अधिकांश मन्त्रालय मन्त्रीबिहीन, दैनिक काम अलपत्र

राजनीति समाचार

काठमाडौं । गत पुस ११ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनउन्मुक्ति पार्टीलगायतका पार्टी र दुई स्वतन्त्रको समर्थनमा बनेको प्रचण्ड नेतृत्वको सरकार यतिखेर विश्वासको संकटमा परेको छ । किन भने यो सरकारलाई समर्थन गर्ने ठूलो पार्टी नेकपा एमालेले सत्ताबत्राट बाहिरिनुको साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सत्ताबाट बाहिरिएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । त्योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने सत्ताबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका छैनन् । त्योसँगै अहिले सत्तासमिकरणको ठूलो दल नेकपा एमालेले सरकारबाट हात झिकेपछि अधिकांश मन्त्रालयहरु मन्त्री बिहीन बनेका छन् ।

त्यसैगरी राप्रपा र रास्वपाले सम्हालेका मन्त्रालय पनि मन्त्री बिहीन भएका छन् । यसरी सत्तासमिकरण परिवर्तन भएपछि अहिले प्रधानमन्त्रीको जिम्मा १६ वटा मन्त्रालय परेका छन् । यसरी मन्त्रालय मन्त्री बिहीन भएपछि ती मन्त्रालयको काम भने अहिले अलपत्र अवस्थामा छन् । प्रधानमन्त्री प्रचण्डले सम्हालेका मन्त्रालयहरुमा मन्त्री त छैनन् नै कर्मचारीसमेत अलमलमा पर्दा सेवाग्राहीको काम ठप्प भएको छ । नयाँ समिकरणबाट मन्त्रिमण्ड विस्तार गर्न पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कारण ढिला हुने देखिन्छ ।

किन भने राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको परिणाम कुर्नुपर्ने देखिन्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्रै कुन दलले कति मन्त्रालय पाउने हुन् र कुन दलबाट कसलाई मन्त्रीमा पठाउने एकिन हुने देखिन्छ । अहिले बनेको नयाँ समिकरण कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने गरी निर्माण भएको हो ।

यदि उनी राष्ट्रपतिमा निर्वाचित भएनन् भने फेरि समिकरणले अर्को मोड लिन सक्छ । त्यसकारण पनि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन अगाडि नयाँ मन्त्रिमण्डलले पूर्णता पाउने देखिँदैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि आठ दलीय गठबन्धनभित्र पनि मन्त्रालय भागबन्डामा ठूलो किचलो हुने देखिन्छ । त्यो किचलोले गर्दा मन्त्रिमण्डल विस्तार हुन कम्तिमा पनि चैतको पहिलो साता कुर्नुपर्ने छ ।

अहिले अधिकांश मन्त्रालयहरु मन्त्रिबिहीन छन् । प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका मन्त्रालय पनि उनको राजनीतिक व्यस्तताका कारण काम बिहीन भएका छन् । यतिबेला प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका महत्वपूर्ण मन्त्रालयहरु विकास निर्माणदेखि शान्तिसुरक्षा र दैनिक कामकाजबाट बिमुख भएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *