जल तथा मौसम विज्ञान विभागको नेतृत्व सम्हालेका छ्न, कमलराम जोशीले । उनी २८ वर्षदेखि सरकारी सेवामा आबद्ध छन् । नेदरल्यान्डबाट स्नातकोत्तर अध्ययन सकेका जोशीले विद्युत विकास विभाग, जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेर विद्युत तथा जल विज्ञानको क्षेत्रमा लामो समयको अनुभव सँगालेका छन् । वि.सं २०७६ मा उप–महानिर्देशक तथा बाढी पूर्वानुमान महाशाखाको प्रमुखको भूमिका निर्वाह गरिसकेका जोशी हाल महानिर्देशकको भूमिकामा छन् । उनै जोशीसँग तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधिले गरेको कुराकानीको अंश :
० हरेक बर्ष बाढी, पहिरो आउँछ । धनजनको क्षति उतिकै बढिरहेको छ कम हुन सकेको छैन । बाढीसम्बन्धी पूर्वसूचना सबै स्थानमा पुग्न नसकेर हो ?
‘हुने हार दैब नटार’ भने जस्तै कुनै पनि घटना हुनबाट हामी रोक्न सक्दैनौं । जलजन्य घटना रोक्न नसके पनि यसबाट हुने क्षति कम गर्ने हो । विभिन्न स्थानमा राखिएका स्टेसनहरूका आधारमा हामीले पूर्वसूचना दिने हो । तीन दिनको मौसमको पूर्वानुमान पनि गर्छौं र कहाँ कति पानी पर्दा बाढी आउँछ भन्ने पनि जानकारी दिन्छौं । मौसम तथा बाढी पूर्वानुमान स्टेसन सबै स्थानमा राख्न सकेका छैनौं । जहाँजहाँ यो स्टेसन छ, १० वटा ठूला बेसिनमा छ । अब साना बेसिनमा पनि विस्तार गर्दै लगेका छौं । अब विस्तार गर्ने क्रममा पनि छौं ।
० तथ्यांक हेर्दा कस्तो छ त ? बाढीको पूर्वसूचना दिनुभन्दा अघिको विगत र अहिलेमा के फरक छ ? बाढीबाट हुने क्षति कतिको कम भएको हो ?
गृह मन्त्रालयको तथ्यांक हेर्दा पनि १० वर्षअघि सयौं मान्छे बाढीबाट मर्थे, तर अहिले समयमै मानिसले बाढीसम्बन्धी पूर्वसूचना पाउने भएकाले पूर्वसूचनाका कारण मानिसहरू सुरक्षित ठाउँमा जाने भएका छन् । धनजनको क्षति कम भएको छ । अहिले मनसुनको समयमा बाढीबाट कम क्षति भएको छ । धेरै न्यूनीकरण गर्न सफल भएका छौं ।
० विभागको जिम्मेवारी सम्हालेपछि के कसता चुनौतीहरुको सामना गरिरहनु भएको छ ?
विभागको मुख्य चुनौती भन्नु नै दक्ष जनशक्ति र बजेट हो । यी दुईविना काम गर्ने र गन्तव्यमा पुग्न असम्भव छ । र, अर्काे चुनौती हवाई दुर्घटना रहेको छ । नेपालमा बर्षेनी २ देखि ३ वटा हवाई दुर्घटना भइरहेका छन् । केही प्राविधिक त्रुटीले भएका छन् भने धेरैजसो मौसमको कारणले भएका छन् । यसकारण हामीले मौसमी सेवाहरु यात्रुहरुको मागअनुसार दिन सक्नुपर्दछ ।
नेपाल कृषिप्रधान देश हो । आकाशे पानीमा भर परेर कृषिमा विश्वास गर्ने विगतदेखिकै हाम्रो परम्परा पनि हो । यसरी मौसममा भर परेर काम गरेर अर्थात् ‘माना खाएर मुरी उब्जाउन’ लाई विभागले पछिल्लो समय धेरै सफल भएको छ । र, विभागले मौसम पूर्वानुमानको सूचना देशभर पुर्याउन ढिलाइ गर्ने छैन ।
० तपाईले दक्ष जनशक्ति र बजेटको अभाव छ भन्नुभयो । मन्त्रालयसँग समन्वय कस्तो छ ?
मन्त्रालयसँग समन्वय नगरी अघि बढ्ने कुरै आएन । मन्त्रालय र विभागबीच राम्रो सम्बन्ध नै रहेको छ । जल तथा मौसम विभागको ५० वर्षभन्दा लामो इतिहास रहेको छ । हाल ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको विभाग विगतमा फुटबलजस्तै भएको थियो । कहिले जलस्रोत, कहिले वातावरण मन्त्रालय हुँदै अहिले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको छ । यसकारण विभाग फुटबल जस्तै भएको देखिन्छ ।
यसो भन्नुको मतलब फरक मन्त्रालयभन्दा पनि स्थिर रुपमा बसेर काम गर्न सजिलो हुन्छ । मन्त्रालय भनेको विभागकोे अभिभावक हो । यद्यपि, विगतमा जे जस्ता उतारचढाव आए पनि अहिले मन्त्रालय र विभागबीच राम्रो सम्बन्ध रहेको छ ।
० नेपालमा बाढीसम्बन्धी पूर्वानुमान गर्ने स्टेसनहरूको जति आवश्यकता पर्छ, चाहिने जति पूर्वानुमान स्टेसनहरू छन् त ?
आवश्यकता जति पर्ने हो, त्यति छैन । नेपाल एउटा भौगोलिक विकटता भएको क्षेत्र हो । ८० प्रतिशतभन्दा बढी भूभाग पहाडी, हिमाली क्षेत्रहरू छन् । सानो क्षेत्रमा पनि पानी पर्ने अवस्था फरक हुन्छ । कुनै स्थानमा पानी पर्छ, त्यही समयमा नजिकैको स्थानमा पानी नपर्न सक्छ । उपत्यकाकै उदाहरण हेर्ने हो भने पनि केही स्थानमा पानी परेको हुन्छ, अर्को स्थानमा पानी पर्दैन । यसकारण पनि विभिन्न स्थानमा स्टेसनहरू आवश्यक पर्छ । यसलाई रेनफलको भेरिएबिलिटी भनिन्छ । हामीलाई स्टेसन धेरै राख्नुपर्ने हुन्छ । नेपालमा बाढी तथा मौसमको पूर्वानुमान गर्न कतिवटा पूर्वानुमान स्टेसनहरू आवश्यक पर्छ भनेर अध्ययन गर्ने तयारी गरिरहेका छौं । यसको आधारमा नेपालमा कति आवश्यकता पर्छ थाहा हुन्छ । त्यति स्टेसन हामी राख्छौं, त्यति स्टेसन हामी सञ्चालन गर्नेछौं । त्योभन्दा बाहेकका अन्य स्टेसन राख्नुपर्ने भएमा, गैरसरकारी संघसंस्थाले हेर्ने वा स्थानीय सरकारले हेर्ने भए हामी प्राविधिक सहयोग गर्ने गरी हेर्न सक्छौं । खर्चिलो हुन्छ । धेरै स्टेसन सरकारले मात्रै स्थापना गर्न सक्दैन । अन्य आवश्यक स्टेसनहरू स्थानीय निकायले सञ्चालन गर्ने गरी र हामीले प्राविधिक सहयोग गर्ने गरी हामीले काम गर्नेछौं ।
० सबैको जिब्रोमा ‘जलवायु परिवर्तन, जलवायु परिर्वतन’ भन्ने सुनिन्छ खास जलवायु परिवर्तन भनेको के होे ? नेपालमा जलवायु परिवर्तनको असर कस्तो छ ? विभागले यस विषयमा खोज अनुसन्धान गरेको छ कि छैन ?
जलवायु परिवर्तन लामो समय अर्थात् करिब ३० वर्षको जलवायुसम्बन्धी तथ्याङ्कको नियमिततामा देखिने स्थायी प्रकृतिको परिवर्तन हो । जसअनुसार समयसमयमा मौसममा आउने उतारचढावलाई वातावरणीय परिवर्तन मान्न सकिन्न । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानवीय क्रियाकलाप तथा प्राकृतिक कारण (ज्वालामुखी विस्फोटन, विभिन्न किसिममा कार्बनयुक्त ग्यासको उत्सर्जन आदि) ले गर्दा वायूमण्डलको सरंचना परिवर्तनमा परिवर्तन भई सामान्य समयावाधि भित्र प्राकृतिक रुपमा हुने परिवर्तनभन्दा तुलानात्मक रुपमा चाडैँ आउने परिवर्तन जलवायू परिवर्तन हो ।
अझ सबैले बुझ्नगरी भन्नुपर्दा वायूमण्डल, जलमण्डल, जीवमण्डल एवम् भूमण्डलको समग्रस्वरुप र यिनीहरुबीचमा रहेको अन्तर सम्बन्धमा आउने असन्तुलन नै जलवायू परिवर्तन हो । यिनै असन्तुलनका कारण अतिवृष्टि, अनावृष्टि तथा अतिवृष्टि हुने गर्छ । यसैगरी जलवायू परिवर्तनका कारण तीव्र मात्रामा हिउँ पग्लने, हिमशृङखलाहरुको अस्तित्वमा संकट आइपर्ने, हिमतालको आकारमा वृद्धि भई फुट्ने सम्भावना, कृषि उत्पादनमा ह्रास, हिमाली भेगका वनस्पति तथा वन्यजन्तुहरु उच्च संकटमा पर्ने, नयाँ नयाँ किसिमका रोगहरु उत्पन्न हुने, जैविक विविधतामा प्रतिकूल असर हुने, समग्रमा मानव अस्तित्व नै संकट पर्ने सम्भावना हुने गर्दछ ।
त्यसैले जलवायू परिवर्तनबाट जोगिनका लागि पानीको सञ्चिती, बहुउपयोगी र किफायती प्रयोगको प्रविधिको विकास र प्रवद्र्धन, वर्षात्को पानी भण्डारण गर्ने पोखरीहरु निर्माण गर्ने, भूमिगत जलको दिगो उपयोगको मापदण्ड तय गरी लागू गर्ने, नविकरणीय उर्जाको प्रयोगमा जोड दिनुपर्दछ । यस्तै, नदीको पारिस्थितिक प्रणालीको संवेदनशिलतालाई ध्यानमा राखी जलविद्युत् आयोजना निर्माण गर्ने, हिमताल बिस्फोटबाट हुने सम्भावनालाई रोक्न सुरक्षित निकासको व्यवस्था गर्ने, गरीब, सिमान्तकृत, भूमिहीन व्यक्तिहरुलाई लक्षित गरी कृषिमा आधारित अनुकूल कार्याक्रमहरु तय गरी कार्यन्वयन गर्ने, स्थान, माटो र जलवायू अनुसारको कृषि बालीको प्रवद्र्धन गर्ने, किफायती सिँचाई प्रविधिको विकास गर्ने, प्राङगारिक खेती प्रणालीलाई प्रवद्र्धन गर्ने, मौसमसम्बन्धी पूर्वसूचना प्रवाह गर्नका लागि भरपर्दो माध्यम विकासलगायत सावधानीहरु अपनाउनुपर्दछ ।
० जोखिम न्यूनीकरणको प्रगतिलाई कसरी लिनुभएको छ ?
जोखिम न्यूनीकरण पनि कुन प्राकृतिक प्रकोपबाट हुने जोखिम भन्ने हुन्छ । बाढीको जोखिम हुन्छ । पहिरोको जोखिम हुनसक्छ । हिमताल फुटेर हुने जोखिम हुनसक्छ । हिमपहिरोको जोखिम हुनसक्छ । हामीले प्राकृतिकजन्य घटना हुनबाट त रोक्न सक्दैनौं, तर कसरी ती घटनाबाट क्षति कम गर्न सक्छौं भनेर कार्यक्रमहरू तर्जुमा गर्छौं । मुख्यतया हामीले पूर्वसूचना दिएर नै धनजनको क्षति कम गराइरहेका छौं । अहिले हामीले कुरा गरिरहेको भनेको बाढीको कुरा हो । पहिरोका कारण पनि यो वर्ष धेरैको ज्यान गइरहेको छ । कति घरबारविहीन भएका छन् । जल तथा मौसमजन्य विपत् धेरै प्रकारका हुन्छन् । यो वर्ष ३ सयभन्दा बढीको पहिरोबाट ज्यान गएको छ । बाढीले भन्दा पहिरोले धेरैको ज्यान गएको छ । दुई वर्षभित्र पहिरोको पनि पूर्वानुमान गर्ने र पूर्वसूचना दिने काम गर्नेछौं, जसले गर्दा पहिरोबाट पनि जनधनको कम क्षति होस् भन्ने मान्यता रहेको छ ।
कति पानी पर्दा पहिरो जान सक्छ भनेर सयुंक्त रूपमा अध्ययन गर्न सक्छौं । २०७२ को भूकम्पले पनि पहाड कमजोर भएको छ । चिरिएको छ । पहिरोको तथ्यांक हेर्दा ०७२ सालपछि धेरै पहिरो गएको पाइन्छ ।
० नेपालमा मौसम पूर्वानुमानमा टिकाटिप्पणी चलेको सुनिन्छ ? वास्तवमा पूर्वानुमान मात्र हो कि तथ्य, अनुसन्धान र प्रविधिमा आधारित पनि रहेको छ ?
मौसम पूर्वानुमानको लागि विभागले विभिन्न स्थानमा यन्त्रहरु जडान गरेको छ । जुन कुरा मैले माथि नै विस्तृत रुपमा भनिसकेको छ । तीनै स्थानमा जडित यन्त्रबाट विभागले अध्ययन तथा अनुसन्धान गरेर बाहिर सत्य जानकारी दिने हो । यसरी पूर्वानुमान मात्र नभइ तथ्य, अनुसन्धानमा आधारित रहेर काम गरेकै कारण आज विभागमाथि सबैको विश्वास बढेको छ । जुन हाम्रा लागि गौरवको पनि कुरा हो ।
अहिले सबैले कहीँ कतै जादैँ हुनुहुन्छ भने सीधै सुरुमा विभागलाई सम्झनु हुन्छ । जुन सकारात्मक पक्ष हो जस्ले धनजनको क्षति हुनबाट जोगाउँछ । मौसमको पूर्वजानकारीले धेरै जोखिमहरु न्यूनिकरण हुने गर्दछ । जस्तैः मौसमसम्बन्धी चासो राख्ने कृषक, पर्यटक यात्री, हिमाल आरोही, हवाइ यात्री तथा अन्य जो कोहीले पनि विभागसँग आफूलाई लागेको कुराहरु राख्न सक्नुहुनेछ ।
० आवश्यकताअनुसारका स्टेसनहरू कहिले जडान हुन्छ ?
आवश्यकताअनुसार छैन भन्दा पनि आवश्यकता बढेको हो । समग्र देशभर कभर गर्ने स्टेसनचाहिँ छ । तर, स्पेसिफिक आवश्यकताअनुसारको स्टेसनचाहिँ हुन सकिरहेको छैन । जस्तो कतिपय हाइड्रोपावरहरूको करिडोरमा छुटिरहेको अवस्था छ । उच्च हिमाली क्षेत्रमा पनि आवश्यकताअनुसार छैन । नेपाल अधिराज्यभर कति आवश्यकता पर्छ ? भनेर अध्ययन गर्नेछौं । अहिले क्षेत्रगत रूपमा माग भइरहेको छ । जस्तै एउटा जलस्रोतको क्षेत्रलाई, अर्को कृषिको क्षेत्रलाई, पर्यटन क्षेत्रलाई समेटेर एउटा अप्टिमम नेटवर्क के हुन्छ त भन्ने सन्दर्भमा अध्ययन गर्दैछौं । दातृ निकायहरू पनि तपाईंहरूको स्टेसन कमी भयो, राख्नका लागि हामी सहयोग गर्छौं भनेर आउनुुभयो । ६ हजार खोलानामा ६ हजार नै स्टेसनहरू राखेर त सम्भव हुँदैन नि त । डब्लूएमओको एउटा स्ट्यान्डरअनुसार न्यूनतम नेटवर्क स्टेसन मिट भइसकेको छ । अधिकतम कतिसम्म जाने भन्ने सोचेर अगाडि बढ्ने तयारीमा छौं ।
० पूर्वसूचना जनतासामु पुु¥याउने मेकानिजम के हो ?
सरोकारवालालाई मौसम पूर्वानुमान, चेतावनी, पूर्वसूचना तथा जानकारी प्रदान गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित मौसम पूर्वानुमान महाशाखाको मौसम कक्ष चौबीसै घण्टा सेवामा रहेको छ । तीन दिन (७२ घण्टा) सम्मको मौसम पूर्वानुमान, चेतावनी तथा परामर्शलगायतका विवरण समेटेर नियमित रूपमा बिहान ६ बजे र बेलुका ६ बजे दैनिक बुलेटिन अपडेट गर्दै आएका छौं । मौसमको विशेष अवस्थामा तीन दिनअगावै चेतावनीसहितको आकस्मिक मौसम बुलेटिन जारी पनि गर्छौं । आवश्यकताअनुसार बिग्रँदो मौसमको अवस्थाबारेको पूर्वसूचनासमेत जारी गर्दै आइरहेका छौं । देशैभर फैलिन सक्ने अतिभारी वर्षाको विशेष पूर्वानुमान पाँच दिनअगावै गरी सरोकारवालालाई पठाउने गरेका छौं । देशका बाढी प्रभावित विभिन्न नदीनालाको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विस्फोट वा अन्य कारणले उत्पन हुनसक्ने बाढीसमेतका लागि पूर्वसूचना प्रवाह गर्न यस विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाअन्तर्गतको पूर्वानुमान शाखा मनसुनको अवधिभर चौबीसै घण्टा सुचारु गरेका छौं । बाढी पूर्वानुमान वा पूर्वसूचना सेवा भौतिक रूपमा वा अनलाइन प्रणालीमार्फत चौबीसै घण्टा सुचारु छ । देशका मुख्य नदीहरू कोसी, गण्डकी, कर्णाली, बागमती, बबई र पश्चिम राप्तीलगायतको बाढी पूर्वानुमान तीन दिनअगावै गर्ने गरी विकास गरिएको कम्प्युटर मोडेलको प्रयोग, अन्य नदीको हकमा ग्लोबल मोडेल प्रयोग गरी बाढी पूर्वानुमान गर्ने र मुख्य सरोकारवालाबीच जानकारी गराउने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएका छौं । ससाना नदीहरूमा हुनसक्ने आकस्मिक बहावको २–४ घण्टाअगाडि नै पूर्वानुमान गरी सरोकारवालालाई विभिन्न माध्यमबाट जानकारी गराइनेछ । देशैभर फैलिन सक्ने ठूला बाढीजन्य गतिविधिको पूर्वानुमान पाँच दिनअगावै गरी सरोकारवालालाई पठाइनेछ । बाढीप्रभावित समुदायलाई मास एसएमएस पठाउने कार्य रियल टाइम तथ्यांकका आधारमा गरिनेछ । मनसुनको समय भरि हरेक दिन बिहान ७ बजे बाढीको पूर्वानुमान बुलेटिन जारी गर्छौं । पूर्वानुमानको मान्यावधि कम्तीमा २४ घण्टासम्मका लागि हुनेछ । विशेष अवस्थामा दिन वा रातको कुनै पनि समयमा बुलेटिन जारी हुनेछ ।
बाढी र मौसम पूर्वानुमान बुलेटिन जारी गरिसकेपश्चात् पहिलो जानकारी गृह मन्त्रालय–राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई गराइनेछ । जारी भएको बाढी बुलेटिन तत्कालै यस विभागको आधिकारिक वेबसाइटमा पनि राख्छौं । तत्कालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले सूचीकृत गरेका सबै मन्त्रालय तथा विभाग साथै रेडक्रसलगायत अन्य विपद्को क्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूका विपद् सम्पर्क व्यक्तिहरूलाई ईमेलमार्फत बुलेटिन पठाउने गरिएको छ ।
बाढी सतर्कता तह नजिक पुग्न लागेमा, सतर्कता तह पार गरेमा, खतरा तह पार गरेमा वा अन्य विषम अवस्थामा देशका मुख्य नदी, जलाधारमा नेपाल टेलिकम र एनसेलमार्फत बाढीबाट प्रभावित हुने मुख्य नदी जलाधारका सर्वसाधारणलाई मोबाइलमा निःशुल्क एसएमएस पठाइनेछ । देशैभरका सर्वसाधारणका लागि ११५५ नम्बर टोलफ्री सेवा बाढी पूर्वसूचना प्रदान गर्ने उद्देश्यले मनसुनभर सञ्चालन गरेका छौं । मौसम पूर्वानुमानको हकमा सर्वसाधारणलगायतका लागि सम्पर्क टेलिफोन ०१–४११३१९१ र ०१–४४८६८६९ चौबीसै घण्टा खुला राखिएको छ । अत्यन्तै विषम प्रकृतिको बाढी तथा मौसमको पूर्वानुमान भएको खण्डमा प्रेस विज्ञप्तिसमेत जारी गर्दै आएका छौं । बाढी र मौसमको बुलेटिन सबै सञ्चारका माध्यमलाई नियमित रूपमा प्रदान पनि गर्छौं ।
अहिले सामाजिक सञ्जालको प्रयोग बढी छ । सामाजिक सञ्जालमा पनि राखेका हुन्छौं । सामाजिक सञ्जालबाहेक हामीले रेडियो, टेलिभिजन, एफएममार्फत पनि राखेका हुन्छौं । यिनीहरूलाई पनि नेटवर्कमा राखेर सूचना प्रवाह गर्छौं । ७७ वटै जिल्लाका सिडिओ, सुरक्षा निकायमा पठाउनेछौं । यी भनेको सूचना प्रवाहको एउटा मेकानिजम हो । तर, यो मेकानिजमले मात्रै पुग्दैन । भोलि बाढी आउने भयो भने के गर्ने भन्ने जनतालाई हुन्छ । त्यस्तो अवस्थामा हामीले नेपालभरि २ सय ७३ वटा धेरै बाढी जाने र डुुबान हुने क्षेत्रहरू पहिचान गरेका छौं । त्यस्तो क्षेत्रमा स्वचालित स्टेसनहरू राखेका छौं । एउटा, कुन ठाउँमा कति पानी परेको छ, रियल टाइममा हेर्न सकिन्छ । अन्तिम एक घण्टामा कति पानी परेको छ भन्ने ठ्याक्कै वेबसाइटमा नै हेर्न सकिन्छ । कुनै पनि खोलाको सतर्कता तह वा खतरा तहको अवस्थाका बारेमा पनि जानकारी गराउँछौं । सतर्कता तह नपाउँदै नेपाल टेलिकम र एनसेलमार्फत एससएमएस गर्छौं ।
० उच्च हिमाली भेग, ठूला नदिहरु, बाढी आउने ठाउँ र गहिरो तालको मापन कार्य गर्दा जोखिम हुने गरेको सुनिन्छ । यसबारे पनि बताइदिनुस् न ?
यसतर्फ सबैभन्दा जोखिम उच्च हिमाली भेगमा रहेर मापन गर्दा हुने गर्दछ । त्यस्तै तपाईले भनेजस्तै ठूला नदिहरुको, बाढी आउने सम्भावित ठाउँको, गहिरो तालहरुको मापन कार्य गर्न जोखिम हुन्छ । मुख्यतः हिमाली क्षेत्रमा पुग्नु नै कर्मचारीहरुको लागि सबैभन्दा चुनौतीको काम हो । सबैभन्दा महँगो ठाँउका रुपमा परिचित हिमाली क्षेत्रमा कर्मचारीको तलब भत्ताले धान्न गाह्रो हुन्छ भने उत्तिकै स्वास्थ्य जोखिम पनि रहेको छ । यसरी जोखिमपूर्ण ठाउँमा जानको लागि हत्तपत्त कोही तयार हुँदैनन् । तर, विभागले त्यो जोखिम उठाएर काम गर्दै आएको छ । यद्यपि, यसतर्फ सरकारले मनोबल बढाउने काम गर्न सकेको देखिँदैन ।
० चट्याङको अवस्था कस्तो छ सबैभन्दा बढी क्षति कुन जिल्लामा परेको छ ?
दुई किसिमका चट्याङ पर्छ । एउटा बादलभित्रै, अर्काे जमिनमा । बादलभित्रै गर्जिने चट्याङले विद्युतीय उपकरण र सञ्चार आदानप्रदानमा अवरोध पु¥याउने गर्छ । जमिनमा पर्ने चट्याङले भौतिकसँगै मानवीय क्षति गर्छ । बंगालको खाडीनजिक रहेका नेपालका भूभागमा बढी चट्याङ पर्ने गर्छ । मानवीय क्षतिका हिसाबले मकवानपुर, झापा र उदयपुर अगाडि छन् । तराईभन्दा चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक हुने भएकाले चट्याङको फोर्स बढी हुने गरेको र यसले मानवीय क्षति पनि धेरै हुने गरेको छ ।
पछिल्लो १० वर्षको विवरणअनुसार इलाम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, दोलखा, लमजुङ, कास्की, बाग्लुङ, गुल्मी, रोल्पा, प्युठान, दाङ, पश्चिम रुकुम, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुरमा धेरै चट्याङ खस्ने गरेको छ ।
० गड्याङगुडुङ सुनेपछि के गर्ने ?
घर बाहिर हुँदा अग्लो र एक्लो रूखमा ओत नलाग्ने, धातुको तारबारनजिक नबस्ने घर भित्र हुँदा विद्युतीय सामग्रीको प्रयोग नगर्ने, घरबाहिर ननिस्कने, झ्याल–ढोका बन्द गरेर घरको भित्तादेखि टाढा बस्ने, विद्युतीय सामग्रीका तार प्लगबाट छुटाउने ।