वैदेशिक रोजगारीको नाममा ठगी धन्दा झन् मौलाउँदै

राजनीति समाचार

काठमाडौं । विगत लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा विदेश जानेहरुको समाचार तामाकोशी सन्देश साप्ताहिकले प्रकाशित गर्दै आएको छ । यस साप्ताहिकका प्रतिनिधिले वैदेशिक रोजगारीको सिलसिलामा धेरै युवायुवतीहरु ठगिने गरेको बारे प्रश्न गर्दा सरकारले भने अहिले वैदेशिक रोजगारीमा धेरै सुधार भइसकेको छ ।

यस क्षेत्रभित्र ठगी धन्दा चलाउने पनि सुस्ताउँदै छन् भनेर पन्छिने गर्दछन् । तर, पछिल्लो समय हरेक दिन दुई सयको हाराहारीमा वैदेशिक रोजगार विभागमा ठगिनेहरु उजुरी दिन जाने गरेका छन् । त्योसँगै नेपाल प्रहरीमा पनि उजुरी दिने पीडितहरुको लर्को पनि त्यत्तिकै छ । अहिले वैदेशिक रोजगारीमा जानको लागि स्थानीय तहबाटै परामर्श हुन थालेपछि म्यानपावर व्यवसायीले विभिन्न सामाजिक सञ्जालमा विज्ञापन गरी ठग्ने गरेका छन् ।

त्योसँगै विभिन्न म्यानपावरका एजेन्ट, विचौलिया र साथीभाइले पनि मेनपावर र विचौलियासँग मिलेर ठगी धन्दा चलाउने क्रम जारी छ । तर, उजुरी दिने पीडितहरुले ठगी गरेको प्रमाण हुने कुनै डकुमेन्ट दिन नसक्दा न्याय पाउन सकेका छैनन् । त्यस्तै सरकारले थप ७१ वटा देशमा पनि नेपाली कामदार पठाउने योजना बनाएको छ । योसहित अहिलेसम्म १७९ वटा देशमा नेपाली कामदार जान पाउने भएका छन् ।

यसरी थप ७१ देशमा पनि नेपाली जान पाउने भएपछि वैदेशिक रोजगारीको नाममा ठगी धन्दा झन् मौलाउने देखिन्छ । त्योबाहेक भारतको बाटोहुँदै विचौलियामार्फ समुन्द्रबाट अमेरिका, बेलायत, क्यानडा, युके, इराकलगायतका तोस्रो मुलुकमा कामदार पु¥याउने गरिन्थ्यो । अब थपसहित १७९ देशमा कामदार पठाउन पाउने भएपछि ठगी धन्दा झन् फस्टाउने देखिन्छ ।

त्यसमा म्यानपावर व्यवसायी, विचौलिया, विभिन्न देशका विचौलिया र एजेन्टहरु मिलेर कामदारहरु पठाउने धन्दा फैलाउँदै आएका थिए । यसअघि कतार, दुबई, मलेसिया, क्रोसिया, साउदी, बहराइनलगायतका देशमा पठाइएका नेपालीहरुमा कतिपयले अलपत्र परेका छन्, कतिपय जेलमा बस्न वाध्य छन् भने कतिपयले मृत्युदण्डको सजाय भोग्नुपरेको छ ।

सरकारले युवा विदेश पलायनलाई रोक्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने भनिरहँदा त्यही सरकारका मन्त्रीले झन् अहिलेसम्म प्रतिवन्धित देशमा पनि नेपाली कामदार पठाउने योजना बनाउँदै छ ।

सरकारले नेपालमै उद्योगधन्दा सञ्चालन गरेर रोजगारी सिर्जना गर्नुपर्ने, युवाहरुलाई विभिन्न स्वरोजगारमुलक तालिम दिएर कृषि उत्पादन बढाउनुपर्नेमा उल्टै अहिलेसम्म खुला नगरिएका देशहरुमा समेत नेपालीहरुलाई पठाउने योजना ल्याएर देशलाई युवाविहीन बनाउन लागिपरेको देखिन्छ । सरकारले यस्तै काम गर्दै जाने हो भने अब नेपाल युवाबिहीन वृद्धाश्रममा परिणत हुने छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *