सडक निर्माण र सम्भारको काममा भौगोलिक विकटता बाधक बनेको छ

राजनीति समाचार

विगत ३० वर्षदेखि सडक विभागअन्तर्गतका विभिन्न सडक डिभिजन कार्यालयमा काम गर्दै आएका डुम्रे बेंसीसहर–चामे सडक योजना प्रमुख रविन्द्रलाल दास अनुभवी मानिन्छन् । कन्स्ट्रक्सन म्यानेजमेन्टमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले कपिलवस्तु, हेटौंडा, वीरगन्ज, पथलैया, लाहान, सुर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । जापानमा पहिरो नियन्त्रण, बैंककमा पहाडी सडक निर्माण र भारतमा वातावरण संरक्षणसम्बन्धी विशेष तालिम लिएका दास काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने पर्याप्त कानुन, मुआब्जा, वन क्षेत्र र कतिपय स्थानीयको व्यवहारका कारण करिब ५० प्रतिशत निर्माणकार्य समयमै सम्पन्न हुन नसकेको बताउँछन् । गुणस्तरीय कामका लागि अनुगमन र निरीक्षण गर्दा कतिपय ठेकेदारले प्राविधिकले झन्झट दिएको आरोप लगाएर उल्टै फसाउने गरेको र बिनाकारण प्राविधिकले झन्झट बेहोर्नुपरेको अनुभव पनि उनीसँग छ । तामाकोशी सन्देश साप्ताहिकका प्रतिनिधले उनै दाससँग गरेको कुराकानीको अंशः

० तपाईले नेतृत्व सम्हालेपछि के कस्ता सुधारका काम भएका छन् ?
म यहँ आएको ८ महिना भयो । अघिल्ला बर्षसम्म डुम्रे–बेंसीसहर सडकको लमजुङ खण्डमा अधिकांश सडक भत्किएको थियो । कालोपत्र उक्किएको र नाली भत्किएकाले सवारीलाई समस्या थियो । सवारीले धुलोमैलो उडाइदिँदा स्थानीयलाई सास्ती थियो । सवारीभित्रै पनि यात्रुलाई कष्ट हुन्थ्यो । सवारी दुर्घटना पनि भइरहन्थे । यो वर्ष भने डुम्रे–बेंसीसहर सडकको लमजुङ खण्ड ‘ओभर–ले’ अर्थात् पुनः मर्मतसहित कालोपत्र गरिएको छ ।

कालोपत्रले पछिल्लो समय सडक यात्री र सवारीलाई सहज भएको छ । यो सडक धेरै समय खाल्डाखुल्डी रह्यो । हिँड्नै नमिल्ने, सवारी गुडाउनै नमिल्ने अवस्था थियो । अहिले चिटिक्कै भएको छ । यहाँ आएपछि बेंसीसहर–चामे सडक ७ किलोमिटर कालोपत्र गरिएको छ । लमजुङ–मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्र भएको छ । अब सात सय मिटर बाँकी रहेको छ। सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

उक्त सडक स्तरोन्नति तथा कालोपत्र गर्न हालसम्म रु १९ करोड खर्च भइसकेको छ । ट्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्र राख्ने काम भइरहेको छ । सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ । सडक ५ दशमलव ५ मिटरको सवारी गुड्ने, १ दशमलव १ मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको छ ।

बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । अन्तिम चरणको काम कालोपत्र सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने छ । विसं २०८० असार मसान्तसम्म कालोपत्र गर्नेगरी विसं २०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि विसं २०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । कूल रु ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा रु २५ करोड ३२ लाखमा कालोपत्रको सम्झौता भएको छ। विसं २०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम शुरू भएको छ ।

कालोपत्र नहुँदा आक्रोशित बनेको यहाँका स्थानीय कालोपत्र सम्पन्न हुन लाग्दा उत्साहित भएका छन् । मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण शुरू गरेको थियो । विविध कारण निर्माण रोकएपछि विसं २०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । पैसठ्ठी किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।

० डुम्रे–बेंसीसहर सडक दुई लेन बनाउने कार्य के भइरहेका छ ?
लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य भइरहेको छ। तनहुँको डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्न अझै २० प्रतिशत बाँकी रहेको छ। यतिबेला चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउने काम सम्पन्न भएकोे छ। त्यस्तै पाइप कल्भर्ट, स्ल्याब कल्भटको काम सम्पन्न भएको छ । कालोपत्रका लागि सडकको स्तर मिलाउने कार्य भइरहेको छ। सडकको नाली बनाउने कार्य पनि भइरहेको छ । तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यो सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ।

राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५÷१५ मिटरको हुने भएको छ। त्यस्तै १०÷१० मिटरको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । त्यस्तै दायाँबायाँ एक÷एक मिटरको ‘सोल्जर’ तथा एकएक मिटरको नाली निर्माण हुने भएको छ। यस सडकका लागि भ्याट र पिएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकामा कम्पनीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ। डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यो सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन करिब साढे एक दशक लागेको थियो । विसं २०४६ मा ट्र्याक खुलेसँगै विसंं २०५२ देखि एक लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा सडकको कालोपत्र सम्पन्न भएको थियो। डुम्रे–बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्ने गर्दछन् ।

० बेसीँसहर–चामे सडक निर्माण कार्य किन सुस्त ?
म आउनु भन्दा अगाडि सुस्त थियो तर, म यहाँ आए पछि कामहरु तिब्र रुपमा अगाडि बढेको छ । यो सडक मनाङको मेरुदण्ड र उत्तरी लमजुङवासीका लागि प्रमुख मार्गका रुपमा रहेको छ। विसं २०६९ मा नेपाली सेनाले मनाङको सदरमुकाम चामेसम्म सडक निर्माण गरेको थियो । अहिले सडक माथिल्लो मनाङको खाङसारसम्म पुगेको छ। निर्माण व्यवसायीले काम सुस्त गतिमा गरेको छ । सुस्त गतिमा निर्माण कार्य हुँदा निर्माणको समय लम्बिने छ। उक्त सडक खण्ड दलहरूको चुनावी नारा मात्रै बन्ने गरेको छ। राजनीतिक नेतृत्व जनताप्रति उत्तरदायी नहुँदा जिल्लाका ठूला आयोजनाहरू अधुरै रहेको छ । त्यस्तै भौगोलिक कठिनाइ पनि उतिकै भएको कारणले निर्माण कार्य लम्विएको हुन सक्छ ।

० सडकलाई सुरक्षित र व्यवस्थित गर्न कसले के गर्नुपर्छ ?
सडक भनेको लाइफ लाइन हो । सडक भत्किएपछि सबै कुरा डामाडोल हुन्छ । एम्बुलेन्सदेखि लिएर यात्रुहरू सबैलाई बाधा पर्छ । त्यही भएर हामीले बर्खाको समयमा सडकमा कुनै पनि काम गर्न नहुने भन्दै यस वर्ष रोक लगायौँ । बर्खाको समयमा अलिकति भत्कायो भने बढ्दै जान्छ । त्यसले ठूलो क्षतिको रूप लिन्छ र दुर्घटनाको पनि सम्भावना हुन्छ । यही कारणले हामीले बर्षात्मा नगर्नु भनेर भनेको हो । हामीकहाँ सडक विभागको मात्र होइन सडक सबै जनताको हो भन्ने कुरा जबसम्म सबैले बुभ्नुहुन्न, तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागरिकहरूले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नुपर्छ । सडकमा फोहोर फ्याँक्दा फोहोरबाट एसिड बन्छ र त्यसले बिटुमिन खान्छ । सबैले बुझेर सडक मेरो पनि हो भन्ने बुझ्नु जरुरी छ । विभागको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरूले तिरेको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकहरू पनि छ । हामीले गर्नुपर्ने काम त गरी नै हाल्छौँ ।

० ठेकेदारले सडक निर्माणका सामग्री कमसल वा गुणस्तरहीन हाल्ने र कार्यालयले निर्माणको क्रममा गतिलो अनुगमन नगर्ने भएकाले टिकाउयुक्त काम नभएको भनिन्छ नि ?
अनुगमन नै मुख्य काम तोकिएको कार्यालय र त्यहाँका कर्मचारीले अनुगमन नगर्ने भन्ने कुरै हुन्न । कहीँकतै कर्मचारी कम हुँदा भनेजति अनुगमन हुन नसकेको पनि हुनसक्छ तर हाम्रोमा त्यस्तो अवस्था छैन । हामी निरन्तर अनुगमन गर्छौं । टेन्डर प्रक्रिया हुँदा उल्लेख गरिएका निर्माण सामग्री ठेकेदारबाट प्रयोग नहुने भन्ने कुरा हुँदैन र कुनै पनि प्राविधिकले यस्ता कुरामा ठेकेदारसँग मिलेमतो गर्ने भन्ने कल्पना पनि गर्न सकिँदैन ।

० समयमा काम सम्पन्न नगर्ने व्यवसायीहरूलाई कत्तिको कारबाही हुने गरेको छ ? तपाईंहरूका आँकडाले के देखाउँछ ?
बजेट अभावले काम नहुनु एउटा कुरा हो, तर सरकारले पर्याप्त बजेट व्यवस्था गर्दागर्दै पनि काम समयमा सम्पन्न नगर्नु ठेकेदार कम्पनीको बदमासी हो । हामीले वर्तमान नेपालको प्रचलित कानुनले दिएको अधिकार प्रयोग गरेर यस्ता समयमा काम सम्पन्न नगर्ने ठेकेदार र निर्माण कम्पनीलाई कारबाही गर्ने गरेका छौं । हालको कानुनअनुसार अन्तिम कारबाही भनेको ठेक्का तोड्ने र ठेकेदारबाट हर्जना असुल उपर गर्ने हो, जुन हामीले गर्दै आएका छौं । त्यस्ता ठेकेदार कम्पनीलाई १ देखि ३ वर्षसम्म कालोसूचीमा राखेर सो अवधिमा अन्य टेन्डर प्रक्रियामा सामेल हुन नदिने काम भइरहेको छ । यस डिभिजनअन्तर्गत पुराना नौवटा ठेक्का सम्पन्न हुन बाँकी छन् र ती काम सम्पन्न गर्न हामीले सम्बन्धित निर्माण कम्पनीका नाममा सार्वजनिक सूचना जारी गरिसकेका छौं । अब पनि समयमा सम्पन्न नगरे ती कम्पनीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउँछौं ।

० नेपालको सडकको अवस्था देखेर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्टि भन्ने कुरो के मा गर्ने भन्ने कुरा हो । गुणस्तरताको कुरा गर्ने हो भने, हामीले काम गर्दा पूर्ण मापदण्ड अपनाएर गरेकाहुन्छौँ । त्योभन्दा बाहिर गएर गर्नै मिल्दैन । त्यसकारण हाम्रो काम प्रति म सन्तुष्ट छु ।

० सडकहरु केही साता नबित्दै भत्किएको पनि देखेका छौँ ।यसो हुनुमा सबैभन्दा प्रमुख जिम्मेवारी को हुन् ?
बनाउनासाथ भत्किने कारणहरु धेरै छन् । एउटा कारण त प्राकृतिक कारण पनि हो । अर्को कुरा हामीले कुनै निर्माण कम्पनीसँग सम्झौता गरेपछि जस्तो स्थिति आए पनि काम सम्पन्न गर्नैपर्ने हुन्छ । निर्माण कम्पनीले सम्झौताअनुसारको काम गरेन भने पनि उसलाई दिने बजेट काटेर भए पनि हामीले सम्पन्न गर्नै पर्ने हुन्छ । खानेपानी ढललगायत निकायले खन्दै जाने, हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरूले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नु प¥यो । सडकलाई राम्रो अवस्थामा राख्नका लागि पुराना पाइपहरू नै बाधक हुन् । त्यस्तै, एउटा बिग्रियो भन्दैमा सबैलाई पनि खोट लगाउन मिल्दैन । निर्माण गर्दा डण्डी, छड तथा अन्य कुराहरू कस्तो प्रयोग गरिएको छ त्यसमा भर पर्छ यस्तै कारणले गर्दा कहिँकतै प्रश्न उठ्ने गरेका छन् ।

० सडक निर्माण गर्दा प्राविधिकले निकालेको लागतभन्दा घटाएर ठेक्का लगाउने प्रचलन छ । यो नीतिले सडक राम्रो बन्छ त ?
हो, नीति निर्माण तहमा पनि केही सुधार गर्नुपर्ने खाँचो देखिन्छ । अरु देशहरूका अनुभवहरूलाई लिएर हामीले काम गर्नुपर्ने छ । ठेक्का लिँदा कम रेटमा हाल्यो भने उसले त केही काम ठग्न खोज्छ । एउटा मान्छेले भित्रदेखि म राम्रो गर्छु भन्नु र कम रेटमा हालेर सकेसम्म छलछाम गर्न खोज्दा गुणस्तरमा त फरक पर्न सक्छ । यस विषयमा छलफल भइरहेको छ । कानुनी पाटोमा पनि छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *