जनसहभागीतामूलक पद्धतीबाट सफल अभियानहरु मध्ये एक सामुदायिक वन हो । यस अभियानमा नेपालको कुल जनसंख्याको आधा भन्दा वढि आवद्ध रहेका छन् । सामुदायिक वनको अवधारणाले वन क्षेत्र वढेर ४५ प्रतिशत नाघि सक्यो । समावेशी लोकतन्त्रको असल अभ्यास ग्रामिण तहसम्म पुग्यो । राज्यको संरचना नपुगेको वा नटिकेको बेलामा पनि सामाजिक न्यायको रुपमा सामुदायिक वन अभियान ग्रामिण स्तरमा क्रियाशिल थियो । तर राज्य गणतान्त्रीक भए पछि भने सामुदायिक वनको ओज घटेको हो कि भन्ने भान परिरहेको छ । वन वढ्यो तर उपभोक्तासँगको सम्वन्ध घट्यो । वन र उपभोक्ताको सम्वन्ध खस्किएको छ । राज्यको नजर पनि राजश्व संकलनको पद्धती मात्र बनाउन खोजेको देखिन्छ । सामुदायिक वनमा स्रोत छ तैपनि विपन्न कमजोर नैं छन् । यस्तो किन भैरहेको छ ?
वन र उपभोक्ताको सम्वन्ध खस्किँदो
सामुदायिक वन अभियानले वन संरक्षणमा फड्को मा¥यो । सामुदायिक वनको अवधारणा सुरु गर्दा करिब ४० प्रतिशत भूमिमा वन थियो । अहिले ४५ प्रतिशत नाघि सक्यो । तर आर्थिक समृद्धिमा टेवा पुगेन । अर्थात वन स्रोतको सदुपयोग हुन सकेन । दाउरा र घाँँस चाहिएन तर त्यो भन्दा वढि लिन सकिएन । वनमा उपभोक्ताको आकर्षण घट्यो । किनकी वन र उपभोक्ता जीवन जोडिएन । वनमा स्रोत छ तर उपभोक्तासँग जोड्ने जुइनो भएन । वन अधिकारको अभियान वढ्यो तर वन स्रोतको अधिकतम् सदुपयोग गरी आर्थिक समृद्धिमा टेवा पुग्ने काम हुन सकेन । वन स्रोतको प्रशोधन, उद्यम र बजारको सन्दर्भमा केही तालमेल मिलिरहेको छैन । १० रोपनी कृषि जमिनले ५ जना भएको परिवारको गुजिस्ता चलेको पाइन्छ तर एक घरधुरी परिवारलाई एक हेक्टर पर्ने वन क्षेत्र भएपनि त्यसबाट आर्थिक समृद्धिमा टेवा पुग्न सकिरहेको छैन ।
वन स्रोतमा आधारित उद्यम विकासको कोसिश पनि नभएको होइन । दोलखाको सन्दर्भमा चर्चा गर्ने हो भने मछिनोको पातबाट तेल निकाल्न लागेको केही दशक भैसक्यो । मछिनोको पातको उपलव्धता घटेको हो की भन्ने पनि लागिरहेको छ । मछिनोको धेरै भएका भीमेश्वर नगरपालिका वडा नं. ८ र ९ मा रहेका ६ वटा सामुदायिक वनका अगुवाहरु सामुहिक रुपमा जुटेका छन् ।
भीमेश्वरका सामुदायिक वनको प्रयास
सेतीदेवी ददार, शंखदेवी, नाप्के यान्मारा, बोत्ले सेतीदेवी, ढाँडेसिंहदेवी र भितेरीपाखा सामुदायिक वन क्षेत्रहरुमा मछिनो प्रशस्तै मछिनो पाइन्थ्यो । तेल उद्योगहरु चलेका थिए । अहिले स्रोतको उपलव्धतामा कमी भैरहेको छ । यसो हुनुमा प्रभावकारी व्यवस्थापन नभएर हो कि भन्ने शंका छ । अहिलेसम्म मछिनो वृक्षारोपण गरेको अनुभव कसैँसँग छैन । मछिनो रोपणको अनुसन्धानमूलक काम पनि भैरहेको छ । यो अनुसन्धानको कार्यमा एजबिटिएल र सियास नामक संस्थाहरुले कार्यगरिरहेका छन् ।
ती ६ वटै सामुदायिक वनका मूख्य पदाधिकारीहरु जम्मा भएर सामुहिक सहकार्यको उपायहरु निकाल्न २ दिनसम्म घोत्लीए । आफ्नो सामुदायिक वनमा भएका स्रोतहरुको बारेमा चर्चा गरे । समूहले गरेका कामहरु सुनाए, सुने । लोक्ता अर्गेली लगायतका जडिवुटीका संभावनाको लेखाजोखा गरे । आर्थिक वृद्धि गर्ने सामुहिक उपायहरु निकाले । मछिनोबाट छिटो आर्थिक उपार्जन सकिने निक्र्यौल गरे । किनकी यस्मा अनुभव थियो । ६ वटा सामुदायिक वन क्षेत्रका आसपासमा रहि मछिनोको प्रशोधन गरी तेल निकाल्ने ३ वटा उद्यम चलेको पाइयो । ती उद्यमीहरु पनि त्यहींका सामुदायिक वनका उपभोक्ताहरु नैं हुन् । ती उद्यमले यी ६ वटा सामुदायिक वनमा रहेको मछिनोको पात संकलक मार्फत लैजाने गरेको पाइयो तर कुन सामुदायिक वनबाट कती मछिनोको पात संकलन भयो भन्ने कुरा निधो गर्न कठिनाइ परेको देखियो । कुनै उद्यमले सामुदायिक वनलाई बार्षिक रुपमा १० हजार रकम दिएको पाइयो । तर त्यो रकम कति केजी मछिनोको पात उपयोग गरेको वापत भन्न सकिने अवस्था देखिएन ।
समूह र उद्यमीको संयन्त्र
मछिनोको पात संकलकहरुसँग सिप अभाव भएको पनि देखियो । त्यसै गरी सम्वन्धीत समूहले नियमित अनुगमन गर्न नसकेको चर्चा भयो । यसबाट समूह र उद्यमी दुवै घाटामा परेको निश्कर्ष निकालियो । उपाय खोजियो । सवै सामुदायिक वनहरुमा एकै पटक मछिनोको पात संकलन गर्दा सहज हुने कुरा औल्याइयो । कुन सामुदायिक वनबाट कति मछिनोको पात संकलन भयो भन्ने अभिलेख राख्न पनि सकिने कुरा आयो । त्यसकालागि ६ वटै सामुदायिक वन र ३ वटा उद्योगीका उद्योगीहरु भएको एक समन्वय संयन्त्र वनाउने निधो भयो । उनीहरुको सामुहिक छलफलवाट पात संकलनको समय र पातको मूल्य समेत तोक्दा राम्रो हुने उपाय सामुहिक छलफलबाट टुङ्गो भयो । अर्थात स्रोत व्यवस्थापनका सन्दर्भमा सञ्जाल तयार भयो । संयोजनको जिम्मा भीतेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षले लिए । उनी स्थानीय फेकोफनका अध्यक्ष पनि हुन् ।
समूहहरुले छानेको संकलकहरुलाई प्रयोगात्मक तालिम दिने सल्लाह भयो । उनीहरु मार्फत मछिनोको पात संकलन गर्दा दिगोपना ख्याल गरिने अपेक्षा गरिएको छ । अनी तालिम प्राप्त संकलकलाई सामुदायिक वन उपभोक्ता समूहहरुले परिचय पत्र उपलव्ध गराउने सल्लाह भएको छ । प्रयोगात्मक तालिमकोलागि मछिनोको बारेमा अनुसन्धान गरिरहेको सियास नामक संस्थाले सहकार्य गर्नेे प्रतिवद्धता आयो । यो सामुहिक सोचलाई कार्यान्वयनकालागि सहयोगी निकायहरुको खोजी गर्ने सल्लाह भएको छ ।
उपभोक्ता समूह, उद्योगी र सहयोगी संस्था समेतको सहकार्यमा मछिनो प्रशोधनको कार्य गर्ने प्रतिवद्धता आएको छ । पात विक्रि गरेवापत सम्ूहले रकम पाउने, संकलक उपभोक्ता हुने हुँदा रोजगारीको सिर्जना हुने अनी नीजि उद्यमी मार्फत मछिनो प्रशोधन र तेलको व्यापार गर्ने सल्लाह भएको छ । आशा गरौं, यो अभ्यासले आर्थिक समृद्धिमा टेवा पुग्ने छ र स्रोतको दिगो व्यवस्थापन हुनेछ । यो सिकाई अन्यत्र पनि सार्न सकियोस् । स्रोतमा आधारित यो संयन्त्र वा सञ्जाल उत्पादन बढाउनकोलागि हो गफ मात्रकोलागि हुँदै होइन ।
अबको बाटो
सामुदायिक वन क्षेत्रसँग धेरै स्रोत रहेको छ । उपभोक्तासँग पनि सिप छ । तर स्रोत र सिपको मिलन हुन सकेको छैन । उपभोक्ता र वन विचको सम्वन्ध जिवन्त पार्नु आवश्यक छ । वन स्रोतमा आधारित उद्यम विकासको विना समृद्धिको कल्पना गर्न सकिन्न । स्रोत भएर पनि अझै विपन्न भैरहनु सहज कुरा होइन । यसको मतलव स्रोतमा आधारित उपभोक्ताको चाहाना केन्द्रीत योजना नबनेर पनि हुन सक्छ । त्यसैले स्रोतमा आधारित उपभोक्ताको योजना आवश्यक छ । त्यसको कार्यान्वयन स्वयं उपभोक्ता समूहले नैं गर्ने हो तर यसमा स्थानीय सरकारको लगायत अरु क्षेत्रबाट पनि सकारात्मक सहकार्यको आवश्यक छ । यसकालागि दोलखा फेकोफनले उद्यमकालागि स्रोत अधिक भएका सामुदायिक वनहरुको एक सामुहिक छलफल तथा संवादको कसरत पनि गरिरहेको छ । जसरी हुन्छ, स्रोतमा आधारित उद्यम अनी आर्थिक उपार्जन र कमजोर वर्ग समग्र सशक्तिकरण आजको आवश्यकता हो ।