मन्त्रिपरिषद्को हेरफेर हल्लामै सीमित

राजनीति समाचार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक मन्दीलाई सुधारोन्मुख भएको भनिरहँदा अर्थतन्त्र चलायमान बनाउन सकेका छैनन् । उल्टै अर्थमन्त्री महतले आत्तिहाल्नुपर्ने अवस्था छैन भन्दै टार्ने काम गर्दै आएका छन् । डा. महत कांग्रेसभित्र विवादित छविका व्यक्ति हुन् । उनलाई कांग्रेस इतरपक्षका नेता डा. शेखर कोइराला पक्षले मन पराएका छैनन् । तर, अर्थमन्त्री महत भने आर्थिक उठ्तीपुठतीमा व्यस्त छन् । विवादित छवि भएका सचिव कृष्णहरि पुष्करलाई अर्थमन्त्रालयमा भित्र्याएर मन्त्री आफू पनि बद्नाम हुँदै गएका छन् ।

अर्थतन्त्र चलायमान बनाउन नसक्दा कांग्रेस पार्टीभित्रैबाट अर्थमन्त्री नै फेर्नुपर्ने आवाज उठिरहेको छ । त्यसको विकल्पमा अर्थमन्त्री नै फेर्ने तरखर गरेको देखिन्छ । अर्थमन्त्री फेरिएसँगै अर्थ सहायक राज्यमन्त्रीमा विनोद चौधरीलाई ल्याउने पनि हल्ला चल्न थालेको छ । चौधरी जस्ता राजश्व छली गर्ने कुख्यात व्यापारीलाई अर्थसहायक मन्त्री बनाएर देशको ढुकुटी रित्याउने काम त गर्न खोजिएको होइन ? भनेर अर्थमन्त्रालयतिर हल्ला चल्न थालेको छ । उता कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री हटाउन खोज्दा अन्य मन्त्रीहरु पनि हेरफेर गर्ने भनिएको थियो । तर, मन्त्रिपरिषद् हेरफेर गर्ने मनसाय राखे तापनि सो काम हुन सकेको छैन ।

एकीकृत समाजवादी पार्टीका मन्त्रीले गर्दा पनि सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न आनकानी गरिरहेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमा पठाएर परराष्ट मन्त्री एनपी साउदलाई गृहमन्त्री बनाउने हल्ला पनि चलिरहेको छ । तर, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले भने नेता वर्षमान पुनलाई गृहमन्त्री बनाउन लागेको बुझिन्छ । त्यस्तै अर्का विवादित छविका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई पनि स्वास्थ्यको जिम्मेवारीबाट हटाएर अन्य मन्त्रालयमा पठाउने हल्ला पनि चल्न थालेको छ ।

तर, मन्त्री बस्नेत भने कर्मचारी सरुवा, बढुवा र विभिन्न औषधि उद्योगी, व्यवसायीहरुसँग चलखेल गरेर आगामी निर्वाचनलाई खर्च जुटाउन लागिपरेका छन् । उनले अनुगमनको नाममा विभिन्न अस्पताललाई तर्साएर पनि ठूलै रकम चलखेल गरिरहेको स्रोतको दावी छ । उता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पनि उद्योगी, व्यापारीसँग चाडवाडलाई लक्षित गरी मोटो रकम चलखेल गरेको आरोप छ । मन्त्री रिजाललाई मन्त्रालयको आवश्यकता अनुसार काम गर्न नसकेको आरोप पनि लागिरहेको छ । तर, कोशी प्रदेशको समिकरणले पनि सत्तागठबन्धनभित्र तरंग ल्याइदिएको छ ।

त्यसकारण पनि सरकारले मन्त्रिपरिषद् हेरफेर गर्न नसकेको हुनसक्छ । दशैं, तिहार पछाडि भने सत्ता परिवर्तन हुने सम्भावना बढेर गएको छ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले सहयोग गरेपछि सत्तागठबन्धनको सरकार त्यहाँ बन्न सकेन । नेपाली कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र इतरपक्षका नेता शेखर कोइरालाबीचको द्वन्द्वले गर्दा कोशी प्रदेशमा यो हालत देखिएको हो । कोशी प्रदेशकै कारण अन्य प्रदेशमा पनि कांग्रेसको इतरपक्ष र नेकपा एमालेबीचको सहकार्यले निरन्तरता पाउने देखिन्छ ।

यसको असर केन्द्र सरकारमा पनि पर्ने सम्भावना बढेर गएको छ । तर, गठबन्धन सरकारका शीर्ष नेताहरु बसेर यहीं गठबन्धनलाई टिकाइरहने सम्झौता गरे तापनि त्यो कागजमै सीमित हुने देखिन्छ । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *