संघीय मामिला तथा सामान्यमा कर्मचारीको भीड, अन्यमा सुनसान

राजनीति समाचार

काठमाडौं । यतिखेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको भिड बढेको छ । सरुवा बढुवादेखि मालदार कार्यालय र विभागमा जानको लागि कर्मचारीहरुको भीड लागेको हो । सरकार बनेको ६२ दिन नपुग्दै धेरै ठाउँका विभिन्न कर्मचारीहरुको सरुवा भएको थियो भने केही कर्मचारीहरुको बढुवा पनि भएको थियो । ती कर्मचारीहरु सम्बन्धित कार्यालयमा पुग्न नभ्याउँदै पहिलाको समिकरण भत्किएर अर्को समिकरणको सरकार बनेको छ ।

तर, त्यो समिकरणको सरकारले मन्त्रिमण्डल भने विस्तार गर्न सकेको छैन । अहिले बनेको नयाँ समिकरणमा आठ दल सामेल भएका छन् । सरकारलाई आठ दलले समर्थन गरे तापनि ती दलहरु सरकारमा सामेल भने भइसकेका छैनन् । नयाँ समिकरणमा कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि एकिन छैन ।

अहिले आठदलीय समिकरणका सबै दलहरु राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि फेरि आठदलीय समिकरणले मन्त्रालय टुंगो लगाउने र मन्त्रीहरु बनाउने अनुमान छ । तर, मन्त्रिमण्डल विस्तार हुँदा कुन मन्त्रालय कुन पार्टीको भाग पर्ने र को मन्त्री बन्ने एकिन छैन । मन्त्री बनेपछि फेरि कर्मचारीहरुको सरुवा, बढुवाको खेलोमेलो सुरु हुन्छ । त्यसपछि राजनीतिक दलको आडमा कर्मचारीहरुमाथि खेलवाड सुरु हुन्छ ।

एकातिर सरकार ढाल्ने र नयाँ समिकरण बनाउने खेल हुन्छ भने अर्कातिर कर्मचारी सरुवा बढुवा गर्ने खेल सुरु हुन्छ । त्यसकारण पनि अधिकांश जिल्ला, प्रदेश र स्थानीय निकायमा योग्य कर्मचारी अभावका कारण सर्वसाधारण सेवाग्राहीले दुःख भोग्नुपर्ने हुन्छ । राजनीतिक दलहरुको स्थिरताका कारणले कर्मचारी ब्यूरोक्रेसीभित्र पनि अस्थिरता निम्त्याउँदै छ ।

उता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले भने मालदार ठाउँमा आफ्नो पार्टी निकट कर्मचारीहरुलाई मालदार ठाउँमा छानीछानी पठाउँदै छन् । कतिपयलाई मालदार ठाउँमा पठाउने प्रयास गरिराखेका छन् ।

यसरी माओवादी पार्टीबाट मन्त्री बनेका मोदीले फाइदा उठाइरहेका छन् भने उता उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पनि आफ्नो फाइदा उठाइरहेका छन् । किन कि उनले सडकको अनुगमन गर्ने नाममा माओवादी अध्यक्ष प्रचण्डका घरबेटीको शारदा कन्ट्रक्सनलाई ठेक्का दिने काम समेत गरेका छन् ।

त्यस्तै गोरखा घर भएका अर्का व्यक्ति सुशीलबाबु ढकाललाई सडक विभागको डिजी बनाएर आफू र पार्टीलाई राम्रो आम्दानीको स्रोत बनाएका छन् । मन्त्री श्रेष्ठ हिजो मंगलबार मात्रै विदेशबाट स्वदेश फर्किएका थिए । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *