तत्कालीन गठबन्धनले एमाले सिध्याउने खेल गरेको थियो

राजनीति समाचार

प्रदिप ज्ञवाली नेकपा एमाले
हामी प्रमुख प्रतिपक्षमा रहँदा एमाले सिध्याउने प्रयास भइरह्यो । एमालेविरुद्ध नकारात्मक कुरा मात्र हुन थाले । एमालेविरुद्ध निरन्तर षड्यन्त्र भएकाले अघिल्लो गठबन्धन भत्काउनु जरुरी थियो । अनि मात्र एमालेले सबै षड्यन्त्र असफल पार्न सक्थ्यो । पुरानो गठबन्धन ‘ब्रेक’ गर्ने मुख्य उद्देश्य थियो । त्यसपछि मात्र राजनीतिक स्थिरताका लागि आधार तयार गर्न सकिन्छ भनेर नयाँ सत्ता समीकरण बनाएको हो । २०८४ मा सबभन्दा ठूलो पार्टी बनाउने मिसन पूरा गर्न यो गठबन्धनबाट सहयोग पुग्छ भन्ने निष्कर्ष हो ।

त्यसकारण हामी मन्त्रालय बाँडफाँटमा उदार भएर सरकारमा सहभागी भएका हौं । हाम्रा लागि मन्त्रालय मुख्य कुरा होइन । चार वर्ष गठबन्धन बलियो बनाएर जाने नीति हो । मुलुकमा आर्थिक विकास, समृद्धिको ट्र्याक खोल्नु, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई उँचो राख्नु, सामाजिक सद्भाव खल्बल्याउन रोक्नु नै यो गठबन्धनको उद्देश्य हो । त्यसैले हामीले यही मन्त्रालय चाहिन्छ भनेर अडान राखेनौं । मुख्य उद्देश्य राजनीतिक स्थायित्व हो । यसमा अरू कारण छैन ।

नयाँ गठबन्धन बन्ने तीनवटा कारण देख्छु । पहिलो, विभिन्न घटनाक्रममा कांग्रेस र प्रधानमन्त्रीबीच दूरी बढ्दै गयो । कोशीमा मुख्यमन्त्रीको प्रश्न, राष्ट्रिय सभाको निर्वाचन, केही विवादित मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहँदा हटाउन नसकेको स्थिति र केही सेवाप्रवाहका र केही सुधारका काम गर्न खोज्दा कांग्रेसबाट सहयोग नपाएकोजस्ता विभिन्न प्रश्नमा सुरु भएको अन्तरविरोध बढ्दै गएर अविश्वासको तहमा पुगेको हो । दोस्रो, एमालेले गठबन्धन देशका लागि बोझ भयो, यसको विकल्प खोज्नुपर्छ भनेर सचेतनापूर्वक बाहिर चर्चा नगरी प्रयास गरेको थियो । त्यसको परिणाम पनि हो । तेस्रो, साझा अनुभूति पनि हो ।

जनतामा ठूलो निराशा छ । समाजमा नयाँ–नयाँ खालका समस्या, चुनौती, अन्तरविरोध चर्किँदै गएका छन्। यही ठीक ढंगले सुशासन, सेवाप्रवाह र विकासलाई गति नदिने हो भने यसले अन्ततोगत्वा हाम्रो लोकतन्त्र र मुलुकको अस्तित्व नै जोखिममा पार्न सक्ने अनुभूतिसहित नयाँ गठबन्धन बनेको हो । हामी एउटा पृष्ठभूमिबाट आयौँ । छिटो–छिटो सरकार परिवर्तनले जनतामा पनि एकखालको निराशा उत्पन्न हुने, राजनीति भनेकै केवल सत्ताको भागबन्डा हुने भन्ने गलत सन्देश जाने, त्यसले दातृ निकाय, विदेशी लगानीकर्ता, निजी क्षेत्र र समग्र प्रशासनमा एकखालको अस्थिरताको सन्देश जाने भएकाले अहिले हामी त्यो विषयमा प्रवेश गरेका छैनौँ । आवश्यकताअनुसार भोलिका दिनमा निर्णय होलान् ।

अहिलेचाहिँ प्रधानमन्त्री प्रचण्डले नै नेतृत्व गर्ने कुरा छ । राजनीतिक दलहरूका सामु विकल्पहरू साँधुरिँदै गएका छन् । यदि, ठीक ढंगले डेलिभरी नदिने हो भने त्यसले मुलुकमा निकै ठूलो अनिष्ट निम्त्याउन सक्ने बोध हामी सबैलाई छ । जनताले गरेका खबरदारी, गुनासा, असन्तुष्टि र लोकतन्त्रमाथि बढ्दै गएका चुनौती मुख्य कारण हुन् । जसले जिम्मेवार राजनीतिक दलहरूलाई परिपक्व ढंगले र सुझबुझका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरेको छ । दोस्रो, हामीले विगतमा कतिपय घटनाक्रमबाट पाठ पनि सिकेका छौँ ।

त्यसले आगामी दिनमा त्यो ढंगका गल्ती नगर्नका लागि सहयोग पु¥याउँछ भन्ने लाग्छ । विभिन्न विषयमा इस्युहरू रहन सक्छन्, तिनीहरूमा छलफल गर्दै अगाडि बढ्ने हाम्रो समझदारी छ । हामी २०८४ मा बहुमत प्राप्त गर्ने गरी आन्तरिक तयारीमा जुटिरहेका छौँ । त्यसका लागि आम जनताकाबिचमा पार्टीको सम्पूर्ण संगठनलाई परिचालित गर्दै जनधार वृद्धि गर्ने प्रयत्न भइरहेको छ ।तर हाम्रो अहिलेको निर्वाचन प्रणालीमा एउटा दलले बहुमत प्राप्त गर्न कठिन छ ।

यस्तो अवस्थामा मिलेर काम गर्ने, सहकार्यका साथ काम गर्नुपर्छ नै । नेपालको राजनीतिमा गठबन्धन सरकारमा रहेर त्यसलाई टिकाउने कुरामा कहिलेकाहीँ समस्याहरू पनि देखापरेका छन् । कहिले नेताहरूको प्रतिष्ठाको विषय बन्ने त कहिले विभिन्न मुद्दाका कारण अन्तर्विरोध पैदा हुने त कहिले अरू शक्तिकेन्द्रको प्रभाव पर्ने जस्ता कुराहरूले गर्दा गठबन्धन निर्माण हुने तर नटिक्ने अवस्था हामीले विगतमा भोगेकै हौ । यी सबै सन्दर्भमा राम्रो पाठ सिकेका छौँ । यसकारण पनि यो गठबन्धन टिक्नु जरुरी छ । यसलाई टिकाउन सबैले सहकार्यको संस्कृतिलाई आत्मसात् गर्न जरुरी छ । यदि हामीले आ–आफ्ना मान्यतामात्र लाद्ने हिसाबले अघि बढ्यौँ भने सहकार्य भत्कने खतरा पनि त्यतिकै हुन्छ । त्यसैले त्यो प्रकारको अवस्था नआओस् भन्नका लागि सावधानी अपनाउन जरुरी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *