पाँच कर्मचारीको व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालाई सकस परेको छ । न त बस्ने ठाउँ, न त सवारी साधन । बढुवा भएका यी कर्मचारीहरूको व्यवस्थापन अहिले परराष्ट्रका लागि टाउको दुखाइको विषय बनेको छ । परराष्ट्र मन्त्रालयका सबै शाखा पूर्ण छन् । कतै पोष्टिङ गर्ने ठाउँ पनि छैन । यस्तो स्थितीमा बढुवा भएका कर्मचारीलाई अब कहाँ खटाउने ? के जिम्मेवारी दिने ? यो समस्याले परराष्ट्रका कर्मचारीलाई पोल्न थालेको छ । भएको कोटा नै घटाएर आफूनिकट मानिसलाई बाहिरबाट राजदूत बनाएपछि अघिल्लो हप्ता मात्र सहसचिवमा उक्लिएका कर्मचारीलाई बस्ने ठाउँ र गाडीको व्यवस्था मिलाउन हम्मे–हम्मे परेको छ ।
यसै त सामान्य प्रशासन मन्त्रालयसँग कुरा नमिलेपछि उनीहरूको बढुवा लम्बेतान भयो । मुद्दा अदालतसम्म पुग्यो । राष्ट्रपति कार्यालय, युरोप–अमेरिका, साउथ र इस्ट एसिया एण्ड प्यासिफिक र क्षेत्रीय संगठन हेर्ने महाशाखामा सहसचिव पदस्थापना हुनसक्छन् । तर, अन्य स्थानमा सबै पूर्ण छन् । परराष्ट्रमा व्याच प्रणाली नहुँदा २०५४ सालमा शाखा अधिकृतबाट सेवा प्रवेश गरेकाहरू बल्ल सहसचिव हुन पुगेका छन् । यसअघि नै कैयन व्याचीहरू सहसचिव भइसके । अहिले सहसचिव भएका सबै कार्यबाहक राजदूत भइसकेका छन् । सहसचिवको व्वस्थापनमै समस्या झेलिरहेको परराष्ट्रमा लगत्तै ६ जना शाखा कुल मगर, सिवानी बस्नेत, ललिता सिलवाल, सविता नकर्मी, सिता बस्नेत र मुदिता बज्राचार्य उपसचिव थपिँदैछन् । तिनको व्यवस्थापन कसरी गर्ने हो ? टाउको दुखाइको विषय बन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *