नेपाली साहित्यको जगतमा हेमाङ्गराज गिरी परिचित नाम हो । २०३२ साल असार २३ गते कैलाली जिल्लाको टिकापुरमा जन्मिएका उनी अन्तर्राष्ट्रिय लेखक संघ (प्यान) नेपाल च्याप्टरका कार्य समिति सदस्य, राष्ट्रिय साहित्यिक समाजको अध्यक्ष, नेपाल राष्ट्रिय लेखक समाजका अध्यक्ष, प्रजातान्त्रिक लेखक संघको मानार्थ सदस्य, स्वतन्त्र लेखक संघको मानार्थ सदस्य, बारबरा एडम्स शान्ति प्रतिष्ठानका कार्यसमिति सदस्य, फुलारा लिटरेचर फाउण्डेसनका उपाध्यक्ष तथा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानको सचिवसमेत हुन् । ‘सेकेण्ड लेफ्टिनेन्टदेखि नख्खु जेलसम्म’ लगायत झण्डै आधा दर्जन पुस्तक प्रकाशित गर्न भ्याइसकेका गिरी ‘वर्ष लेखक–२००९’, ‘भानु राष्ट्रिय पुरस्कार–२०१५’, ‘राष्ट्रिय प्रतिभा पुरस्कार–२०१६’ ‘राष्ट्रिय शिखर पुरस्कार–२०१८’ आदिबाट पुरस्कृत भइसकेका छन् । प्रस्तुत छ–कालिका महतसँगको संवादः
तपाईंको दृष्टिकोणमा साहित्य के हो ?
समग्र जीवन र जगत्लाई बुझ्न प्रेरित गर्ने महत्वपूर्ण आँखीझ्याल नै साहित्य हो । साहित्य एक रूपान्तरण पनि हो– जसले समग्र जीवनजगत्लाई बुुझ्न अनि रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । मैले साहित्यमा आबद्ध भएर जीवनजगत्को महत्व बुझ्ने मौका पाएँ । साहित्य भनेको अध्यात्म दर्शनतिर डो¥याउने संसारकै सर्वाेत्कृष्ट विधा हो भन्ने मेरो निचोड छ ।
साहित्य क्षेत्रमा तपाईँको प्रवेश कसरी भयो ?
वि.सं.२०४२÷४३ देखि हो । स्कूल तहदेखि नै हो म विभिन्न साहित्यिक कार्यक्रममा गीत र कविता वाचन गर्थे । चराचुरुङ्गी, पुतली र वर्षायाममा देखिने इन्द्रेणी देखेर मलाई बडो नौलो किसिमको रोमाञ्चक महशुस हुन्थ्यो, म कपि र कलम लिएर लेख्ने बस्थें, त्यो कहिले गीतजस्तो बन्थ्यो, कहिले कविताजस्तो । फेरि, म प्राज्ञिक पारिवारिक पृष्ठभूमिको व्यक्ति हुँ । मेरो बुबा नरराज गिरीले अङ्ग्रेजी भाषा विज्ञानमा मास्टर्स गर्नुभएको छ । उहाँका कैयौं अप्रकाशित कृति घरमा थन्किएका छन् । अनि केही साहित्यकार साथीसँगको सरसल्लाहमा मेरी मुमा महेश्वरी गिरी र बुबा नरराज गिरीको नामबाट ‘मन साहित्यिक प्रतिष्ठान गठन गरेका हौँ ।
साहित्यमा लाग्ने प्रेरणा कसबाट पाउनुभयो ?
बुबा नै मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । सुदूरपश्चिममा उहाँको शैक्षिक र साहित्यिक योगदान धेरै छ । भाषाविज्ञानमा एम.एड. गर्नुभएका उहाँले तीन दशक लामो समय शिक्षण पेशामा बिताउनुभयो । उहाँ प्राज्ञिक व्यक्तित्वको रूपमा चिनिनुहुन्थ्यो । म बुबासँगै उठ्थे, पुसमाघमा पनि म बुबासँग चिसो पानीले नुहाउँथे । सानो छँदा म बुबासँग सुत्थें । बुबाले कथा सुनाउनुहुन्थ्यो । ती कथा सुन्दा कुनै चलचित्र हेरिरहेजस्तो लाग्थ्यो । यसरी ममा संवेदनशीलता पलाउँदै गयो ।
अहिले फर्किएर हेर्दा कस्तो अनुभूति हुन्छ ?
यदि मानव जीवनमा साहित्यिक दृष्टिकोणले जीवनजगत्लाई निहार्ने हो भने साँच्चै नै जीवन एक अवसर हो भन्ने ज्ञात हुन्छ । साहित्यिक कदम अघि बढ्दाबढ्दै मान्छे दार्शनिक अनि अध्यात्मतिर उन्मुख हुन्छ । अतः जब म मेरो जीवनलाई फर्किएर हेर्छु– साह्रै आनन्द महशुस गर्छु । के छ र जीवनमा मरेर लाने ? केको लोभ, चिन्ता अनि रिसराग । यी सारा अवगुणमा उन्मुक्त गर्छ साहित्यले । अतः साहित्यले संवेदनशील बनाउनुको साथै असल मानव हुनुको अर्थबोध भइरहेछ अचेल ।
आगामी दिनमा कस्ता पुस्तक लेखिनुपर्छ जस्तो लाग्छ ?
विश्वव्यापी विषयवस्तुका । मानवीय संवेदना, मानवता, प्रकृति, माया प्रेम । मानवीय गुण, अवगुण आदिबाट पात्रको वैचारिक मनोविज्ञानलाई विकसित गर्न सकिन्छ ।
समाजप्रति लेखकको दायित्वका विषयमा यहाँको राय के छ ?
अवश्य पनि लेखक, साहित्यकारले समाज र राष्ट्रप्रति नागरिकको मात्र नभई मार्गनिर्देशकको रूपमा पनि गहन जिम्मेवारी बोकेका हुन्छन् ।
साहित्यलाई जीवनबाट अलग गरेर हेर्दा कस्तो देखिएला ? साहित्यमा नलागेको भए मेरो जीवन अवश्य पनि नीरस हुन्थ्यो होला जस्तो लाग्छ । एकप्रकारले त विनाअर्थको । साहित्यले जीवनजगत्प्रतिको दृष्टिकोण विकासमा निकै मद्दत गर्ने भएकाले यसलाई अलग गरेर हेर्दा म सही अर्थमा मान्छे हुनुको अर्थ बुझ्न असमर्थ रहन्थे होला ।
वर्तमान साहित्य लेखनलाई कसरी नियाल्नुभएको छ ?
अहिलेको लेखनक्षेत्रलाई हेर्दा गुणात्मक भन्दा पनि संख्यात्मक हिसाबले विकास भएको देखिन्छ । लेखन विधालाई बडो हल्का रूपमा लिइएको देखेको छु । अहिलेका लेखकले दार्शनिक दिशानिर्देश गर्न सकेका छैनन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन–दर्शन बडो अनौठो थियो । अर्थको कुनै महत्व थिएन उहाँलाई जसले सकारात्मक सन्देश दिएको मान्न सकिन्छ । अहिले त साहित्यकार, लेखकहरु धेरै पुस्तक विक्री गराउनका लागि त्यसै प्रकारका हल्का विषयवस्तुमाथि भनौं वा विवादित विषयउपर लेखिरहेका छन् । मलाई त्यसप्रकारको लेखनमा रुचि छैन । म गहन विषयवस्तुउपर कलम चल्नुपर्छ भन्ने धारणा बोकेको मान्छे भएकाले तुलनात्मक हिसाबले अहिलेका पुस्तामा संवेदनशीलता देखिँदैन– जुन मलाई बोध हुने गर्छ ।
तपाईँ त बारबरा शान्ति प्रतिष्ठानको सदस्य पनि रहनुभयो । उहाँलाई कसरी सम्झिनुहुन्छ ?
सन १९६१ मा बेलायतकी महारानी एलिजाबेथको नेपाल भ्रमणका अवसरमा इटलीको एक पत्रिकाको रिपोर्टरको रूपमा नेपाल आउनुभएकी बारबराले केही समयपछि राजा महेन्द्रका कान्छा भाइ अधिराजकुमार वसुन्धरा शाहसँग विवाह गर्नुभयो । तर तत्कालीन राजदरबारले विवाह दर्ता गर्न नदिएपछि बारबरा सधैं कानुनी हैसियतबाट वञ्चित रहनुभयो– जसको लागि आजीवन संघर्षरत हुनुभयो । नेपाललाई अति नै माया गर्नुहुन्थ्यो उहाँ । युवाहरुलाई राष्ट्रिय भावना जागृत गराउनुहुन्थ्यो । वि.सं.२०६५ मा प्रथम गणतान्त्रिक सरकारले बारबरालाई अङ्गीकृत नागरिकता दिएपछि उहाँ कानुनी रूपमा नेपाली हुनुभयो र त्यही वर्ष बारबरा शान्ति प्रतिष्ठान स्थापना गरियो– जसको कार्यसमितिमा म पनि मनोनयन भएको थिएँ ।
डायमनशमशेर, बारबरा र डा.रामराजाजस्ता शिखर व्यक्तिसँगको सहकार्यले तपाईंले के पाउनुभयो ?
उहाँहरु मेरा आदर्श व्यक्तित्व हुनुहुन्छ । मैले यहीरूपमा लिएको छु । उहाँहरुबाट मैले समग्र जीवन अनि जगत्लाई बुझ्ने दृष्टिकोण प्राप्त गरेँ । एक सर्वाेत्कृष्ट संस्कार प्राप्त गरें– जसले नेपाली साहित्य क्षेत्रमा लाग्ने प्रेरणा मिल्यो । सम्भवतः उहाँहरुबाट मैले जीवनमा अपार ज्ञान हासिल गरेँ– जुन अवसर जीवनमा कमै व्यक्तिले पाउँछन् ।