प्रचण्डलाई राष्ट्रपति र मन्त्रिमण्डल भागबन्डाको चिन्ता

राजनीति समाचार

काठमाडौं । सातदलीय गठनबन्धन र दुई स्वतन्त्र गरी बनेको तत्कालीन सरकार ६२ दिनमै भताभुङ्ग भएपछि माओवादी अध्यक्ष प्रचण्डले आठदलीय समर्थनमा अर्को सरकार गठन गरेका छन् । यतिबेला तत्कालीन सरकारका मन्त्रीहरुले सम्हाल्दै आएको १६ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैले सम्हालेका छन् ।

ती मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा भए तापनि अहिलेसम्म कुनै काम हुन सकेको छैन । मन्त्री नभएपछि १६ वटा मन्त्रालय सम्हाल्न पनि प्रधानमन्त्री प्रचण्डलाई मुस्किल परेको छ । एकातिर राष्ट्रपति निर्वाचनको तनाव छ भने अर्कोतिर मन्त्रालय भागबन्डाको चिन्ता त्यत्तिकै बढेको छ । मन्त्री नहुँदा १६ वटा मन्त्रालयका सचिवहरु कामविहीन भएका छन् ।

यसरी लामो मन्त्रालय मन्त्रीविहीन हुँदा अधिकांश सर्वसाधारणका कामदेखि विकास निर्माणका ठूला काम पनि ठप्प भएका छन् । अब सरकारले कहिले पूर्णता पाउने हो त्यो भने एकिन अझै भएको छैन । यसरी लामो समयसम्म मन्त्रालयमा मन्त्री नहुँदा यसको फाइदा भने विचौलिया र माफियाले लिँदै आएका छन् । अहिले बजार सबैतिर सुनसान अवस्थामा छ ।

व्यापारीहरुले कालाबजारी गरिरहेका छन् । आफ्ना सामानको मूल्य आफूखुसी बढाइरहेका छन् । तौल र गुणस्तर घटाइरहेका छन्, मूल्य बढाइरहेका छन् । त्यसमा सम्बन्धित निकायबाट कुनै अनुगमन छैन । यसरी व्यापारी, विचौलिया र कालाबजारियाको हालीमुहाली हुँदा उपभोक्ता भने सधैं मारमा परिराखेका छन् ।

उता राजनीतिक दलका नेताहरु भने राष्ट्रपति, उपराष्ट्रपति र कुन पार्टीलाई कुन मन्त्रालय दिने भन्ने लडाइँमा लडिरहेका छन् । जनता भने महंगी, भ्रष्टाचार, अनियमितता, विकृति, विसंगितबाट आजित छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *