१० वर्षपछि काठमाडौमा कामकाजी मानिस बस्न सक्न छैनन्

अन्तरवार्ता

काठमाडौं नेपालको केन्द्रीय राजधानी सहर तथा मुलुककै पहिलो महानगर पनि हो । यस महानगरको नजिकका रूपमा रहेका दुई ठूला सहरहरूमध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् । धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस सहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रूपमा रहेको यो उपत्यका हजारौँ प्रकृतिका चाड पर्व, जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको छ भने, नेपालीहरूमध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतिको खानी कै रूपमा समेत रहेको छ । कला, संस्कृतिको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरूमध्येको एक सहरका रूपमा रहेको यस सहरमा स्वयम्भु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्रलगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौं स्थलका कारण नेपाल भित्रने पर्यटकहरूको प्रमुख गन्तव्यस्थलका रूपमा पनि यस महानगर रहेको छ । इतिहासदेखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रूपमा रहिआएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ । विश्वकै सुन्दर सहरका रूपमा कहलिएको काठमाडौं महानगरपालिकालाई सुन्दर र व्यवस्थित सहर बनाउन चुनौतीका भारी छन् । जथाभावी पार्किङ, अस्तव्यस्त बजार व्यवस्थापन, फोहोर व्यवस्थापनमा देखिएको समस्या, धुँवा र धुलोको सास्तीले महानगरको सौन्दर्य हराउँदै जान थालेको छ । नेपालीहरूको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै छ । यो अवस्थामा बजार अनुगमन, पार्किङ, फुटपाथका व्यवसायीलाई व्यवस्थित गर्ने, महानगरपालिकाको पछिल्लो अवस्था र भावी योजना तथा नगर प्रहरीले गर्नुपर्ने कामलगायतका विषयमा तामाकोशी सन्देशले काठमाडौं महानगरपालिका नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटासँग गरेको कुराकानीको अंश ः

नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै छ, यो अवसरमा राजधानीलाई व्यवस्थित गर्न तपाईंहरूको के–कस्ता योजना छन् ?
चाडपर्वको समयमा अरु समयभन्दा धेरै नै भिडभाड हुन्छ । यो समयमा पार्किङहरू पनि ज्यादा हुन्छ जसको कारण मानिसहरूलाई हिँडडुल गर्न र अरु सवारीसाधनलाई आवतजावत गर्न समेत कठिन हुन्छ । जाम पनि हुन्छ । हामी नेपालीहरूलाई कसैलाई नभएको हतार हुन्छ र ओभरट्याक गर्ने संस्कार नै बसेको छ, जसको फलस्वरूप दुर्घटनासमेत हुन्छ । त्यस्तो अवस्था नआओस् भन्नका लागि हामीले मुख्य–मुख्य सहरहरूमा हाम्रा कर्मचारीहरू खटाउँछौँ । त्यस्तै, यो समयमा ठगी गर्ने पनि ज्यादा हुन्छ । ठगी भएको छ या छैन भनेर हामीहरूले अनुगमन पनि गरिरहेका छौँ । ठाउँ–ठाउँमा दण्ड जरिबाना पनि गरिरहेका छौँ । बाटोहरूमा सामान बेच्नेहरूको सामान जफत गरेका छौँ । ट्राफिक अवस्थालाई सहज बनाउनको लागि हामीले दुई ओटा ट्रक परिचालन गरेका छौँ । जहाँ पायो त्यही पार्किङ गरेर आवतजावतमा समेत कठिन बनाएर पार्किङ गरेका मोटरसाइकलहरूलाई उठाएर जरिबाना कारबाही गर्छौँ । थोरै जनशक्ति भएकाले चहलपहल धेरै हुने ठाउँमा हामीले नगर प्रहरी परिचालन गरेका छौँ ।

० नगरप्रहरीको मुख्य कामहरू के–के हुन् ?
हाम्रो मुख्य काम भनेको सहरलाई सुव्यवस्थित राख्नु, काठमाडौंका मुख्य सडकदेखि स–साना गल्लीसम्म अतिक्रमणमुक्त गर्नु, फोहरमैला नियन्त्रण र कारबाही गर्नु, प्रदूषणमुक्त राख्नु, छाडा पशु नियन्त्रण गर्नु समग्रमा काठमाडौंको मौलिकताअनुसारका सुव्यवस्था कायम राख्नु हाम्रो मुख्य काम हो । सोहीअनुसार नै हामीले काम गरिरहेका छौँ ।
० कुकुर पाल्नको लागि दर्ता गर्नु पर्ने हो अब ?
स्थानीय तहमा दर्ता गर्नुपर्ने छ । साथै केही जिम्मेवारी पनि थपिएका छन् । घरधनीले मनपरी कुकुर पाल्ने, तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडिदिने प्रवृत्ति बढेको छ । त्यसबाट सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने प्रवृत्तिबाट दिक्क भएपछि यस्तो नियम ल्याउन खोजेका हौँ । स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न पाइने छैन । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नुपर्नेछ । महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियानअन्तर्गत आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । कुकुर पाल्न नसकेर छाडा छोड्ने, बाटोमा मलमूत्र त्याग गराउनेलगायतका समस्या समाधान गर्न दर्ता गरेर मात्रै कुकुर पाल्नुपर्ने नयाँ प्रावधान तय गरिएको छ ।
० महानगर क्षेत्रभित्रका अस्तव्यस्त बजार छ । त्यसलाई नियन्त्रण गर्न कसरी सकिन्छ ?
विशेष गरेर हाम्रो देशको सडकपेटीमा हुने अस्तव्यस्त बजार नियन्त्रण गर्न नगर प्रहरी खटिरहेको छ । हामी यसरी दिन प्रतिदिन खटिरहे पनि सडकमा व्यापार गर्ने व्यापारीको संख्या वृद्धि हुँदै गएको छ । जहाँसम्म नियन्त्रणको पाटो छ, हामीले पिक आवरमा भने सडकमा समान राख्न दिएका छैनाँै । अटेर गर्ने व्यापारीलाई हामीले कानुनी दायरामा ल्याएर कारबाही गरिरहेका छौँ ।
० जथाभावी रोकिएको सवारी व्यवस्थित गर्न के गरिरहनुभएको छ ?
तोकिएको स्थानमा बाहेक अव्यवस्थितरूपमा पार्किङ गरिने दुईपांग्रे सवारीसाधनलाई पार्किङस्थलबाटै नियन्त्रणमा लिएर प्रत्येक मोटरसाइकललाई १ हजार रुपैयाँ जरिबाना गरिरहेका छौँ । हाल दुईवटा ट्रक ट्राफिक प्रहरीहरूसँग संयुक्तरूपमा खटाइरहेका छौँ । सम्पूर्ण सहरलाई प्रभाव दिन हाल खटाइरहेको जनशक्ति र सवारीसाधन अपुग रहेको भएता पनि ट्राफिक व्यवस्थापन र त्यसको प्रभाव हेरेर खास–खास स्थानलाई मात्र फोकस गर्न सकिरहेका छौँ ।

० पार्किङको अवस्था कस्तो छ ?
राजधानीका ‘स्ट्रिट पार्किङ’ वास्तवमै भन्ने हो भने मापदण्डअनुसार छैनन् । तर, सहरको मौलिकता र आवश्यकतालाई ध्यानमा राखेर पार्किङ अनुमति दिन हामी बाध्य भएका छौँ । ‘अफ स्ट्रिट पार्किङ’लाई बढावा दिन प्रत्येक व्यावसायिक घरलाई भूमिगत पार्किङमा जोड दिएका छौँ । निजीस्तरबाट तयार गरिएका पार्किङ व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ । हालसम्म करको दायरामा समेत नल्याई स्वतन्त्ररूपमा पार्किङ सञ्चालन गर्न दिइएको छ । राजधानीका व्यस्त ठाउँमा धेरैले पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले प्राथमिकतापूर्वक निजी क्षेत्रलाई आह्वान गरिरहेको छ । हालैका दिनमा विकास भएका व्यापारिक मलहरूले नयाँ बजार व्यवस्थित हुँदै जानुको साथै पार्किङको व्यवस्थापनसमेत क्रमशः सुधार हुँदै गएको छ ।
० गाईवस्तु ट्रयाकिङ गरी माइक्रो चिप्स जडान कार्य के हुँदैछ ?
काठमाडौं महानगरभित्रका गाईवस्तु ट्रयाकिङ गरी माइक्रो चिप्स जडान सुरू भएको छ । काठमाडौं महानगरपालिकाले गएको साउन २५ गतेदेखि ३२ वडाबाट चिप्स लगाउन सुरू गरेको हो । छाडा पशु–चौपायको पहिलो प्राथमिक उपचार नेपालको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाले सबै वडामा रहेको गाई, गोरुलगायत चौपायामा चिप्स जडान सुरू गरेको छ । जर्मन प्रविधिबाट बनेको सो चिप्स गाई र गोरुको देब्रे कानमा लगाइन्छ । झट्ट हेर्दा चिप्स जडान गरेको हो वा होइन भन्ने विषयमा कसैलाई पनि जानकारी हुँदैन । सबै वडामा गाई र गोरुमा चिप्स जडान गरेपछि मोबाइल एप्समार्फत गाईवस्तुको सम्पूर्ण विवरण जानकारी लिन सकिन्छ । गाईवस्तु पाल्ने र बूढो भएपछि सडकमै छाड्ने प्रवृत्ति बढेपछि सबै गाईवस्तुमा चिप्स जडान गर्न लागेको हौँ । हामी चालू आर्थिक वर्षभित्र सबै गाईवस्तुलाई चिप्स जडान गर्नेछौँ । चिप्स जडान गरेपछि जग्गा वा घर भाडामा लिएर गाई पालेको रहेछ भने घरधनीको नाम, गाईको उमेर, पालक र धरधनीको फोन नम्बर, बाच्छो वा बाच्छी भए उनीहरूको उमेर, दुधालु गाईको दूधको परिमाणसमेत जानकारी लिन सकिन्छ । छाडा गाईवस्तुका कारण सवारी दुर्घटना बढ्न थालेपछि नयाँ प्रविधि प्रयोग गरेका छौँ । अब घरमा पालिएका सबै गाई र गोरुमा चिप्स जडान गरेपछि गाईधनीले बाटोमा वा कतै गाई छाड्दा सजिलै गाईधनी पत्ता लगाएर कारबाही गर्न सकिन्छ ।
० सवारीसाधन व्यवस्थित गर्न कस्तो योजना ल्याउनुभएको छ ?
हाम्रो क्षमताभन्दा बढी सवारीसाधन काठमाडौं उपत्यकामा भित्रिने क्रम जारी छ । यो क्रम रोकिने सम्भावना पनि देखिँदैन, तर हाम्रा सडक पूर्वाधारको क्षमता निश्चित छ । तसर्थ व्यवस्थापन पक्षलाई सवल बनाउनुको विकल्प छैन । साथै सरकारले नै उपत्यकाको सवारी योजनाका लागि स्थायी संरचना खडा गरी नियमित अनुसन्धान र कार्यान्वयन योजना ल्याउनुपर्दछ । जुन कुरा उपत्यकाव्यापी हुन जरुरी छ । कुनै एउटा मात्र महानगरपालिकाले तयार गरेको योजनाले उपत्यकाको समस्या समाधान हुन सक्दैन । उपत्यकाको सबै नदी करिडोर निर्माण गर्न जरुरी छ । साथै चक्रपथबाहिरका लिंकरोडलाई थप व्यवस्थित गरी बाहिरी चक्रपथ निर्माण गर्न जरुरी भइसकेको छ । उपत्यकाकै रोड नेटवर्क विकास गर्न सरकारले अलग्गै एक समर्पित निकाय खडा गरी सडक तयार गर्ने र प्रत्येक नगरपालिकालाई त्यसको संरक्षण र सञ्चालन अधिकार हस्तान्तरण गर्न जरुरी छ । यथास्थितिमा रहे अबको १० वर्ष पछि काठमाडौं उपत्यका कामकाजी मानिस बस्ने स्थानको रूपमा रहन गाह्रो छ । समयमै सोच विचार पु¥याउन जरुरी छ ।

राजधानीका सबै क्षेत्रमा निःशुल्क पार्किङ हटाउन लागिएको हो ?
एउटा निश्चित समयमा सर्वसाधारणको समेत सुविधालाई ध्यानमा राखी निःशुल्क पार्किङ खुला गरिएको हो । यस्तो व्यस्त महानगरमा निःशुल्क पार्किङ सम्भव हुने विषय नै होइन । त्यसैले सहरका विभिन्न व्यस्त स्थानका सडक किनारमा ‘पे–पार्किङ’का रूपमा विकास गर्न लागिएको छ । सहरको व्यस्तता हेरेर पार्किङ शुल्कसमेत विविधिकरण गर्ने योजनामा रहेका छौँ । अहिलेसम्म कति स्थानमा सशुल्क पार्किङ दिने भन्ने विषमा अध्ययन गरिरहेका छौँ । काठमाडौं महानगरपालिका व्यवस्थित सहरको परिकल्पनासहित सशुल्क पार्किङ खुला गर्न लागिएको छ । निःशुल्क पार्किङ र कुशल व्यवस्थापनसँगै जाने विषय नै होइनन् । बिनाशुल्क व्यवस्थापन सम्भव छैन । सधैंभरि निःशुल्क पार्किङ हाम्रोजस्तो सहरमा सम्भव हुने कुरै होइन । शुल्कबाटै व्यवस्थापन गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । व्यवस्थापनमा सुधार गर्नेतर्फ महानगर सधैं सचेत छ । त्यसैले करिब ८२ स्थानमा सशुल्क पार्किङ खुलाउने योजना छ । अहिले पार्किङ अव्यवस्थित भएको कारणले गर्दा अपार्टमेन्ट, हाउजिङ, ठूला बिल्डिङ निर्माण गर्दा अनिवार्य पार्किङ गरिएको छ । नभए नक्सा नै पास नहुने नियम छ । जसको कारण क्रमागत रूपमा केही सुधार भएको छ ।
नगर प्रहरीको कार्यक्षेत्र कहाँसम्म रहेको छ ? कति क्षेत्रमा काम गरिरहनुभएको छ ?
कामपाका ३२ वटा वडा कार्यालयका सम्पूर्ण क्षेत्र नै नगर प्रहरीको कार्य क्षेत्र हो । हाल सम्पूर्ण क्षेत्रलाई चार क्षेत्रमा विभाजन गरी काम गरी रहेका छौँ । हामीले धोबीखोला पूर्वका महानगर पूर्व क्षेत्र हो । विष्णुमती पश्चिमको महानगर पश्चिम क्षेत्र हो । लैनचौर उत्तर उत्तर क्षेत्र हो भने बाँकी व्यस्त मुख्य सहर मध्य क्षेत्र हो ।

तपाईंहरूको कामबाट जनप्रतिनिधि सन्तुष्ट हुनुहुन्छ ?
व्यस्त सडकलाई कामचलाउ स्तरमा सञ्चालन गर्नसम्म सफल भएका छौँ । दीर्घकालीन योजनासमेत सँगै लैजान जरुरी छ । सन्तुष्टि प्राप्त गर्ने गरी हाल कसैले पनि कार्य सम्पादन गर्न सकेका छैनन् । तर, आसा जगाउन र भरोसा गर्न सक्ने परिणाम निकाल्न सफल भएका छौँ । तथापि जनप्रतिनिधिकै योजनाअनुसार काम गरिरहेका छौँ । मेयर, उपमेयर, वडाध्यक्ष विभिन्न विभागीय प्रमुखहरूको योजनाअनुसार काम गरिरहेका छौँ ।

सुन्दर राजधानी बनाउन के गर्नु पर्ला ?
प्राकृतिक र संस्कृतिको धनी हो हाम्रो काठमाडौं । यहाँ सुन्दर र हावापानीको हिसाबले अत्यन्तै स्वच्छ स्थान हो । तर, हामीले यहाँको प्राकृतिक सुन्दरताको दोहन गरेर कुरूप बनाइसक्यौँ । तथापि आजैका मितिबाट यसलाई बचाउनेतर्फ हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ । काठमाडौं उपत्यकाको मौलिक पहिचान भनेको धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक विशेषता हो । साथै संघीय राजधानीसमेत भएकाले यसको मौलिकतामा आँच आउने वस्तुलाई नकार्न सक्नुपर्दछ । दृश्य प्रदूषणलाई नियन्त्रण, हरियाली प्रवद्र्धन, विशेष सरसफाइ र धुवाँ–धुलोमुक्त काठमाडौं बनायौँ भने प्रकृतिले दिएको अनुपम सुन्दरताले धिकार्ने थिएन कि ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ?
न्ोपालीहरूको महान पर्व नजिकदै छ । यो अवस्थामा बजार भिडभाड, यही समयमा ठगी प्रवृत्ति ज्यादा, गुणस्तरहीन वस्तु बिक्री वितरण, घरमा ज्यादा मात्रामा फोहोर थुप्रिन सक्छ । ती सबै समाधान हुने छ । जथावाभी पार्किङ गर्नेलाई हामी कारबाही गर्नेछौँ । ठगी गर्नेलाई हामी कानुनी दायरामा ल्याउने छौँ । फोहर मैला जथाभावि फाल्नेलाई कारकाही गर्ने छौँ र फोहोर थुप्रने छैनौ । साथै आउँदै गरेको विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा सम्पूण नगरवासीहरूमा शुभकामना व्यक्त गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *